कुनै जिन्दगीमा, सयौं छन् दुखेसा
कुनै मस्तमा छन्, हुँदा उच्च पेशा
कसैको पसीना, गएको छ व्यर्थै
कसैले बृथामै, मिलाए अडेसा
कतै आँसु झर्दा, कतै हुन्छ हाँसो
कतै झुम्छ आँगन, रुँदै छन् करेसा
न पाइन्छ देख्नै, सिधा शुद्ध मान्छे
न ता सत्य बाटो, न हुन्छन् कुलेँसा
जता पाक्छ काफल, उतै उड्छ पन्छी
यही रित हाम्रो भयो लौ हमेसा
(६ अक्षरमा विश्राम )
भुजङ्गप्रयात छन्द
। ऽ ऽ । ऽऽ । ऽ ऽ । ऽ ऽ
कोमल भट्ट
(komalpbhatta@yahoo.com)
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका
