त्यो अलच्छिना क्षण सम्झँदा मन नै जिरिङ्ग हुन्छ । मुटु थरथर काम्न थाल्छ । जीउ शिथिल हुन पुग्छ । म संवेदनहीन हुनपुग्छु तर के गर्नु, त्यो अलच्छिना क्षण मलाई पछ्याइरहन्छ, पछ्याइरहन्छ । आँखा चिम्लँदा पनि बिझाउँछ, आँखा खोल्दा पनि बिझाइरहन्छ ।
त्यो क्षण कति निष्ठुरी र निर्दयी हुनुपुग्छ म कल्पना नै गर्न सक्दिन । एक निमेषमा त्यो क्षण कालको रूपमा देखापर्न थाल्छ । भयानक निष्ठुरी काल ।
‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ कविशिरोमणिले त्यसै भनेका होइन रहेछन् । कालको रूप कस्तो हुन्छ र कति बेला कहाँबाट टुप्लुक्क आइपुग्छ ? कसैलाई पनि थाहा हुँदोरहेनछ । चिलले चल्ला गाँजेझैँ अत्तोपत्तो नै नहुँदै टपक्क टिपेर लग्दोरहेछ । त्यो अनुभवै गर्न नहुने अनुभव मैले गर्न बाध्य हुनुपर्यो । मैले त्यो अलच्छिना क्षण झ्वाम्मै व्यहोर्नु पर्यो, टुलुटुलु हेरिरहनु पर्यो र मुटु गाँठो पारेर सहनु पर्यो ।
विडम्बना हो ! जीवनमा के के पो व्यहोर्नु पर्दोरहेछ । जो आत्मीय छ, जो आफन्त छ र जो अति मिलनसार र आँखामा राख्दा पनि नबिझाउँने छ, उसैको वियोगमा छिटृै छट्पटिनु पर्दोरहेछ, वियोग व्यहोर्नु पर्दोरहेछ र वियोग सहनु पर्दोरहेछ । ‘असल र गुणी व्यक्ति ईश्वरको पनि प्यारा हुन्छन् र छिटृै आफूसँग डाक्छन्’ भन्नुहुन्थ्यो म केटाकेटी हुँदा आमा । नभन्दै त्यस्तै त्यस्तै अनुभव गर्नथालेको छु । त्यसमा पनि आफैँ वियोगको कारक बन्नुपर्दाको पीडा झन् मर्माहत र असहृय हुँदोरहेछ, विचलित र विखण्डित पार्दोरहेछ, आत्मग्लानिले थिलोथिलो तुल्याउँदोरहेछ । दुर्भाग्यवश यस्तो अलच्छिना क्षणको म आफैँ भुक्तभोगी हुनुपुगेको थिएँ यही २०६५ कात्तिक २४ गतेको बिहान आठ बजेको कुसाइतमा । एउटी कर्मठ, जागरुक, गतिशील, सक्षम साहित्यिक स्रष्टा, मेरी अनन्य एवं आत्मीय स्नेही सहकर्मी बहिनीसँगको अत्यन्त पीडादायी विछोड त्यही अलच्छिना क्षणले निम्त्याइदिएको थियो ।
खै, त्यो क्षण म कसरी बखान गरुँ ? कल्पनै गर्न सकिरहेको छैन भने यथार्थ म कुन मुटुले वर्णन गर्नसकुँला र ? हिम्मत आइरहेको छैन । यस्तो क्षणमा अरूलाई कस्तो हुन्छ कुन्नि ? म थिलथिलो बनिरहेको छु । मनमस्तिष्क शून्य प्रायः छ । यथार्थलाई स्वीकार्न अझै सकिरहेको छैन । यस्तो पनि हुन्छ र ? म रणभुल्लमा रुमल्लिरहेको छु ।
‘तेजदाइ ! बालसाहित्य समाजको गति कस्तो होला खै ! बिग्रन दिनु त भएन नि !’ चिन्ताग्रस्त स्वर कानमा अझै गुन्जिरहेझँै लाग्छ । बालसाहित्यको जगेर्नाका लागि जुर्मुराएको उनको आकाङ्क्षालाई चकनाचुर पारिदिने त्यो क्षण मेरो आँखामा सल्बलाइरहेको छ, सल्बलाइरहेको छ । म अरू सोच्न पनि सकिरहेको छैन र भक्कानिएको मुटुले त्यस क्षणलाई अभिव्यक्त पनि गर्न सकिरहेको छैन । पीडाबोधले ग्रस्त भइरहेछ मेरो आत्मा र सम्झिरहेछु नारायणगोपालको गीतको त्यो हरफ ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ ।’ हो मैले आफ्नै अगाडि छट्पटाउँदै बेहोस् बनेकी आत्मीय बहिनीको भावहीन आकृतिलाई झल्झली सम्झँदै बाँच्नुपरेको छ मुटु गाँठो पारेर ।
