Skip to content

कोमलप्रसाद भट्ट

मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ

मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ
तराईवासी, पहाडिया, हिमाली नै प्यारो लाग्छ

लप्पन छप्पन छैन कुनै मुस्कुराउँछन् स्वच्छतामा
बाँडेकाछन् सङ्लो माया, लेकाली नै प्यारो लाग्छ

टाठो बाठो मान्छे यहाँ

टाठो बाठो मान्छे यहाँ, जताततै ठालु हुन्छ
काम गर्छ कालु सधैं, मकै खाने भालु हुन्छ

आलु खाँदै पेडाको धाक, लगाएर बस्छन् कति
वास्तविकता खोतले त्यो, पेडा नभै आलु हुन्छ

कतै मस्ती कतै पीडा

कतै मस्ती कतै पीडा, कतै बस्छन गुनासाले
कतै भोका कतै प्यासा, कतै रुन्छन निराशाले

सबैको जिन्दगी लाग्यो, कथा उस्तै व्यथा उस्तै
दगुर्दै छन दिनै पिच्छे, सबै ठूला सुखाशाले

इच्छाहरू छाती भित्रै

इच्छाहरू छाती भित्रै, निसासिए जिन्दगीका
रहर जति खाँदमा परे, र भासिए जिन्दगीका

कल्पनाका शीशमहल, गर्ल्याम गुर्लुम ढले सबै
चोखा चोखा भावना नि, निराशिए जिन्दगीका

KomalPrasadBhatta-05

आफन्त सबै, पहिरोले लग्यो

आफन्त सबै, पहिरोले लग्यो, टुहुरा रुँदै छन्
बिजोकै देख्दा, देउराली पाखा, ढिस्कुरा रुँदै छन्

बस्ती नै बग्यो, रहेन केही गाँस बासै हरायो
बाँच्नेको पनि, होस् हवास छैन, वेसुरा रुँदै छन्

पिताज्यूको सम्झनामा

खन्यौ बाँझो बारी, सकल जनको पेट भरनै
थियौँ हामी साना, अनि नसकिने काम गरनै
गर्यौ चिन्ता हाम्रै, सकस सहँदैमा कति गल्यौ
रह्यौ नाङ्गै भोकै, जब सहज हुन्थ्यो तब ढल्यौ ।।

चाड पर्व नजिकिंदा

चाड पर्व नजिकिंदा, आँसु आउँछ परदेशीको
आँगनीमा पीडा मात्रै, सल्बलाउँछ परदेशीको

जताततै घाउ लाग्यो, वियोगले पोल्दा सधैँ
छाती भित्र व्यथै व्यथा, दन्दनाउँछ परदेशीको

खुसी छु आज बेसरी

खुसी छु आज बेसरी, सुनेर हर्षका कुरा
प्रफुल्ल भो मनै यहाँ, बुझेर हर्षका कुरा

अथाह वेदना सँगै, बसेँ सधैँ अतालिँदै
मिल्यो अपार शान्त्वना, भएर हर्षका कुरा

बुढेसकालले छोयो क्यारे

बुढेसकालले छोयो क्यारे, कपाल सबै पाक्यो अब
सोच्न छोड्यो मस्तिष्कले, मनस्थिति थाक्यो अब

नाना थरी बिमारीले, दु:ख दिए सधैं भरि
किन किन लाग्न थाल्यो “दैवले नै डाक्यो अब”

भन्दै छ रोजै तेरो र मेरो

भन्दै छ रोजै तेरो र मेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा
लोभी छ धेरै नाघ्दै छ घेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

बिर्सेछ सच्चा कर्तव्य के हो, बन्दै छ पापी झन् आज भोलि
गन्तव्य सारा पार्यो अँधेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

देश निकै छट्पटायो

देश निकै छट्पटायो, आऊ न फेरि गौतम बुद्ध
सुख शान्ति लड्खडायो, आऊ न फेरि गौतम बुद्ध

छाडातन्त्र भएको छ, प्रजातन्त्र अचेल भरि
सद्भावना डगमगायो, आऊ न फेरि गौतम बुद्ध

समयले धुरुधुरु रुवाएरै छाड्यो

समयले धुरुधुरु, रुवाएरै छाड्यो आज
मुटु छेड्ने तीखा वाण, चलाएरै छाड्यो आज

नभए झैं भयो अव, रवि शशि आकाशमा
नयनको ज्योति पनि, हराएरै छाड्यो आज

हामी पनि चोखो मायाँ

हामी पनि चोखो मायाँ, लगाउँथ्यौं तन्नेरीमा
अनगिन्ती स्वप्नाहरू, सजाउँथ्यौं तन्नेरीमा

त्यसै त्यसै बरालिँदै, बिराएनौ बाटो कहिल्यै
सत्य, निष्ठा, कर्तव्यमै, रमाउँथ्यौं तन्नेरीमा

जिन्दगीमा मिठो मुस्कान

जिन्दगीमा मिठो मुस्कान,सितिमिती पाईंदैन
झलमल्ल सुनको विहान,सितिमिती पाईंदैन

गुराँस फुल्छन् वसन्तमा,शिशिरमा झर्छन् सवै
बाह्रै मैना फुल्ने उद्यान,सितिमिती पाईंदैन