कुनै पनि देशको कुनै पनि समयको कला, वास्तुकलाले त्यस देशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं वैदेशिक सम्बन्धका बारेमा समेत जानकारी दिने काम गरेको हुन्छ । कलाले मानव सभ्यताको उचाइलाई नाप्ने काम गर्दछ । जुन समयमा कलाको राम्रो विकास भएको हुन्छ, त्यस समयमा देश हरेक दृष्टिले सम्पन्न थियो भन्ने कुरा बुझ्न सकिन्छ । जसरी लिच्छविकालीन उत्कृष्ट कलाकृतिले लिच्छविकालको सम्पन्नतालाई पुष्टि गरेको छ । त्यसैले त नेपालकै इतिहासमा लिच्छविकाल ‘स्वर्णयुग’को नामले अलङ्कृत बन्न पुग्यो यसरी कला र वास्तुकलाले देशको तत्कालीन सम्पूर्ण अवस्थाको चित्रण गर्ने हुँदा देशको समग्र इतिहास अध्ययन गर्ने कार्यका लागि कला र वास्तुकलाले अत्यन्त महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ यस्ता प्राचीन इतिहासलाई प्रमाणित गर्ने भरपर्दा र महìवपूर्ण प्रमाणहरूको रूपमा देशभरि छरिएर रहेका सांस्कृतिक र पुरातात्विक सम्पदाहरूको खोजीखोजी संरक्षण गर्नु अत्यन्तै जरुरी हुन्छ ।
प्राचीन स्मारक संरक्षण ऐन- २०१३ ले अधिराज्यभर यत्रतत्र छरिएर रहेका सम्पदाहरूको अन्वेषण, उत्खनन्, संरक्षण र सम्बर्द्धन गरी त्यसको व्यवस्थापन गर्ने अधिकार पुरातत्व विभागलाई दिएको छ तर पुरातत्व विभागले २०४३ सालमा आएर मात्र ७२ वटा जिल्लाका सांस्कृतिक सम्पदाहरूको प्रारम्भिक सर्वेक्षण गरी प्रतिवेदन तयार पार्ने काम गरेको थियो । यद्यपि पर्याप्त जनशक्तिको अभाव र फोटोग्राफीसमेत नभएकोले त्यो अपुरो रहन गयो । अपुरो तर महìवपूर्ण उक्त कार्यलाई पूर्णता दिनको लागि पुरातत्व विभागले आर्थिक वर्ष २०६४/६५ देखि देशभरि छरिएर रहेका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको सूची तयार पार्नका लागि सर्वेक्षणको कार्य सुरु गरेको छ । सांस्कृतिक तथा पुरतात्विक सम्पदाहरूलाई तिनको व्यापकता, ऐतिहासिक पृष्ठभूमि, सामाजिक-सांस्कृतिक महìव, कला, वास्तुकला आदिलाई आधार बनाएर वर्गीकरण गरी तिनको संरक्षण गर्नु यस सर्वेक्षणको उद्देश्य रहेको छ ।
पुरात्व विभागको यो महìवपूर्ण उद्देश्य पूरा गर्नको लागि संस्कृतिकर्मीको हैसियतले मैले पनि एउटा अवसर प्राप्त गरेको थिएँ । रुकुम र रोल्पा जिल्लाका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको सर्वेक्षण विवरण तयार गर्ने कामको जिम्मा मैले लिएको थिएँ । अध्ययनक्रममा रोल्पा र रुकुम जिल्लामा सांस्कृतिक सम्पदाका रूपमा बहुसङ्ख्यामा मन्दिर र केही कोटहरू पाइयो । त्यहाँ पाइएका मन्दिरहरूको प्राचीनता प्रमाणित गर्ने कुनै पनि ठोस प्रमाणहरू (पुरातात्विक प्रमाण) नभेटिने हुँदा मन्दिरमा पूजा गर्ने पुजारीको पुस्ता गन्ती गरेर र स्थानीय बूढापाकाको भनाइलाई आधार मानेर कुन मन्दिर कति पुरानो हो भन्ने कुराको निक्र्योल गर्नुपर्ने अवस्था रहेको छ । अधिकांश मन्दिरहरू किंवदन्तीका आधारमा स्थापना गरिएको पाइन्छ । हुन त नेपालका प्रायः मन्दिरहरू यसरी नै स्थापना गरिएका पाइन्छन् । मन्दिरहरूमा मन्दिर स्थापनाकालमा राखिएका मूर्ति भेटिँदैनन् । भेटिए पनि पछिल्लो समयमा राखिएका मूर्तिहरू भेटिन्छन् । कुनैकुनै मन्दिरमा भेटिने स्थापनाकालकै मूर्तिहरू पनि सम्बन्धित देवदेवीको वास्तविक स्वरूपमा नभई प्रतीकात्मक स्वरूपको प्रस्तरको सादा मूर्ति भेटिन्छन् । भेटिएका प्रायः सबै मूर्तिहरू प्रस्तरबाट बनेका पाइन्छन् । कुनैकुनै मन्दिरहरू सामान्य कलात्मक देखिए पनि अधिकांश मन्दिरहरू कलाबिहीन पाइन्छन् । यसरी रोल्पा र रुकुमका सम्पदाहरू ऐतिहासिक पृष्ठभूमि, कला र वास्तुकलाका दृष्टिले त्यति महìवपूर्ण नरहे तापनि सामाजिक, सांस्कृतिक, धार्मिक दृष्टिले नेपालका अन्य नाम चलेका मन्दिरहरू भन्दा कम महìवका छैनन् ।
