इन्सोम्नियाले ग्रस्त यो सहर
नाइट क्लबको ब्याण्डभरि
छट्पटाइरहेछ – सहर र सपना, पृष्ठ ६

जुबेदा, ओ जुबेदा
मैले तिम्रो सहरलाई भेटेँ
तिमीलाई भेट्न सकिनँ – पूर्ववत्, पृष्ठ ७

माथि उद्धृत कविताका दुई अंश कवि हेम हमालको ‘सहर र सपना’का हुन् । अनिद्राले ग्रस्त सहर वा व्यक्तिको स्थिति मानसिक रोगीको हो, यस प्रकारको मानसिक रोगबाट व्यक्ति त्यसबेला पीडित बन्छ जब मन वा मस्तिष्कमा थुप्रै विचारको हावाहुरी चल्छ रक्तचाप बढ्छ, मानसिक तनाव वा चाप बढ्छ । एक प्रकारले इच्छा, विचार अनि वास्तविक जीवनको बीचको सङ्घर्षमा परेर व्यक्तिमा भय उत्पन्न हुन्छ, त्यसबेला व्यक्तिलाई निद्रा लाग्दैन । यहाँ नाइटक्लबको ब्याण्ड पश्चिमी सभ्यता, संस्कृतिको अनुकरणको वर्णन हो भने व्यापार वृत्ति वा आर्थिक आर्जनको स्रोतको उल्लेख पनि हो । अर्को अर्थमा, मानसिक शान्तिको ह्रासको सङ्केत हो । अहिले यस राष्ट्रका फैलिँदो वा फस्टाउँदै आएका सहरहरूको उल्लेखबाट कवि यहाँका वासिन्दाहरूको मानसिक अवनति अनि पीडाको वर्णन गर्छन् ।

दोस्रो उद्धरणले ‘जुबेदा’ कवि इच्छित चारु वा रूपवतीको नाम हो जसलाई उनी भेट्न चाहन्छन् तर सहरको भीडभाड, दू्रतगतिको जीवन-क्रियाकलाप, मानिसको व्यस्ततामा, नाफा-नोक्सानको बजारमा उनलाई भेट्न सक्तैनन् । भेट्न खोजेको एउटा सपना हो तर सपना पूर्ति भएन । यस सन्दर्भमा सामाजिक अनि सामूहिक वास्तविक जीवनको वर्णन र व्यक्तिको जीवन्त जीवनमा एउटा विडम्बनाको सङ्केत हो । बाहृयरूपमा देख्न र भेट्न नसकेको तर आन्तरिक पक्षमा भेट्न र हेर्न चाहेको विपरीत अवस्थाको वर्णन हो । कवि वा कुुनै व्यक्ति इच्छित वस्तुको सपना राख्छन् । सपना साकार गरी इच्छा पूर्ति गर्न चाहन्छन् तर सपना वास्तविकतामा परिणत हुन्न । यस्तो अवस्थामा रक्तचाप र विचारप्रवाहमा तीव्र आरोह हुन्छ । यसैबेला शरीर मनको सङ्घर्ष चर्कन्छ । निद्रा भाग्छ, अनिदि्रत अवस्थामा पीडा चर्कन्छ । इन्सोम्निया रोग ग्रस्त बन्छ व्यक्ति । विडम्बनापूर्ण, विरोधात्मक अवस्थाको राम्रो वर्णन हो! इच्छा विचार अनि चाहेको सबै स्वप्निल मात्र भए, एक प्रकारको वाष्पीकरण ।

