Skip to content


घर सरेको पहिलो दिनदेखि नै
उसले मलाई मेरो घर
मेरो हुनुको आभास हुन दिएन
दिबार अनि छिँडी
मेरो हुनुको आभास हुन दिएन
एक उन्मत्त हूलसहित
हातेमालो गर्दै
घरमा धावा बोलिरह्यो
तसर्थ,
तपाई नै भन्नुहोस् महाशय
घर कसको हो ?
उसको या मेरो ?

आमाले भन्नुभयो, कुल देवता रिसाए
श्रीमती रिसाइन् र भनिन,
“अहिले नै कच्ची घर नबनाऔ भनेको मान्नुभएन, टेर्नु भएन”,
“आफूखुशी गरे यस्तै हुन्छ ”
छोरो बोल्यो, बाबा – “यो घर हाम्रो होइन र ?”
“किन त उनीहरुले हामीलाई बसिखान नदिएका ? ”
“रातमा आनन्दले सुत्न नदिएका ?”
म नजवाफ भएँ,
छोराका प्रश्नका छर्राहरू
मेरो मुटुमा लागिरहे
त्यसैले,
तपाई नै भन्नुहोस् महाशय
घर कसको हो ?
उसको या मेरो ?

मलाई घरविहीन बनाउने
डेरावाल बनाउने
ऊ अरु कोही होइन
न त अदृश्य मसान हो
प्रतिबन्धित छापामार पनि होइन
मलाई एउटा कोठामा खुम्च्याएर
आफ्नै गाउँको डेरावाल बनाउने
त्यो बदमास मुसा हो
तसर्थ म भन्छु
मुसाहरुले राज गरेको घर मेरो होइन
मुसादरबार हो
मुसादरबार ।

जानकी गाउँपालिका वडा नं ३, जुगुनभरिया बाँके
प्रदेश नं ५
Email : tula24bk@gmail.com
मोवाईल नं : ९८४८०२६५१३, ९८१२४२८४३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *