Skip to content

कोमलप्रसाद भट्ट

च्यातिएर जान थाले

च्यातिएर जान थाले, इतिहासका पाना सबै
चोखो माया ढली सक्यो, मक्किएर छाना सबै

सिर्जनाको प्रवाह नै, सुक्ने भयो खडेरीले
एकान्तले बिर्साई दियो, पिरतीका गाना सबै

नव वर्ष आयो

छायो वसन्त ऋतु लौ जगतै रमायो
उत्साहले विगतको पिर नै भुलायो
नौलो खुसी र सपना अव सल्वलायो
बिर्सौं कुभाव सवले नव वर्ष आयो ।।१।।

कर्तव्य के छ जनको यति बुझ्नु होला
ऐले सुकर्म नगरे पछि चित्त रोला
सद्बुद्धि लिन्छ जसले उसले सपार्यो
त्यागौँ मुटाव सवले नव वर्ष आयो ।।२।।

नगरौँ लोभ जिन्दगी हाम्रो मर्नेछ

नगरौँ लोभ जिन्दगी हाम्रो, मर्नेछ कुनै दिन
रहन्न सधैँ प्रकृति फूल, झर्नेछ कुनै दिन

झुटको खेती टिक्दैन धेरै, लैजान्छ पैह्रोले
उर्लेर बाढी पापको कमाइ, हर्नेछ कुनै दिन

मेरी आमा

पूजा गर्न योग्य नारी, हुनुहुन्थ्यो मेरी आमा
मुटुभन्दा धेरै प्यारी, हुनुहुन्थ्यो मेरी आमा

ठान्नुभयो आफू जस्तै, संसारका प्राणी सबै
जन्मैदेखि शाकाहारी, हुनुहुन्थ्यो मेरी आमा

स्वर्ग हाम्रो

कति हुनु छ विरानो ? दिक्क लागेर आयो
रहर जति सबै नै, भित्रबाटै हरायो
भत भत भत पोल्दै, दुख्न लागेछ छाती
सहन सकिन पीडा, आँसु बर्षिन्छ राती ।।१।।

नियति अझ कठोरै, रैछ यो आज जानेँ
जनपदसँग टाढा, बस्नु दुर्भाग्य ठानेँ
झलमल छ विदेशै, तै नि लाग्यो अँधेरो
बरु सकस सहौंला, देश आफ्नै छ प्यारो ।।२।।

हाम्रो देशका नेतालाई

हाम्रो देशका नेतालाई लड्न पाए भैगो
जसरी नि कुर्सीमाथि अड्न पाए भैगो

काग जति कराउँछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो

प्रवास मै बसे पनि

प्रवास मै बसे पनि मेची काली नबिर्सौं है
स्वर्ग जस्ती मातृभूमि र नेपाली नबिर्सौं है

तिर्नु पर्छ जननीको भारा हाम्ले जिन्दगीमा
रस चुस्दै भमरा झैं फूलको डाली नबिर्सौं है

किन होला मष्तिष्क नै थाकेको छ

किन होला मष्तिष्क नै थाकेको छ आजभोलि
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि

अनगिन्ती सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि

जसो तसो बाँचेको छु

जसो तसो बाँचेको छु खबर अब नसोध है
भित्री मनै मरी सक्यो रहर अब नसोध है

बादलु झैं घेरेकाछन् बाध्यताले चारैतिर
पीडा दिन्छन् छाती भरि असर अब नसोध है

तिम्रै लागि रचिएका गीत

तिम्रै लागि रचिएका गीत गज़ल बिर्स्यौ क्यारे
वियोगले तड्पिएर बस्छ घायल बिर्स्यौ क्यारे

छमछमी नाचेकी थ्यौ सुरिलो त्यो भाकासँगै
झ्याउरेमा बजाएको घिन्ताङ् मादल बिर्स्यौ क्यारे

बुढेसकालले छोयो अब

बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे
आयु पनि सकियो कि सबै छाला चाउरी परे

सम्झनलाई गाह्रो भयो स्मरण शक्ति हराएर
विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे

देशको लागि छिटो छिटो संबिधान चाहियो

देशको लागि छिटो छिटो संबिधान चाहियो अब
अविश्वास र अशान्तिको अवसान चाहियो अब

धेरै पल्ट देखेका छौं कुर्सी तान्ने खेल मात्रै
इमान्दार र निष्ठावादी भगवान चाहियो अब

प्राय: जसो अफिसमा

प्राय: जसो अफिसमा कमाएको कुरा हुन्छ
डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ

तोकिएका जिम्मेवारी,काम काजभन्दा पनि
दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