सामान्यतया सबै सपना देख्छन् तर अचेतन वा निन्दि्रत अवस्थामा सपना देख्नु व्यक्तिको चेतन अवस्थाको नियन्त्रणमा छैन, यसको विपरीत कतिपय महìवाकाङ्क्षा सूत्रधारहरू जीवन्त अवस्थामा सपना देख्छन् । यस प्रकारका सपना निकै जोखिमपूर्ण पनि बन्छन् । किन्तु कवि हमाल यी दुवैबाट पृथक् भएर वस्तुगत संसारमा घटिरहेका दृश्यगत घटनाहरूको प्रवाहका सपनाहरूको वर्णन गर्छन् । यस अर्थमा, वर्तमान अनि चेतनावस्थामा भोगेका दुःखद वा मधुर घटनाहरू विगतमा गएपछि त्यो वस्तुगत घटना, अनुभव र भोगाइ पनि सपना बन्छ तर त्यसको प्रभाव सम्झनामा रहिरहन्छ, यस्तै घटनाहरूलाई स्मृतिको संसारबाट ल्याई कविले भावनात्मक-सपना गरी कतिपय कविताहरूमा मधुर र सरल वाक्य-विन्यास मिलाई अभिव्यक्त गर्छन् ।

व्यक्तिगतरूपमा हमाल भद्रमित्र हुन् तर पनि सम्पर्क कमै हुन्छ । उनी जीवन्तपक्षबाट कविताका विषय लिन्छन् । समाजको वर्तमान समयको वर्णन गर्छन् । जीवित व्यक्तिहरूका घटना टिप्छन् । कविताहरूमा भइरहेका घटनाहरूको चर्चा गर्छन् । एकातिर विषयवस्तु र चरित्रहरू अनि अर्कोतिर कविमा एक प्रकारको दृश्य वा अदृश्य, प्रत्यक्ष वा परोक्ष सम्बन्ध देखाउँछन् । उनका अधिकांश कविता उनी बाँचेकै स्थल र समयका छन् ।

कवि हमाल एक जना साक्षीको रूपमा उनका कविताहरूमा देखिन्छन् विभिन्न र चरित्रहरूको व्यवहार-आचारको वर्णन गर्छन् । घटनाहरूको सादृश्य बयान दिन्छन्, किन्तु त्यसप्रति कुनै मानसिक र मनोवैज्ञानिक आशक्तिको सम्बन्ध देखाउन्नन् । यस अर्थमा, कवि एक जना निरपेक्ष द्रष्टा मात्र बन्छन्, इतिहासका साक्षी मात्र, घटनाहरूका द्रष्टा अनि यथार्थावादी प्रस्तुतकर्ता । कवितामा जीवनको व्यापकता र कविको सादृश्य अनुभवको वर्णन गर्छन् । वैचारिक पक्षभन्दा जीवन्त जीवनको भोगाइपक्ष अधिकांश मात्रामा व्यक्त गर्छन् । मानसिक उत्सुकताले चरित्र र घटनाहरूको रहस्य खोल्छन् ।
उनका कविताहरूको धरातल वर्तमान समाज र सामान्य जीवन हुन् अनि सापेक्षित सत्यता आधार बन्छ । प्रस्तुतीकरण मात्र कविको व्यक्तिकता र शैली । यसैले सामान्य जीवनको प्रतिबिम्ब उनका कविताहरूमा पाइन्छ । मानिसले भोगेका दुःख, वेदना, कष्ट, व्यथा, धूर्त चरित्रहरूको छलकपट, धोखा, बेइमानी, नैतिकपतन, वैचारिक जालझेललाई जीवनको अंश र प्रकृति अनि प्रवृत्तिको रूपमा स्वीकार गरेर कवितामा प्रस्तुत गर्छन् ।

