जीवन विनिर्मित अवस्थामा सधैँ अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरू र यसभित्रका सम्भावनाहरूले समय अनि परिस्थितिअनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रूपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ, त्यो आज पक्कै पनि हुन्न । आज म जे छु, अवश्य पनि भोलि त्यही रूपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ ? पानी बग्ने सन्दर्भ र प्रक्रिया त शताब्दियौँदेखि त्यस्तै नै छ तर त्यही पुरानो पानी फेरि त्यहाँ जति खोजे पनि भेटिँदैन, नयाँ पानीको जन्म भइसकेको हुन्छ । भनौँ न, मान्छे भने पहिलाकै छ तर उमेर भने निरन्तर ढलिरहेछ ।
अब हेर्नुहोस् न, म हिजो आफ्नो बाको नाममा रहेको जग्गामा आश्रति थिएँ, आज भने परम्पराअनुसार भागबण्डाअन्तर्गत पाएको जग्गामा विकेन्दि्रत हुन पुगेको छु । हजुरबाको पालामा जति जग्गा थियो त्यो बाको पालामा हुनसकेन । कारण अंशबण्डाको कुरूप खेलमा जग्गा क्रमशः घट्दै गयो, यसमा दाजुभाइको नै मुख्य भूमिका रहृयो । बाले हजुरबाबाट जति जग्गा पाउनुभएको थियो त्यति नै जग्गा मेरो भागमा नहुनु स्वाभाविकै हुनगयो । यसमा पनि दाजुभाइको भूमिकाकै कारण त्यस जग्गाको विभाजन अवश्यम्भावी नै थियो । टुक्रिदाटुक्रिँदै यो खण्डहरको रूपमा परिवर्तित हुँदै गइरहेको यथार्थ भोलि कुनरूपमा र कुन गन्तव्य बोकेर प्रकट हुने हो, त्यसको मूल्याङ्कन गर्ने काम सधैँ खतरायुक्त रहँदैआएको छ र यो प्रक्रिया अस्वाभाविक पनि छैन ।
हुन त बाबुबाजेको सम्पत्ति मात्र ताकेर बस्नु एक किसिमको कायरता हो भन्ने अभिव्यक्ति ठाउँ कुठाउँमा नसुनिएको होइन भलाद्मीहरूबाट । आखिर ज-जसले ठूलाठूला स्वरमा यस्ता कुराहरू भनिरहेका हुन्छन्, तिनै नै सबैभन्दा बढी यस्तो प्रकारको सम्पत्ति प्राप्त गर्न र्याल चुहाइरहेका उदाहरणहरू प्रशस्तै छन् । आदर्श एकातिर छ भने यथार्थ अर्कोतिर परिलक्षित भइरहेकै हुन्छ, यसलाई आजसम्म कसैले सकारात्मक भएर व्यावहारिकरूपमा प्रमाणित गर्न सकेको छ त ? अब तपाईं नै भन्नुहोस् त, के तपाईंले आफ्नो जिन्दगीमा यस्ता मान्छेहरू भेट्नुभएको छ ? जसले सार्वजनिकरूपमा भनेका छन् कि म अत्यन्त आत्मनिर्भर र आर्थिकरूपमा परिवारको लागि एकदमै सक्षम छु, मलाई अब बाबुबाजेको सम्पत्तिको एक टुक्रा पनि चाहिँदैन । माफ गर्नुहोला, मैले भने आजसम्म यस कुरालाई प्रमाणित गरेर देखाउने यस्ता प्रकारका महान् मान्छेहरू भेट्न पाएको छैन, भेट्ने इच्छा भने जीवन्त नै छ । एकजना दार्शनिकले भनेका छन्- ‘मान्छे जति बढी पढे-लेखेको हुन्छ त्यही अनुपातमा ऊ त्यति नै धूर्त पनि हुँदै जान्छ ।’ तपाईंलाई थाहा नै छ, शिक्षा र अध्ययनमा कति ठूलो अन्तर छ ! हो, वास्तवमा धूर्ततालाई चलाकी भनेर अर्को नाम दिँदै बच्ने गरिन्छ जुन अत्यन्तै नाटकीय पनि छ । आफ्नो राम्रो जागिर र आम्दानीको कारणले सम्पन्नताको आडमा नवधनाढ्य बन्दै गएका मान्छेहरू नै अरू मान्छेहरूभन्दा पुख्र्यौली सम्पत्तिको लोभ बढी गर्दारहेछन् भन्ने कुरा त विभिन्न सन्दर्भहरूले पुष्टि गरिरहेकै छन् । वास्तवमा त्यस्तै सम्पन्न मान्छेहरू अंशबण्डाको सवालमा झगडामा उत्रिएका उदाहरणहरू कति छन् कति ! मलाई आश्चर्य लाग्छ, ‘मरेको दिनमा सबै छोडेर जाने नै हो’ भन्ने आदर्श वाक्य बोल्ने आदर्श नायकहरू नै पुख्र्यौली सम्पत्तिको एक इञ्च छोड्न तयार हुँदैनन् । भनिन्छ नि, सबै थाहा हुँदाहुँदै पनि थाहा नपाएको अभिनय गर्नु ।
सबैले जीवनमा आ-आफ्नो भाग खोज्ने यस अंशबण्डाको डरलाग्दो खेलमा म पनि एकदिन सङ्लग्न हुनु नै थियो र भएँ । सबैको अनिवार्य उपस्थिति हुने यस खेलमा मेरो नहुने भन्ने प्रश्न नै आउँदैन, म पनि त मान्छे नै हुँ अरू चीज होइन । परम्परादेखि नै खण्डित हुँदै आइरहेको यस्तो शृङ्खलामा सामेल हुँदा आफ्नो भूमिका लगभग १० कठ्ठा खेतमा सङ्केन्दि्रत हुन पुग्यो । त्यो नै सम्पूर्ण मिलाएर मेरो भागमा परेको मैले पाउने जग्गा थियो ।
यो सम्पत्तिको नाममा मैले पाएको लगभग १० कठ्ठा खेतलाई के गर्ने ? कहिलेकाहीँ एकान्तमा मैले नसोचेको होइन । के यसबाट जीवनको मुक्ति सम्भव छ ? के यसबाट आफूले गर्न चाहेका कुराहरूको निकास निस्कन सक्छ ? अब यो लगभग १० कठ्ठा खेतले परिवार पाल्ने हो कि आफ्ना सबैभन्दा पि्रय सपनाहरूलाई साकार बनाउनतिर लाग्ने हो ? केटाकेटीलाई पढाउने हो कि अझ आफ्नो ठूलो नाम होस् भनेर त्यसलाई बलि चढाउने हो ? रोग लाग्दा उपचार गर्ने हो कि भविष्यका दिनहरूमा आउने सङ्घर्षका डरलाग्दा सागरहरूलाई तर्ने भर्याङ बनाउने हो ?
हो, वास्तवमा म अहिले यतिखेर एकदमै असमञ्जसको स्थितिमा छु । के गर्ने, के नगर्ने ? अब यो उमेरमा सरकारी जागिर खोज्न हिडौँ भने उमेरले नेटो काटिसक्यो, जागिरले पत्याउने कुरै भएन । प्राइभेट जागिर कतै खोजौँ भने धेरैजसो ठाउँमा आफूले पढाएका र सिकाएका चेला र विद्यार्थीहरू उच्चपदस्थरूपमा आसीन छन्, मलाई जागिर चाहियो भनेर जाँदा तिनीहरूले आफ्नो गुरुको बारेमा केके सोच्लान् ! व्यापार, व्यवसाय गरौँ भने शतप्रतिशत डुब्ने खतरा छँदैछ । बाबुबाजेले नै कहिल्यै नगरेको काम गर्दा त्यसलाई कसरी पार लगाउन सकिएला ! होइन, स्वतन्त्ररूपमा जीवन निर्वाह गरौँ भने जुन कुरा आजसम्म भइरहेकै छ र त्यसको लागि फेरि त्यही लगभग १० कठ्ठा खेतको आश्रयस्थलमा आफूलाई फालेर ‘मेरो परिवारलाई बचाउ’ भनेर गुहार लगाउनु छँदैछ । जन्मदेखि नै विनिर्मित हुँदैआएको यो जीवनले अब पनि कति विनिर्माणहरू देख्नुपर्ने हो !
