Skip to content


प्रिय जून,

यतिखेर मेरो मनमा तुवाँलो छाएको छ । मेरो भिर, पाखा र फाँटहरू म धुलाम्मे देख्दैछु । यद्यपि तिम्रो मन्द मुस्कानले भने मलाई स्वर्गीय आनन्द दिलाईरहेको छ । म हरपल तिम्री यादको संजीविनी पिएर बाँचिरहेको छू यो उजाड उजाड मरुभूमि अर्थात क्याक्टस फूल्ने शहरमा ।

प्यारी जून, शायद तिमीलाई पनि मेरो याद आउँछ होला नि होइन ? र त तिमी चियाई चियाई हेर्ने गर्छ्यौ त्यो सेतो र कालो बादलुको पर्दा हटाई हटाई मलाई ।हो म यति बुज्दछु अथवा भनुँ बुझ्नु पर्छ मैले कि हाम्रो मिलन असम्भब छ । वास्तविकता पनि त यही हो । किन थाहा छ ? धत त्यती पनि थाहा छैन ? किनकि तिमी आकाशमा फूलने जून अनि म धरतीको धुलो, अब धर्तीको धुलो र आकाशको जूनको भेट कहीं हुन्छ त ? हुन्न नि है ? तर पनि जून, किन किन यस्तो लाग्छ कि जून बिना मेरो जीवन अपुरो र अधूरो छ ?

कुनै बेला त यस्तो पनि लाग्छ कि जूनै नभईदिएको भए पनि म आफ्नो मझेरीमा कालो रात ओछ्याउदै कालो संसारलाई अंगालो मारेर बस्ने थिएँ, आफ्नो भाग्य र बिधाताको खेल सम्झी बाँच्ने थिएँ। कमसे कम पाउनु र गुमाउनुको हिसाब किताबमा तिमीलाई मैले जोख्नु पर्ने थिएन अथवा तिमीलाई हेरेर यो मुटु दुखाउनु त पर्ने थिएन ।

यी यस्ता तर्क बितर्कहरू मनमा भूमरी बनेर मडारिंदा अजीबको शुलले मुटुमा रोपें झैं लाग्छ । हो जून ! थाहै हुन्न कुनै बेला आँशुले मेरो अगाडी बढ़ने बाटो छेक्छ अनि भन्न थाल्छ” भो अब नहेर, नसम्झी जूनलाई। जून तिम्रो होइन ।” तर म त्यो आँशुलाई हातमा लिएर म् सोध्ने गर्छु, “ए आँशु तँ को होस् ? किन छेक्दै छस मेरो जूनलाई ?”

आँशु पनि रुँदै भन्ने गर्छ, “धर्तीमा उभेर आकाशको जूनलाई पाउने मुर्खता नगर राज ।”

सोच्छु हुन पनि हो, कहाँ म धरतीको धुलो कहाँ तिमी जून ?

कहिलेकाहीँ म देख्छु मेरो जून त्यो पारीको क्षितिजमा झर् झर झरीरहेको झरीमा रुझ्दै गरेको । त्यही झरीले मेरो घरको जस्ताको छानो पनि थर्काईरहेको छ । मलाई सहि नसक्नु हुन्छ तिमी निथुर्क्क भएकी देखेर । म भित्रको सानो मुटुको चाल तिव्र भएर जान्छ । तिमीलाई अंगालोमा बेर्ने मन् हुन्छ । यस्तो बेजोडको झरीमा पनि म आफ्नै कोठाभित्र पसिना पसिना हुन्छु । तिम्रो नाउँ उच्चारण गर्न खोज्छु तर अंह सक्दिन ।तिमी त्यही झरीमा भिज्दै भिज्दै म भन्दा झन धेरै टाढा टाढा हुदैं जान्छौ ।

म अवाक ! हात फैलाएर बसिरहेकोछु । म विवश हुन्छु किनकि न म कुनै पवन बनेर तिमीलाई चुम्न सकिरहेको हुन्छु न त्यो झरीबाट बचाउन आकास जस्तै ओत बन्न सकिरहुन्छु । मात्र देखिरहेको छु जून ।

तिमी न मबाट टाढा छौ न नजिक। यदि टाढा छौ भनुँ भने म तिमीलाई देखिरहेको छु यदि थिइन र नदेखेको भए यसरी तिमीलाई एकोहोरिएर् प्रेम पनि गर्ने थिएन होला । फेरि नजिक छौ भनुँ भने तिमीलाई छुन सकिरा’छैन । यो कस्तो दोसाँध अथवा भनुँ कस्तो परिवेश न तिमीलाई पाउँछु न गुमाउँछु । उफ्! ।

जून साँच्चै म तिमीलाई किन यसरी प्रेम गरिरहेछु? मलाई थाहा छ तिमीलाई म जीवनभर कहिल्यै प्राप्त गर्न सक्दिन । यो सत्य हो ।यो म आफू पनि स्वीकार्छु यदयपी किन किन तिमीप्रतिको त्यो मेरो आकर्षण टुट्न सकिराछैइन । मेरी प्रिया, यो वास्तविक्ता जान्दा जान्दै पनि म तिम्रो कल्पनामा डुब्छु । फेरि मलाई यो पनि थाहा छ, तिमी पनि मलाई उत्तिक्कै माया गर्छौ र त जब जब अध्याँरोले साम्राज्य जमाउन शुरु गर्छ तब तब तिमी आकाशमा उदाएर मलाई हेर्ने गर्छयौ । पुर्णिमा हरेक रात तिमी उज्याली भएर मलाई उसै गरि हेरिरहन्छयौ अनि जब औंशीले त्यो पुर्णिमालाई ढाक्न शुरु गरे पछि तिमी अत्तालिएर रुन थाल्छ्यौ ।

तिमी भित्र पनि असिम पीडाहरू छचल्किरहेको छ त्यो म स्पष्ट देख्छु । त्यो पीडा जब आँशु बनेर झर्छ तब बिहानीले शीत जन्माउँछ । हो त्यही शीत बनेर तिमीभित्रको मायाले मलाई यो धर्तीमा श्पर्श गर्दछ । अनि त्यति बेला यो अतृप्त तृप्त हुन्छ । हो साँच्चै म तृप्त हुन्छु, हरेक बिहान तिम्रो चुम्बनले, तिम्रो आलिंगनले । सायद हाम्रो दृष्टि रातभरि सम्भोग गरिरहन्छ अनि तिमी स्खलित हुन्छ्यौ । म यसैमा खुसी छु मेरी प्रिया, मेरी जून ।

म चाहन्छु हामी एक हुन नसके पनि यो क्रमले सदियौं पार गरोस । सदियौंसम्म तिमी शीत बनेर मलाई चुम्न, यो बन्जर धर्तीलाई उर्बर बनाउन आईराख, झरीराख । सायद यो हाम्रो मायालाई अरुले एउटा सभ्यताको रुपमा लिनेछ । म यही चाहन्छु कि तिमीलाई भौतिक रुपमा स्पर्श गर्न नपाए पनि भावनात्मक रुपमा सधैं स्पर्श गरिराँखु । हाम्रो मिलन असम्भव छ तर पनि म देखाउन चाहन्छु यो संसारलाई प्रेम अनूभूति हो जस्लाई तनले हैन मनले अनुभव गर्न सकिन्छ, बस मनले अनुभब गर्न सकिन्छ ।

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *