पञ्चाग्नि झै ताप छ सूर्यबाट
बिलाउँदै गो मनभित्र आँट
शरीरमा पानी सबै सुकेर
मरिन्छ भन्ने अब हुन्छ छाँट ।।
अाकाश तातो पृथिवी छ तातो
बाटो र घाटो अझ उग्र तातो
यहाँ कतै शीतल भन्नु छैन
तातो भयो कि तब जान्छ सातो ।।
फालेर यो ज्यान यहाँ बिताएँ
साकार जे हुन्न त्यही चिताएँ
फर्केर फेरि उही ठाउँ जाऊँ
मुटूभरिको पिरती लगाऊँ ।।
त्यो पानी चीसो कसरी भुलूँ म
यो तप्ततामा कसरी घुलूँ म
खस्दैछ झै लाग्दछ सूर्य गोला
यो गर्मीमा के गरी काट्नु होला ।।
एेसेलुको झाँगनिरै छ पानी
त्यही अडेको छ कि जिन्दगानी
सल्लेरीको शीतल ताप्न पाऊँ
फर्केर कैले मुकुबुङ् म जाऊँ ।।
अोयाममा एक गुफा पसेर
बस्छन् महादेव घुँडा धसेर
फर्केर जाने मन हुन्छ यस्तो
बोलाउँछन् कि अब भन्नु जस्तो ।
बरु उतै खन्दछु कन्दरा म
बिराउँछु खेत गरा गरा म
उराठ लाग्ने मरुभूमि कस्तो
कहाँ म पाऊँ हरियाली त्यस्तो ।।
यता खँगार्दैछु म जिन्दगानी
हुने भयो कि अधुरो कहानी
भुन्टेकी अामा पनि सम्झँदि हुन्
एक्लै बिताउन् कसरी जवानी ।।
भोकै र प्यासै घरमै मरुँ म
जे सक्छु अाफ्नै घरमै गरुँ म
विदेशको स्वर्ग भयो अघाएँ
भुन्टे र पोक्चीहरु लौ म अाएँ ।।

मित्रहरु छन्दमा कविता लेख्ने
मित्रहरु छन्दमा कविता लेख्ने मेरो बानी अहिलेसम्म मरेको छैन । जे पायाे त्यहीलाइ कविता भन्नेहरुका लागि यो एक उदाहरण हुन सक्ला भन्ने लागेकाे छ । यसकाे पृष्ठभूमि फेसबुकमा दिएकाे छु ।
छन्दकविता अक्सर क्लिस्ट
छन्दकविता अक्सर क्लिस्ट लेखिन्छ । तर त्यसलाई माथ दिने सरल र मिठो अनि संस्कृताभास कम भएको कविता रहेछ । धन्यवाद !
छन्दमा लेखिकएकाे कविता
छन्दमा लेखिकएकाे कविता क्लिष्ट नहुन पनि सक्छन् । सरल बनाउने वा जटिल बनाउने कविको भरमा पर्ने कुरा हो । क्षमता जस्तो छ उस्तै हुन्छ । मेरा छन्दमा तयार कविता कुनै बेला म पोस्ट गरुँला । अनि हेर्नुहोला । यो कविता ता युनिकोडमा मात्र पो लेखेछु । यसलाइ कान्तिपुर वा प्रीतिमा रुपान्तरण गरी मेरो इमेलमा पठाइदिए कति असल हुन्थ्यो होला ।
म जस्ता सिकारुहरुको लागि धेरै
म जस्ता सिकारुहरुको लागि धेरै सहयोग हुन्छ यस्ता सरलभाषी कविताहरुले….. पोस्ट गर्दै जानुहोला सर… पढ्ने मान्छे पछी पछी छन्…..
सिपाली १ भनेको को हो बुझिनँ
सिपाली १ भनेको को हो बुझिनँ मैले । खुलस्त गर्न सकिन्न कि कसो ।
छन्द सहजै बुझ्न र लय हाल्न सक्ने हुनु पर्दछ
छन्दबद्ध कबिता आजकल उर्दु जगतबाट आयातित गजल बिधाले ओझेलमा पारेकोछ । तर काल जयी छन्द कबिताहरू भने अझै पनि जन जिब्रोको काउकुति बनेर बसेकैछ । जस्तो कबिवर माधव घिमिरेको गौरी शोक काब्य , लक्ष्मि प्रशाद देबकोटाको मुना मदन । यसको मतलब छन्द , जन जिब्रोले सहजै फट्कारन सक्ने हुनु पर्छ भन्ने बुझिन्छ । यहाँहरू लाई कस्तो लाग्छ ?
वहाँ इन्द्रमणि नेपाल हुनहुन्छ
वहाँ इन्द्रमणि नेपाल हुनहुन्छ क्यार । sipali1 वहाँको मझेरीमा छिर्ने एकाउन्ट नाम हो । वहाँले भर्खर एउटा छन्दकविता पोस्ट गर्नुभाछ ।
https://www.majheri.com/node/14878
मेरो कवितामा होम सरको नजर
मेरो कवितामा होम सरको नजर कहिले पर्छ र गल्ति देखाईदिनुहुन्छ भनेर पर्खिरहेको छु म चाहिं…..
https://www.majheri.com/node/14878