यस सहरमा
सबैभन्दा सस्तो कुरा
सपना किन्न सकिन्छ – काठमाडौँ पृष्ठ ३

शक्तिको सपना देख्ने सूत्रधार वा चरित्रहरू आफ्ना लागि भिन्दै सपना बुन्छन् तर अरू दर्शक वा श्रोताका लागि सामान्य सपना बाँड्छन् । सूत्रधारहरूले बाँडेका वा देखाएका सपना जनसमूहमा आएर खण्डखण्ड भएर खण्डित बन्छन् । त्यो सपनामा जनसमूह लुछाचुडी गर्छन्, टुक्राटुक्रा पार्छन् । त्यस्तो सपना सबैभन्दा सस्तो हुन्छ, भ्रमपूर्ण हुन्छ । यसैले जीवन पक्षमा साकाररूपमा पूर्ति हुन्नन् । यस अर्थमा, अरूले देखाएको सपना वा सापट पाएको सपनाको भ्रममा अधिकांश मानिसहरू आ-आफ्नै सपना देख्छन्, सपना सस्तो बन्छ तर जीवन सापेक्ष हुन्न ।

नीलो क्षितिजमा
इन्द्रेनीले रङ भर्दै गरेको देख्छु
अरू कसैकी भइसकेकी प्रेमिकाका
सपना देख्छु । -सपना पृष्ठ २८

कवि सपना देख्छन् तर’अरू कसैकी भइसकेकी प्रेमिकाको’ अभिव्यक्तिमा चाटुकारिता तर व्यङ्ग्यात्मकरूपमा भए पनि कटुमिठो अभिव्यक्ति । सपनाको संसार आकारविहीन, अर्थविहीन, सपना केवल इच्छा-आकाङ्क्षाको अप्राप्य रूप ‘सेतो घोडा चढेर पहाड उक्लिरहेको हुन्छु’ कति मीठो भावनात्मक सपना, वर्णन र प्रस्तुति सरस र कोमल छन् । भाषा सरल छ । इन्द्रेनी र सेतो घोडाको बिम्बको अर्थ क्षणिक अप्राप्य र अभिव्यक्तिमा सरल भएर पनि पाठकको भावना प्रकम्पित गर्छ तर दुवै वस्तु जीवनको वस्तुता वा वास्तविकताबाट निकै पर, केवल भावनात्मक । यसैले सपना मात्र । यस अर्थमा, अप्राप्य वस्तुको इच्छा नै सपना, सपना अर्को पक्षमा भावनात्मक-मानसिक चिन्तन मात्र, व्यक्तिको संवेगात्मक-चिन्तनसँग सम्बन्धित । एक प्रकारको रूप-आकारहीन, अमूर्त जीवन, इच्छाको वर्णन, सपना नितान्त भ्रम मात्र तर पनि प्रत्येक व्यक्ति सपनाको इच्छा गर्छन्, सपना देख्छन् । क्षणिक भए पनि स्वप्निल आनन्दमा बाँच्छन् । सपना वस्तुगत संसारको विपरीत पक्ष मात्र, भौतिक वा सांसारिक आधार नभएको, सपना जहिले पनि भ्रमपूर्ण । कति राम्रो वर्णन- ‘इन्द्रेनीले रङ भर्दै गरेको’ जब इन्द्रेनी स्वयं सप्तरङ्गी हुन्छ, (चित्रकारहरू इन्द्रेनीबाट रङ मिश्रण सिक्छन्) । यो सौन्दर्यमयी हो, किन्तु क्षणिक भावपक्षीय तर पनि व्यक्ति वा स्वप्नद्रष्टा इन्द्रेनीबाट मानसिक आनन्द र शान्तिको अनुभव गर्छ, भावनाको संसारमा रम्छ किनभने पृष्ठभूमिमा प्रकृति छ, केही क्षणको लागि कठोरपक्ष बिर्सन्छ, इन्द्रेणी हराउँछ, सपना बन्छ ।

