Skip to content

मानन्धर अभागी

जिन्दगीको के नै दोष

जिन्दगीको के नै दोष त्यो तक्दिरलाई सोध
सधैँ पुज्ने त्यो द्यौता र मन्दिरलाई सोध

ठूलो ठूलो तिम्रो इच्छा पूरा गर्ने सम्बन्धमा
म गरिबलाई के सोध्छौ त्यो अमिरलाई सोध

आफ्नो जिन्दगीदेखि

आफ्नो जिन्दगीदेखि आफै, निराश देख्छु
भौंतारी यता – उता जान, हत्तास देख्छु

कलकलाउँदो त्यो जीवन, निराश – निराश
बादल मडारिँदा आकाशझैं, उदास देख्छु

अचानो न हो जिन्दगी

अचानो न हो जिन्दगी, बाँच्नु पर्छ सहेर नै
खुकुरीका चोटहरू, खप्नु पर्छ मरेर नै

भाउजुको फरिया टुप्पोमा, दाजु पोका पर्दैछ
भाइहरू ओखलमा, नाच्नु पर्छ थिचेर नै

हुने भए कात्रो ओढी

हुने भए कात्रो ओढी, आर्यघाट फिर्ने थिएँ
आफ्नो लास आफैले, काँधमा भिर्ने थिएँ

मलामी विनाको लास, यस्तै – यस्तै हुँदो हो
जिउँदो यो लास आफै, आगोलाई गिर्ने थिएँ

देख्दैछु म आजकाल

देख्दैछु म आजकाल, आफ्नो हातमा आफ्नै लास
कसैको चोट – पीडाले, भौंत्तारिरहे आसपास

मित्र अनिश्चित यात्री, खै डर के हो – भर के हो
अब त थाकिसके, भएनछ अब भय त्राश

मान्छेलाई यहाँ मान्छेको विश्वास

मान्छेलाई यहाँ मान्छेको विश्वास छैन
आफ्नै आमा – बाबु हराउँदा तलास छैन

हिजो – आज रातभरि खोकेर मर्दै गर्दा
खै छोरालाई कत्ति पनि आभाष छैन

द्रौपदीको झैं आज

द्रौपदीको झैं आज मेरो, चिर हरण गर्‍यो
नचाहेर पनि त्यो, विदेशी कोठीमा पर्‍यो

सर्वस्व लुटियो आज, आफ्नै दाजु – भाइले
सगरमाथा जस्तो शिर, आज तल – तल झर्‍यो

सँधै यो फूटेको कर्म

सँधै यो फूटेको कर्म, श्रीमानको पाउमा छ
भन्ने बेलामा धर्मपत्नी, दासीको ठाउँमा छ

खै के नै विराम थ्यो, आफूलाई था भएन
खै किन होला मलाई, सिध्याउने दाउमा छ

जून छ तर अँध्यारो

जून छ तर अँध्यारो, यहाँ जून न भा जस्तो
नुन छ तर अँध्यारो, खल्लो नुन न भा जस्तो

सतीले सरापेको देशमा, राम्रो गर्नै नहुने रै छ
सर्वस्व त्यागेर पनि, मान्छेमा गुण न भा जस्तो

कोपिला नफुल्दै टिप्न थालेछ

कोपिला नफुल्दै टिप्न थालेछ त्यो विहानीमा
उमेर नपुग्दै माया लाएछ त्यो जवानीमा

समयले कोल्टे फेर्दा कस्तो आँधीवेरी चलेछ
आलोचना गर्ने ठाउँ नै छैन त्यो कहानीमा