भूपेन्द्र महत
साखिली भै रुनु पर्दैन तिमीले
भाग्यलाई दोष देको छु भैगो साथ हुनु पर्दैन तिमीले
फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले
दु:खाईमा हाँस्न समयले सिका’को छ अचेल मलाई
चहराए नि चहराउन यी घाऊहरू छुनु पर्दैन तिमीले
म हुनु र नहुनुमा के फरक पर्छ र अब तिमीलाई
जति लागे कलंकका ती दागहरू धुनु पर्दैन तिमीले
आँखामा बगिरहेछन थोपा थोपा भै पुराना पलहरू
नयाँ घाम बोकी मेरा आँसु सुकाउनु पर्दैन तिमीले
नयाँ बर्ष, तिमीले एउटा आयाम थाल्नु पर्यो
नयाँ बर्ष, तिमीले एउटा आयाम थाल्नु पर्यो
चेतनाको दियालो निभाए, तिमीले बाल्नु पर्यो
धुजा धुजा भै मक्किसक्या छ इज्जत आबरु नि
सकेदेखि आउनु, देश यो मिलेर टाल्नु पर्यो
भोका छन यहाँका उपियाँ उँडुस जति डसे नि
खोजी खोजी लेराउ अचुक ओखती हाल्नु पर्यो
खै कसरी कुहियो टाउका ती आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्यो
यसरी आऊ दशैं तिमी
सुकेका पेट, दुखेका मनमा, खुशी बोकेर आऊ दशैं
चन्ड मुन्डको झुन्ड धेरै भो, लात ठोकेर आऊ दशैं
कौरबको बिगबिगी धेरै हुँदैछ, अर्को कुरुक्षत्र रच्न
कपटी सकुनीको जाली पासा, रोकेर आऊ दशैं
घिच्नेहरूले थिच्न छाडेनन, निर्धा घाँटीहरू यहाँ
दुर्गा कालीको जस्तै, अग्नि ज्वाला पोखेर आऊ दशैं
मान्छे मान्छेको हुलमा, मान्छे भेटिंदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आऊ दशैं