कवि हेम हमालले आफ्ना जीवनका अधिकांश समय-व्यवहार-साक्षीपक्ष सहरमा बिताएका छन् । यसैले उनका कविताहरूमा नागरी-जीवनको वर्णन र प्रस्तुति बहुलरूपमा पाइन्छ । सहरकै चर्चा गर्छन्, सहरकै सपना देख्छन्, सहरी मानिसका जीवनको वर्णन गर्छन् । सहरका घटनाहरू प्रस्तुत गर्छन् तर पनि उनको वैचारिक, मानसिक, दार्शनिक, वास्तविक जीवनमा सहरी सूत्रधारहरूका धूर्तता, छलकपट, धोखाधरी, बेइमानीको सम्बन्ध र आशक्ति छैन, त्यस प्रकारका चरित्र र घटनाहरूको वर्णन पाइए तापनि त्यस्ता पक्षतिर उनको मोह र संलग्नता छैन । सहरमा देखिने हुलदङ्गा, नारा, भाषण, प्रदर्शनको चर्चा शून्य प्रायः छ । राजनीतिक वादविवादप्रति नगण्य आकर्षण छ, कुनै सङ्घ, संस्थाका पक्ष-विपक्षमा सकारात्मक अनि नकारात्मक तर्क र सिद्धान्त प्रस्तुत गर्दैनन् । केवल सबै हेरिरहन्छन्, बोध गरिरहन्छन् । चरित्र र घटनाहरूको बयान मात्र बकिरहन्छन् । आफ्नै स्वच्छ र स्वाभिमानमा जीवन बिताउँछन्, फुर्सदको समय अनि भावावेगका क्षणमा काव्यगत संसारमा रम्छन् ।

मलाई यहाँ महाभारतका सञ्जयको उल्लेख गर्न मन लाग्छ, जो आफ्ना दृश्य-जगत् अनि घटनाका बयान र वर्णन मात्र प्रस्तुत गर्छन् । आफ्ना निश्चित, निर्देशित, नियतित कर्तव्य पालन गर्छन्, किन्तु यहाँ कवि हमाललाई सञ्जयसँग तुलना गर्न खोजेको वा चाहेको होइन, मात्र एक जना तटस्थ साक्षीको रूपमा कविलाई हेर्न र उनका कविताहरूको अध्ययन तथा चर्चा गर्न खोजिएको हो । उनको यो निरपेक्ष दृष्टि र कवितालेखन सायद उनको सकारात्मक पक्षीय उपलब्धि हो । कविता पक्षको काव्यगत निर्मल भाव हो । एउटा उद्धरणः-

सहरले आफ्नो अनुहार । ममा देख्यो कि देखेन । मैले भने यस सहरमा । मेरा सर्वाङ्ग, छर्लङ्ग देखेँ- सहर र म, पृष्ठ ३ ?

कवि सहरका सपना देख्छन्, सपनामा सहर देख्छन् तर सपना निन्दि्रत अवस्थाको अवश्य होइन । यस अर्थमा उनको काव्यात्मक-सपना एक प्रकारको सामाजिक वस्तुता, भोगाइ, अनुभव हो । काव्यगत-सपनामा समाज र चरित्रहरूको यथास्थिति सकारात्मक पक्ष मात्र देख्दैनन्, यसको अर्कोतिर समाजको ह्रासोन्मुख अवस्था, दरिद्रताका साथै चरित्रहरूको नैतिक अवरोह, जालझेल, छलकपट, बेइमानी, अहङ्कारी, महìवाकाङ्क्षा पक्ष पनि देख्छन् । अहङ्कारी चरित्रहरू आफ्ना स्वार्थप्राप्ति, इच्छापूर्तिको लागि अरूलाई सहिदको नाम दिएर आफ्नो लोभपूर्ण लक्षहरू पूर्ति गर्छन् । यस अर्थमा कवि समाजका विविध तर विडम्बनापूर्ण, वास्तविक तर अन्धकार पक्षको प्रस्तुति र वर्णन गर्छन् । सौन्दर्य र कुरूप दुवै समाजका पक्षहरू हुन्, दुवै पक्षको वर्णन गर्छन् । समाजको विद्रूप र कुरूपपक्ष प्रस्तुत गर्न व्यङ्ग्यवादीको रूपमा कवि देखापर्छन्ः-

-म सधैँ सपनामा ……… त्यस खोलाले । मानिसको इमान र सम्मान । बगाएको देख्छु – सपना, पृष्ठ-३०

-‘सुटकेस मेरो रित्तोरित्तो । खालीखाली, हलुङ्गो छ । बाहिरपट्ट िएउटा ठूलो स्टिकर टाँसेको- ‘विदेशी सहयोग’ भनेर’ – सुटकेस, पृष्ठ ५२

-एउटा गौँथलीको बच्चा । मरेको छ । त्यो हुनसक्छ । सहिद । हाम्रो देशको- सहिद पृष्ठ ६९ ।

एक टुक्रा इमान अड्केको थियो । त्यस झोलामा । अब ट्याक्सीमा छुट्यो । यो यात्राको सिलसिलामा – इमान, पृष्ठ ७०.

– व्यङ्ग्यको प्रस्तुतिमा पनि आक्रोश, नाराबाजी, आक्षेप, लाञ्छना, विरोधीको चर्को स्वर र भाषा छैन, बरु सामान्य वाक्यविन्यास साथ सरल भाषामा सामाजिक-सत्यताको वर्णन छ । कसैको पक्ष-विपक्षको उल्लेख वा तर्क-आलोचना छैन, वाद विवादीय विचार अनि सिद्धान्तको पक्ष वा विरोधमा समर्थन वा आक्षेप र लाञ्छना छैन । कविको काव्यभाव र अभिव्यक्ति अनि संवेग नियन्त्रित छ, प्रस्तुतीकरण तर्कयुक्त र यथार्थवादी छ । आफैँ बाँचेको समय र घटनाक्रम स्वाभाविक छ । माथि उद्धृत ‘सपना’ मा सूत्रधारको इमान र सम्मान खोलाले बगाएकोेले सङ्केत गर्छ हाम्रा महìवाकाङ्क्षी चरित्रहरूको नैतिक ह्रासको । यसैगरी ‘सुटकेस’ कवितामा प्रयोग भएको ‘विदेशी सहयोग’ एक प्रकारले कूटनीतिक-शिष्ट भाषामा प्रयोग गरिएको किन्तु साधारण भाषामा भनिने दानभिक्षाकै रूप हो तर यहाँ सङ्केत छ लौरो पनि नभाँचियोस्, साँप पनि नमरोस् । यस्ता सहयोगमा पाइने अर्थले व्यक्ति वा राष्ट्र कहाँ-कसरी सम्पन्न बन्न सक्छ, आफ्नै जोराजोरीमा आउने गरी सम्पन्न बन्न कसले पो सहयोग गर्छ ? दाताको सम्पन्नता र अहङ्कारको रूप मात्र हो, आत्मनिर्भर नभई विश्वमा कुन राष्ट्र उठेको छ ? अर्को उद्धरणमा गौँथलीको बच्चा मरेको छ । यसले सहिदको नाममा गरिने शोषणको सङ्केत गर्छ भने अर्कोतिर महìवाकाङ्क्षी चरित्रले आफ्नो स्वार्थपूर्ति गर्ने तथ्यको साथ सामाजिक-राजनीतिक वस्तुवादीको अर्थ दिन्छ । इमान व्यक्ति वा मानिसको नैतिक अनि मानसिक पक्षसँग सम्बन्धित नीतिगत-भावनात्मक पक्ष हो, एक प्रकारले यो दर्शन अनि सिद्धान्तको आधार पनि हो । यसैले इमान हराएको व्यक्तिको जीवनको धरातल पहिरोको पाखामा परेको घरजस्तै हो ।