ओह ! जिन्दगी सङ्घर्ष हो भन्थे, साँच्चै नै सङ्घर्ष रहेछ, यसबाट पार पाउनुपर्ने पो रहेछ । जिन्दगी पीडा हो भन्थे, यथार्थमा पीडा नै रहेछ, त्यसबाट मुक्त हुनुपर्ने पो रहेछ । जिन्दगीलाई कोकोले, केके भनेनन् र ? जिन्दगीलाई क-कसले पैसाझैँ गनेेनन् र ? जिन्दगीलाई कसले आँसुमा रुझाएनन् र ? जिन्दगीलाई कसले आँधीमा बुझाएनन् र ? लाग्छ, पीडाहरूलाई पनि ठूलो चुनौती हुँदो हो मलाई सम्पूर्णरूपमा आत्मसात् गर्न । मानौँ, यातनाहरू पनि डराउँदा हुन् मलाई गहिरिएर अध्ययन गर्न ।
मनमा अनेक तर्कना खेल्न थाल्छन्, त्यसबाट मुक्त हुने कोसिस गर्छु तर सक्दिन । एक मन त लाग्छ, मेरो यो लगभग १० कठ्ठा खेत गाउँको कुनै कुनामा नभएर केही राम्रो ठाउँमा भएको भए सायद जिन्दगी त्यही हुने थिएन जुन आज मसँग छ । अर्को मन लाग्छ, मेरो यो लगभग १० कठ्ठा खेत कुनै ठूलो शहरमा भइदिएको भए पनि सायद यथार्थ त्यही हुने थिएन जुन आज मसँग छ । फेरि म सोच्न थाल्छु, मेरो यो लगभग १० कठ्ठा खेत अझ कुनै विकसित विदेशी भूमिमा भइदिएको भए सायद मेरो स्थिति पक्कै पनि त्यही हुने थिएन जुन आज मेरो छ ।
मान्छेहरू मलाई भन्लान्- ‘अब त तँ लगभग १० कठ्ठा खेतको मालिक भइस् ।’
तर म भन्छु, ‘होइन, म अब लगभग १० कठ्ठा खेतको दास भएँ ।’
मान्छेहरू मलाई भन्न सक्छन्, ‘आफ्नो नाममा कुनै पनि जग्गा नै नभएका मान्छेहरूलाई अब भने तैँले जितिस् ।’
तर म भन्छु, ‘होइन, आफ्नोभन्दा धेरै जग्गा भएका मान्छेहरूका कारणले म फेरि पनि हारेँ ।’
मलाई आश्चर्य लाग्छ, वास्तवमा आफूसँग कत्ति पनि जग्गा नभएकाहरूको स्थितिभन्दा त मेरो अवश्य पनि राम्रो हुनुपर्ने हो ! म त खुसी पो हुनुपर्ने थियो ! निश्चितरूपमा आफूसँग कत्ति पनि जग्गा नभएकाहरूको तुलनामा मेरो भागमा त केही भने पनि जग्गा आएको छ, म त उनीहरूभन्दा सुुखी पो हुनुपर्ने थियो ! तर मलाई लाग्छ, केही पनि नभएकाहरूमाथि केही भएकाहरूले जति शासन चलाएका छन्, त्योभन्दा कयौँ गुणा बढी धेरै भएकाहरूले केही भएकाहरूलाई बढी शासन गरेका छन् । मेरो विशिष्ट दुःखको कारण यो पो हो कि ! तपाईं सोच्नुहोस् त ! वास्तवमा भन्ने हो भने केही भएकाहरूले केही पनि नभएकाहरूलाई जुन अनुपातमा दुःख दिन्छन्, त्यसको अनुपातमा केही भएकाहरूलाई धेरै भएकाहरूले अत्यन्तै दुःख दिएका छन्, मेरो महान् पीडाको कारण यो पो हो कि ! तपाइर्ंलाई लाग्दैन ? सायद यसै कारणले नै हो कि म भयङ्कररूपमा सङ्घर्ष गर्दागर्दै पनि पराजित भइरहेको छु । जित्नेहरू विजयोत्सवमा सामेल भइरहेछन् । सायद यस्तै अवस्थाले नै हो कि म क्रमशः कठिन लडाइर्ं लड्दालड्दै पनि हारिरहेछु, मेरो हारमा ताली बजाउनेहरूको ठूलो लश्कर हाँस्दै अघि बढिरहेको म देख्दैछु ।
म मेरो भागमा परेको लगभग १० कठ्ठा खेततिर लाग्छु । म निरन्तर आफैँलाई भनिरहेको हुन्छु, मेरो परिवारको भविष्य निर्धारण गर्ने खेत । मेरा आकाङ्क्षाहरूलाई निकास दिने खेत । रोग लाग्दा उपचार गर्ने खेत । केटाकेटीहरूलाई पढ्न पठाउने खेत । चाडपर्व आउँदा मीठो खान दिने र राम्रो लाउन दिने खेत । अरू पनि धेरै समस्याहरूको समाधान गर्ने खेत । ओह ! समस्याहरू त हजारौँ पो छन् त ! के तिनीहरूलाई लगभग १० कठ्ठा खेतले मुक्त गर्न सक्छ होला ? म पसिना पसिना भइसकेको हुन्छु । उफ ! बाधा-व्यवधानहरू त हजारौँ पो रहेछन् त, के तिनीहरूलाई लगभग १० कठ्ठा खेतले पन्छाउन सक्छ होला ? मलाई रिँगटा लागेर आउँछ । म एकछिनपछि आफूलाई शान्तसँग एकान्तमा पाउँछु, आफ्नो भागमा परेको लगभग १० कठ्ठा खेत नै अब मेरो यथार्थ हो । यसबाट भागेर जाने ठाउँ नै कहाँ छ र ? मलाई लाग्न थाल्छ, मेरो जिन्दगी विनिर्मित हुँदै यतिखेर लगभग १० कठ्ठा खेतलाई सुम्सुम्याइरहेछ । हो, विनिर्माणको यस खेलमा मेरो जिन्दगीले लगभग १० कठ्ठा खेतको आँगनमा यतिबेला आफूलाई पाएको छ ।
–-चितवन
