दाम्पत्य रथ
मेरा लखुरामे,
मलाई विश्वास छ, तिमी जहाँ भए पनि उच्च र सम्मानित स्थानमा छौ । आफ्नो स्वास्थ्यको ख्याल गर्न कमी गरेका छैनौ होला । तिमी यहाँ रहुञ्जेलसम्म मलाई पूरै भरोसा दिएका थियौ । मलाई आधा जिन्दगी होइन तीन चौथाइ हिस्सा ठानेका थियौ ।
डेढ दशकसम्म सँगैसँगै दाम्पत्य रथ गुडाउँदा मैले तिमीलाई नजिकबाट चिनेकी छु । नौ महिनासम्म कोखमा राख्ने आमाले पनि महसुस नगरेकी होलिन्, त्यति स्पष्टसँग मैले तिम्रो हृदयको अन्तरकुन्तर स्पर्श गरेकी छु ।