सङ्क्रमणकाल
यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ न, मैले थाहा पाइराखेको कुरो हो यो । ऊ अस्थायी मान्छे हो, भन्नाले कहीँ पनि स्थायी नोकरी पाउन सकेको छैन । परिवार पनि छन् । उसकी स्वास्नीको कुरो पनि छ । केटाकेटी त स्कुल जाँदै छन् तर उनीहरू सामान्यभन्दा अलि बढी खर्च लाग्ने स्कुलमा पढ्छन् र निश्चय नै यो उसको आम्दानीले थेग्न सक्ने होइन ।
