अग्ला अग्ला हिम शिखर छन् स्वच्छ बग्दैछ पानी
जस्मा बग्छन् रगत पसिना एकताका कहानी
बस्छिन् हाम्रा घर घर उमा रात होस् वा बिहानी
लागेका छौ पर पर युवा तत्व जान्दै नजानी ।।
पक्कै तिम्रो पनि मुलुक हो हेर बेला नफाल
चाँडै आई नवयुवकहो देशलाई समाल
हाम्रा प्यारा सपुत गणको त्यागको हो निसानी
के चाहन्छौ युवकहरुहो देश होस् यो खरानी ??
नौलो भाका मन भरि लिई हे युवा गीत गाऊ
फर्की आऊ घर बस यतै देशमै प्रीत लाऊ
बाटो हेर्दै जनक जननी, पत्नी गर्छिन् प्रतीक्षा
बोकी आऊ नवयुवकहो एक नौलो सदिच्छा ।।