– कवि हेम हमालका कविताहरू हिमनदीको पानीजस्तै छन् । त्यहाँ पानीभित्रको भूमिको धरातल देख्न सकिन्छ, विस्तारै सलल बगेको पानीमा आकाशको प्रतिच्छाया हेर्न सकिन्छ । त्यस पानीले तिर्खाएका व्यक्तिको प्यास मेटाउन सकिन्छ । यस अर्थमा कविताको भाषा सामान्य, अर्थ सरल र भाव कोमल छ । आफ्नै समाजका यथास्थितिको निष्पक्ष प्रस्तुति छ । कविले भोगेको सामाजिक वा जीवनका भोगाइको वर्णन गर्दा सपना बन्छ । यसैले उनका वर्तमान चेतनावस्थाको भावपक्षीय सपना हो कविको लागि । यसैले भावनामा दर्शन पाइन्छ भने शैली सरल छ, वाक्य-विन्यास सलल बग्दोछ, पाठकका भावनालाई आकषिर्त गर्छ तर विचारमग्न पनि बनाउँछ ।

कुनैकुनै कविताले पाठकको चाख र उत्सुकता आकषिर्त गर्छ, जस्तो उनका कविताहरूमा ‘पानीहाँस’ र ‘शरणार्थी’ ले पाठकहरूको भावनालाई दार्शनिक पक्षमा सोच्न बाध्य गर्छ ।

-यो नीलो आकाश । हजारौँ कोस फैलिँदै गइरहेको छ । जीवन छ र पो उड्छु पानीहाँस, पृ १०

-…. आकाश न प्रवास हो । नस्वदेश हो । स्वर्ग कुनै ठाउँ होइन – पानीहाँस, पृष्ठ ११

-आकाशबाट खसेको ताराले । कुन देशको नाम सम्झनु ! – शरणार्थी, पृष्ठ १२

राजहाँसलाई बिम्बको दृष्टिले अध्ययन गरे अनेक अर्थमा व्याख्या गर्न सकिन्छ तर वाक्याँश जीवन छ र पो उड्छु’ हृदयस्पर्शी अभिव्यक्ति हो, ‘स्वर्ग कुनै ठाउँ होइन’ एउटा सत्यता र भावपक्ष पनि हो । भौतिक संसारमा स्वर्ग भनिने भौगोलिक सिमानाको स्थल कहाँ छ ? एक प्रकारको भावना पक्ष मात्र, भावनात्मक वा काव्यगत सपनास्थल मात्र । त्यसरी नै अर्को उद्धृतांशमा शरणार्थीलाई आकाशबाट खसेको बिम्बको रूपमा लिएका छन् । आफ्ने देश छोडेर जान बाध्य भएका नागरिक वा शरणार्थी अन्य जुनसुकै देश वा शरण स्थलमा गएर बस्न सक्छ । निश्चित राष्ट्रको नाम लिएर जान र बस्न सकिन्न, आश्रयदातामा भर पर्नुपर्छ । स्वर्ग कुनै ठाउँ होइन, कुन देशको नाम सम्झनु ? वास्तवमा सुन्दर अभिव्यक्ति हुन् ।

सपनाको कुनै निश्चित धरातल, सीमा, अर्थ हुन्न, हिजोको वास्तविक भोगाइ अनि जीवनक्षण आज सपना बन्छ । पछि फर्केर सम्झन मात्र सकिन्छ, सपनाजस्तो हुन्छ, भावजगत्मा मात्र विद्यमान रहन्छन् । हाम्रा बाल्यकाल अहिले हामीलाई नै सपनाजस्तो लाग्छ । हामी बाँचेका थियौँ, भोगेका थियौँ, सत्य थियो, वास्तविक हो तर सबै वाष्पीकरण भएर गए, बिलाए, केवल सम्झनामा मात्र बाँकी छ । कति सरल अभिव्यक्ति- ‘रङ्गीविरङ्गी सपना थिए सहरका । अब सबै नीला भए अर्थात् आकाशमा विलिन भए, बाँकी केवल चेतनशील व्यक्ति मात्र छ, जसको वर्णन प्रभावयुक्त अनि सौन्दर्यपूर्ण ढङ्गमा कवि गर्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *