पैलो रुवाइ यही ठाउँ मेरो पैलो हँसाइ यही ठाउँ मेरो
थियो यही ठाउँ पहाड भित्र यै जन्मको ठाउँ रहेछ मेरो ।।
यै गाउँको शुद्ध पिएर पानी हुँदै गयो झर्झर जिन्दगानी ।।
सन्तोषले बालककाल काटें युवासँगै बालकककाल साटें ।
डुल्थें सबै जङ्गल छानी छानी खेल्थें म साँझै अथवा बिहानी
आमा सधैं आशीषमा मलाई दिन्थिन् मलाई प्रिय पुत्र ठानी ।।
अस्ती पुगेथे जब जन्म ठाउँ लाग्यो त्यतै एक कु्टी बनाऊँ
वसन्त आयो मनमा घुमेर लाग्यो यतै फेरी प्रीती लगाऊँ ।
खोल्सातिरै कल्कल गर्छ पानी त्यै पानीले चल्दछ जिन्दगानी ।
यै गाउँको शुद्ध पिएर पानी म भित्र आयो रसिलो जवानी ।।
सेतै भएको छ फुलेर केश तथापि मेरो मनले हरेस
खाएन झन् यो अझ चम्कँदैछ मायाप्रितीकै तिर लम्कँदैछ ।
जस्तो थियो त्यो अझ देख्छु उस्तै समग्रतामा परिवेश उस्तै
तथापि केही हुन सक्छ भिन्न त्योे भिन्नता जो किन हो चिनिन्न ।।
यहाँ छ छायाँ यहीं नै छ पानी छ लोभलाग्दो यहीं जिन्दगानी
छाडेर यो ठाउँ कतै गएँछु अनाहकैमा म बुढो भएँछु ।।
भिड्क्यो युवाकाल फिराऊँ कि म फर्काई उल्टोतिर ल्याऊँ कि म
थापेर यो दाउ बुढेस काल जवानीकै गीत सुनाऊँ कि म ।।
खोल्सातिरै कल्कल गर्छ पानी त्यै पानीमा चल्दछ जिन्दगानी
यो ठाउँको हो परिवेश कस्तो यै ठाउँमा बस्नु कि बस्नु जस्तो ।।
जुरेलीको चिर्बिरमा अनन्त सङ्गीतका सप्तक उर्लिंदैछन्
बिहान साँझै कति हो कति हो बाँस्झाङमा ढुक्कुर कुर्लिंदैछन् ।।
वृद्धाहरु छन् तर पुष्ट गाला त्यै पुष्टता भित्र मिठो छ चाला
यहाँ मलाई अभिशाप लाग्ने त्यहाँ मिठो लाग्छ बुढेस काल ।
गालाहरु पुष्ट र उच्च वक्ष बालाहरुको छ मिठो कटाक्ष
मायाँ प्रितीको त्यही हो मुहान गुराँस फुल्दैछ कि हुन्छ भान ।
माया कसैबाट लिए लिए झैं लिई कसैलाई दिए दिए झैं
शरीर मेरो किन हुन्छ लठ्ठ मातिन्छ कि मद्य पिए पिए झैं ।।
थाहै नपाई प्रिती गाँसिएछ त्यै ठाउँमा यो मुटु टाँसिएछ
उक्काउने आँट यसै हरायो मानौ प्रितीले हुँडलो गरायो ।
जथाभावीका कुराहरुलाइ कविता भनेको सुन्दा मलाइ अलिक चित्त बुझ्दैन । अनि जे पायो त्यसलाइ पद्य कविता भनेकोमा पनि म बडो व्यग्र हुन्छु । यो एउटा मेरो साधारण प्रयत्नबाट जन्मिएको पद्य कविता हो । यसमा ह्रस्व र दीर्घका केही उल्टापाल्टी बाहेक अरु सबै ठिक छ । पद्यमा कविता लेख्न रहर गर्ने मित्रहरुलाइ यो एक उदाहरणका लागि काम लाग्ला भन्ने लागेको छ । अनि कविताको भावमयता पनि यसमा केही छ । कविता नै लेख्ने भए यसरी लेखे हुने । नत्र ता प्रचार होडबाजी खिसी व्यङ्य अादिका लागि लेखिएका लाइनहरुलाइ कविता नभन्न पाए कति राम्रो हुने थियो ।

राम्रो लाग्यो ।
राम्रो लाग्यो ।