तुलाधर विश्वकर्मा
बादल फटाउँदै जाऔं
छुवाछुतको कालो बादल फटाउँदै जाऔं ।
अन्धरिति, अन्धथिति, हटाउँदै जाऔं ।।
एकताको सिङ्गो माला टुटन् नदिएर
समानताको परम्परा, बसाउँदै जाऔं ।।
मुख्र्याईको काम छैन, अधिकार लिनलाई,
चेतनाको स्वाद अलि चखाउँदै जाऔं ।।
अरुको मुख नताकेर आफै अघिसरि,
होशियारको ढ्याङग्रो पनि ठटाउँदै जाऔं ।।
खजुराखुर्द १ बाँके, नेपालगन्ज
लडाउनेका दिन छन्
मान्छे मान्छे बीचमा लडाउनेका दिन छन् ।
आफू अघाई बाँकी सडाउनेका दिन छन् ।।
हात जोडेर माग्दै रोइ नकराऊन किन,
ढुङ्गे–मूर्तिलाई भेटी चढाउनेका दिन छन् ।।
जानून या नजानून मतलब छैन कसैलाई,
विद्वान कहलिई पाठ पढाउनेका दिन छन् ।।
मोहजालमा फसाई पारेर मन्त्रमुग्ध,
दाजु–भाई ठगी अंश बढाउनेका दिन छन् ।।
आफ्नो जति राम्रो भएनि थाह छैन,
अर्कैकोमा आँखा गडाउनेका दिन छन् ।।
– खजुराखुर्द १ (बाँके), नेपालगन्ज
भोलिको के अर्थ
आज नभए भोलिको के अर्थ ।
तुना नभाको चोलीको के अर्थ ।।
बाजा घन्काउँदै जन्ती आएनि
दुलही हराईन् डोलीको के अर्थ ।।
पानी पर्दा नि कलकल नबग्ने,
सुख्खा बगर–खोलीको के अर्थ ।।
तन सुन्दर, मन पापी भएपछि,
रंग, अबिर– होलीको के अर्थ ।।
माग्दै हिड्ने हालमा छ तुलाधर,
भिक्षा अनुरोध–झोलीको के अर्थ ।।
– खजुराखुर्द १ बाँके, नेपालगन्ज
पहाड उठेर आयो उसलाई गाली गर्न
गजल
पहाड उठेर आयो उसलाई गाली गर्न ।
मधेश जुटेर आयो उसलाई गाली गर्न ।।
उ बद्मास भई नितान्त स्वार्थी बनिदिँदा,
असिना फुटेर आयो, उसलाई गाली गर्न ।।
जात–धर्मको खोल ओढी भाई फुटाउन खोज्दा,
तारा नि टुटेर आयो उसलाई गाली गर्न ।।
अन्धभक्त भई कालोलाई सेतो भनिदिँदा,
साँढे नि छुटेर आयो उसलाई गाली गर्न ।।
– खजुराखुर्द १ बाँके, नेपालगन्ज

घर सरेको पहिलो दिनदेखि नै