Skip to content

राजनेताको खोजी

  • by


पात्रहरू: १, २, ३ कुर्सी खोज्ने पात्र २ चाहिँ नारी र अरू पुरुष पात्र ४, ५ जनता पात्र

(ठूलो कुर्सी छ । बैठक कोठाको दृष्य छ । )

१ – (कुर्सी देखाउँदै) यो मेरो भागमा पर्छ मसँग यी समस्या निर्मूलको अचुक ओखती छ केवल सय दिन बस्न दिनुस् ।
२ – आजसम्म लिनु भो अब नारीको भागमा हुनुपर्छ ।
३ – यसको लायक त म हुँ मसँग दक्षिणेको साथ छ सात समुद्रपारिको समर्थन छ । अब सबको समर्थन मलाई हुनुपर्छ ।
१ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । सारालाई रिझाउँछु ।
२ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । म काम गरेर देखाइदिन्छु ।

नेपथ्य – आखिरमा समर्थन सबसँग छ सबलाई कुर्सी चाहिएको छ यसैमा खुशी लुकेको छ, फुर्ती अडेको छ । हो, कुर्सीका अगाडि देश छैन, जनता चाहिँदैन ।

१ – यसका लागि मैले के गरिनँ ! सबथोक गरेँ, मनपेट बेचेँ, विवेक बन्धक राखेँ, जीवन दाउमा लाएँ, केवल देश बचाउन ।
२ – मैले पनि नारी हक देऊ भने । जम्ला हात गरेँ ।
३ – कुर्सीमा बसेर जनसेवा गर्छु भने ! आशीर्वाद पाउन उसका गोडा मोलेँ राजनेताले देश लुट्न मिल्दैन जनता चुट्न मिल्दैन भावी सन्तती भुट्न मिल्दैन यत्ति भनेर उसको ठूलो मुख सानो बनाएँ ।

नेपथ्य – कुर्सी पाउन जनसमर्थन खोज्नुपर्ने अरुकै आशीर्वाद खोजिन्छ मेची काली खुम्चेको चिन्ता छैन केवल आफू र कुर्सीकै चिन्ता छ ।

१ – ए मेची र काली मेरो पक्षमा थपडी बजाऊ सय दिनमै सपनाको संसार बनाई दिन्छु अनि हाँस्न नाच्न र गाउन पाइन्छ ।
२ – हैन समर्थन मलाईँ म दयालु मायालु छु देशलाई गाजलु पार्छु चिटिक्क फिटिक्क र मिटिक्क पार्छु केवल सय दिनमै अलकापुरी पारिदिन्छु ।
३ – समर्थन मलाई चाहियो म सय दिनमै एसियाली मापदण्डमा पुर्याउँछु नदीबाट बिजुली निकाल्छु कुनाकुना मोटर पुर्याउँछु भ्रष्टखोरलाई खोरमा जाक्छु हराभरा सुन्दर देश पार्छु ।

नेपथ्य – सबै सबथोक  गर्न तयार छन् सबै पालोपालो चुट्न भुट्न र लुट्न चाहन्छन् जनता ज्यान नभाका खेलौना हुन् मात्र तमासे ।

दृष्य-२(पात्र ३ कुर्सीमा बसेको छ १, २ हट्न संकेत गर्छन्)

४ – (रोक्दै) भर्खर बस्नुभाछ काम गर्नदिनुस् आशावादी हुनु हाम्रो वाध्यता हो ।
५ – कान चिरेका जोगीको शासन सहनु हाम्रो वाध्यता हो पालैपालो कुर्सी मालिक हुने रहरलाई पूरा गर्ने ठेक्का हामीले लिएका छैनौँ ।
३ – हेर्नुस् मसँग नराम्रो हेर्ने आँखा छैन नराम्रो सुन्ने कान छैन नराम्रो बोल्ने मुख छैन । राम्रो चिताउँछु मलाई राम्रो मान्नुस् सहयोगी हात बढाउँछु सहयोग गर्नुस् ।

नेपथ्य – जनता देको वाचा पूरा गर जनमतलाई विश्वास गर राष्ट्रप्रेमलाई हतियार बनाऊ सुख मिल्काउ अहंकार आर्यघाट पठाऊ मुख देखाएर बाँच लुकाउन सख्त मनाही छ ।

३ – (कुर्सी पक्रदै) खोल्छु सबथोक खोल्छु ।
१ – मेरो सालोको इच्छा पूर्ति गर ।
२ – त्यसै छाड्देको हैन कुर्सी विदेशको सयर गराऊ ।
३ – (मनमनै)नमानूँ कुर्सी चट मानूँ मेरो काँधमा टेकेर सिकार गर्दै छन्(खुशी प्रकट) हुन्छ सब कुरा हुन्छ म अर्थमंत्रालयलाई निर्देशन दिन्छु चिन्ता छैन ।

दृष्य-३

(पात्र ३ नेतालाई पैसा बाँड्छ सब खुसी हुन्छन् ४ र ५ सकसमा पर्छन्)

नेपथ्य-जनतालाई जोगी बनाउन पाइन्न दशगजा हराएर सुस्ता बेचेर नदीनाला सुम्पेर कुर्सीलाई पुर्खाको विर्ता ठान्न पाइन्न ।

 ४ – गुहार गुहार छिमेकी हतियार सहित घरभित्रै पस्यो ५ – अनिकालले छोप्यो शोकले पिरल्यो रोगले मार्यो बाँधले जग्गा डुवान भो हैजाले परिवार सखाप भो ।
३ – (मस्त छ खाँदै छ) ठीक छ ठीक छ धैर्य गर्नुस् सब ठीक हुन्छ  आत्तिने काम छैन ।

सूत्रधार – (भित्रभित्रै चिच्याहट सुनिन्छ) प्रलयको बेला सहयोग मिल्दैन भने देश रोगाको बेला उपचार हुँदैन भने कुर्सीधारीको के काम ? उपस्थित जनसमुदाय हाम्रो संरक्षक आजसम्म जन्मेकै रहेनछ हामीलाई छाता ओडाउने मान्छे यस्तो हुनुपर्छ । (हाउभाउका साथ तेजस्वी तस्विर देखाउँछ) यसैले हामीलाई यस ठाउँमा बसाउँछ खोजौँ यस मान्छेलाई खोजौँ र सबै मिली छाता सुम्पिऔँ उसैको ओडामा रमाऔँ । यतै कतै हुनुपर्छ वर्तमानभित्र भविष्य खोजौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *