राजेश रुम्बा लामा
जिउँदालाई काठको घर मर्नेलाई ईट्टाको चिहान
चैतमासको घाम रनक्क रन्केको छ । जमिन भतभती तातेको छ । घरबाट यतै कतै निस्किन पनि बडो गारो । पसिनै पसिनाले लुछुरुक्क भिज्ने । शायद घर देश छाडी परदेश एसीको चिसोमा बस्ने बानीले होला यो ज्यानलाई घरदेशमा घामपानी पनी लाग्ने ।
बल्ल बल्ल दुई वर्षमा घर गाको, दुई महिना बिदा पाको । त्यसै त्यो समयलाई घर्किन दिनुहुन्न भन्ने लागिरहेको थियो । त्यसै समयमा भाइ गाउँबाट चितवन आइपुग्यो र “दाइ जाउँ मेरो ससुरालीतिर घुम्न” भनेपछि के खोज्छस् कानो आँखा भने जस्तो भो मलाई ।
