लाल सूर्य उदाइरहेछ
अमृत :- यो सैनिक पोशाक लगाउन पाइएको छ जनसेना कहलाउन भेट्टाइएको छ । कहिले सम्मानजनक भविष्य देख्छु कहिले गद्दार घोषणा भइएलाकी भन्ने त्रास बोक्छु । आखिरमा न उँभो न उँधोको जीवन विताइरहेको छु जस्तो लागिरहेको छ ।
अनमोल :- के गर्ने र जीवन हत्केलामा लिएर लडिएकै हो । निरंकुशताका मतियारहरूलाई, जनहत्याराहरूलाई पाखा लगाएकै हो । व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर राष्ट्रिय हितमा जीवन अर्पेकै हो र पनि यो क्यान्टोनमेन्ट नामक जेलभित्र कैद भएर बसिराख्नुपर्ला कि जस्तो भएको छ ।
आस्था :- घरपरिवारको माया ममतालाई बिर्सेर निमुखा वर्गको हकअधिकार ठूलो ठानेर युद्धमोर्चामा समाहित भइयो । यत्रो रगतको खोलो उरालियो यत्रो कहरको समुद्र तयार भयो । यस्तो अवस्था जानी-जानीकन किन आखिरमा राज्यले हामीलाई किन सौताका छोराछोरीका रुपमा हेर्दछ ? मेरो मनले त आफैँलाई भन्छ- आगो ओकल्न जानेको छस् आगो पचाउन पनि जानेको छस् । सामन्तको सातो उडाउन पनि सिकेको छस् । विकृतिको भण्डाफोर गर्ने प्रशिक्षण पनि पाएको छस् । दबेर नबस् तँ निकै माथि छस् । गुम्सेर नबस् तैँले नै नयाँ नेपालको निर्माण गर्न सक्छस् ।

महाभारतको त्रासमा सास फेर्नुपर्छ,
क्रान्तिको शंखघोष सुन्दिने रातलाई सलाम