ऐतिहासिक एवं कला र वास्तुकलाको दृष्टिले कम महìवका भए तापनि सामाजिक र सांस्कृतिक महìव बोकेका यी मन्दिरहरूको उचित संरक्षण र सम्बर्द्धन गर्नु अति आवश्यक छ । संरक्षणका अभावमा मूर्तिहरू चोरी हुने, सम्पदाका नाममा भएका गुठी जग्गाहरू व्यक्तिद्वारा हडप्ने काम भइरहेको छ । जसले गर्दा मन्दिर व्यवस्थापनमा असर परिरहेको छ । त्यस्तै सम्बन्धित निकाय (पुरातत्व विभाग)को उचित ध्यान नपुग्दा सम्पदा पुनर्निर्माण वा जीर्णोद्धारको समयमा पुरातत्वको मूल्य, मान्यता र नियमको ख्याल नगरी सिमेन्टको प्रयोग गर्ने, मौलिक स्वरूपलाई परिवर्तन गरिदनेे, मन्दिर नै अर्को स्थानमा सारेर पुनर्निर्माण गर्नेजस्ता कामहरू भएको पाइन्छ । त्यति मात्र होइन, चौबीसे राजाहरूको दरबार, जुन पछिल्लो समयमा आएर कोटका रूपमा परिचित भए, जसले वर्तमान समयमा उक्त स्थानको पहिचान गराउने महìवपूर्ण काम गरेको छ, ती महत्वपूर्ण ऐतिहासिक कोटहरू संरक्षणको अभावमा यतिखेर पृथ्वीको गर्भमा विलिन भएका छन् । जुन बाँकी छन् ती पनि लोप हुनेक्रममा रहेका छन् ।
खास गरी रुकुम जिल्लाका मुसिकोट, रुकुमकोटलगायत थुप्रै ऐतिहासिक कोटहरू यतिखेर अवशेषको रूपमा पनि भटिँदैनन्् । रुकुम जिल्लाकै न्वारन गर्ने शोभा गाउँ विकास समिति वडा नं. १ कोटडाँडामा रहेको हाल नाम निसानै फेला पार्न नसकिने रुकुमकोट, जहाँ पहिले चौबीसे राजाको दरबार थियो । सम्बन्धित निकायको ध्यान नपुग्दा आज पूर्णतया लोप हुन पुगेको छ । यहाँसम्म कि कोटको जगमा लगाइएका इँटा, ढुङ्गासमेत कोट रहेको स्थानमा भेटिँदैनन्् । यसै गरी, रुकुम जिल्लाकै खलङ्गा गाउँ विकास समिति वडा नं. ७ बोहोरा गाउँमा अवस्थित जिल्लाकै सदरमुकामको पहिचान गराउने ऐतिहासिक महìव बोकेको मुसीकोटको हविगत पनि अत्यन्तै नाजुक रहेको छ । रुकमुकोटमा कोटको कुनै पनि अवशेष नपाइए तापनि कमसेकम कोट रहेको स्थान त हालसम्म कसैले कब्जा गरेको छैन, सुरक्षित छ तर मुसिकोट रहेको स्थान नेपाली सेनाले कब्जा गरी ब्यारेकमा परिणत गरेको छ । यहाँ पनि कोटको कुनै अवशेष भेटिँदैन । त्यसैले होला सेनाले कोटको सर्वेक्षण विवरण तयार पार्नका लागि अनुमति दिन असाध्यै गाह्रो मानेको थियो । यही ब्यारेक भएको स्थान नजिकै अवस्थित एउटा देवी मन्दिर, जुन भवानी मन्दिरका नामले चिनिएको छ, लाई बज्रदल नामको सैनिक सङ्गठनले पुनर्निर्माण गर्दा मन्दिरको मौलिक स्वरूप परिवर्तन गर्नुको साथै देवीको नामको अगाडि सङ्गठनको नाम जोडेर बज्रभवानी नामकरण गरी सम्पदाको मौलिक नामसमेत परिवर्तन गरिदिएको छ । यो कार्यले पुरातत्व विभागलाई नै चुनौती दिएको देखिन्छ । जबकि पुरातत्व विभागको नियमअनुसार मौलिक स्वरूप पनि परिवर्तन गर्न पाइँदैन । रुकुम र रोल्पामा यस्ता अन्य थुप्रै सम्पदाहरू रहेका छन्, जुन संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । रोल्पाको चौबीसे राजाको खुङ्ग्रीकोटको दरबार संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ । त्यस्तै ऐतिहासिक गजुलकोट संरक्षणको पर्खाइमा रहेको छ ।
इतिहासको विभिन्न कालखण्डका मानव समाज, सभ्यता र संस्कृतिका विकासका प्रमाणहरूलाई सम्बन्धित निकायले गम्भीरताका साथ उचित संरक्षण र सम्बर्द्धन नगर्ने हो भने एक दिन मानव विकासको इतिहास नै गम्भीर खतरामा पर्न जाने निश्चित छ ।
