केही खन्चुवाहरू
मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी बुत्याएको कुरा देखिँदैन । तैपनि उहाँ बढी खाने खन्चुवाहरूलाई उसको अघिपछि कुनै बेला कस्तो अगस्तिरहेछ भन्नुहुन्छ । उहाँ अँझै भन्नुहुन्छ– ‘ताप्लेजुङ् अथवा पाँचथर कताको हो एक जना मान्छे एक पाथी चामलको भात, एक ठेकी दही, एक कराही दाल र अचारसँग हसुरेर हिंडेको ७ दिन लाग्ने बिजनबारीबाट केही नखाई १ मुरी नून बोकेर आइपुग्थ्यो अरे ।
