नयाँ बर्ष, तिमीले एउटा आयाम थाल्नु पर्यो
चेतनाको दियालो निभाए, तिमीले बाल्नु पर्यो
धुजा धुजा भै मक्किसक्या छ इज्जत आबरु नि
सकेदेखि आउनु, देश यो मिलेर टाल्नु पर्यो
भोका छन यहाँका उपियाँ उँडुस जति डसे नि
खोजी खोजी लेराउ अचुक ओखती हाल्नु पर्यो
खै कसरी कुहियो टाउका ती आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्यो
माटो दुखे सुखी को? चुहिए छाना ओतिन्छ को?
हातेमालो गरेर एउटा कदम चाल्नु पर्यो