हो, हामी त्यो बिहान आरुबारी जान हिँडेका थियौँ पूर्वनिर्धारित कार्यक्रमअनुसार । हुन त तीन-चार दिनअघि नै जानुपर्थ्यो हामीले आरुबारी बाबाले बोलाउनु भएअनुसार तर ती तीन-चार दिन मेरो बेफुर्सदीका कारण जान सकिरहेका थिएनौँ । ती दिनहरूमा शोणितपुर सासंक समाज, थानकोटको दोस्रो वाषिर्कोत्सव तुर्नु परेको थियो मैले । म त्यसैमा व्यस्त हुनुपरेको थियो । शनिबार त्यो कार्यक्रम सम्पन्न गरेर आइतबार बिहान आरुबारी जाने निधो भएको थियो हामीबीच ।
साढेसात बजे म शारदाजीको ढोका ढक्ढकाउन पुगिसकेको थिएँ त्यो बिहान । हामी नेपाल बालसाहित्य समाज र रमेश विकल अध्ययन प्रतिष्ठानमा आबद्ध थियौँ र सोही संस्थाहरूको काम विशेषले हामी आरुबारी जाँदै थियौँ बाबा अर्थात् रमेश विकललाई भेट्न । रमेश विकल वरिष्ठ साहित्यकार र नेपाल बालसाहित्य समाजको पूर्व अध्यक्ष पनि । हामी उहाँलाई बाबा भन्ने गर्छौँ र उहाँ पनि हामीलाई आफ्नो अभिभावकत्व आत्मीयताका साथ दिनुहुन्छ ।
‘तेजदाइ, आज अलि असन्चोजस्तो लागिरहेछ, राति निद्रा पनि लागेन । आउँछौँ भनिसकेका छौँ नजानु पनि भएन, बाबा पर्खिरहनुभएको होला ।’ मलाई देख्नासाथ उहाँले भन्नुभयो तर म पुग्दा उहाँ तम्तयार भइसक्नुभएको थियो ।
‘सन्चो नभए नजाऔँ न त ! पछि जाऔँला ।’ म सहजरूपमा भन्दै सोफामा बसेँ, सन्चो नभई कसरी जाने त !
‘हैन, तपाईं त्यहाँदेखि आइसक्नुभयो । म पनि तयार भइसकेकी छु । आज नगए ढिलो पनि हुन्छ । जाऔँ ।’ उहाँले मसक्कै आँट्नुभयो ।
‘लौ, त्यसो भए जाऔँ, बरु ज्याकेट लगाउनु हुन्छ कि ? बाहिर चिसोचिसो छ, ठण्डी लाग्ला ।’ मेरो यस सुझावलाई उहाँले आत्मसात् गर्नुभयो । बाक्लो ऊनीको कुर्तासुरुवाल उहाँले पहिले नै लगाइराख्नुभएको थियो, ज्याकेट लगाउनुभयो ।
हामी हिँडेका थियौँ पौने आठ बजेतिर मैतिदेवीबाट । मैले मोटरसाइकल स्टार्ट गरेपछि उहाँ पछिल्लो सिटमा बस्नुभयो अघिपछिजस्तै । सहकार्यको सिलसिलामा उहाँसँगको यात्रा मैले धेरै पटक गरिसकेको छु । उहाँ मोटरसाइकलमा बस्दा धेरैजसो अगाडि फर्किएर सजिलोसँग बस्नुहुन्थ्यो, सारी लगाएको बेलामा बाहेक । त्यतिबेला पनि त्यसरी नै बस्नुभयो । मोटरसाइकलमा बस्दा उहाँले कहिल्यै असजिलो मान्नुभएन, मैले पनि कहिल्यै असजिलोको अनुभव गरिन । सधैँ दाइबहिनीको सौहार्दतामा हाम्रो यात्रा गतिशील हुन्थ्यो तर त्यो दिन धेरैबेर गतिशील हुन पाएन । मोटरसाइकलको गति त्यति तीव्र पनि थिएन, लगभग बीस-बाइस कि.मि. प्रतिघण्टाको गतिमा थियो । एक त चिसो र सवारी साधनको चाप थियो । त्यसमा पनि धेरै गतिमा हाँक्ने मेरो बानी थिएन । तैपनि बीच बाटोमा अलच्छिना क्षणले तगारो हालेर बसेको रहेछ । हामीलाई के पत्तो ! चाबहिलको चारुबहाल पुग्दानपुग्दै त्यो अलच्छिना क्षणले झम्टा हालिहाल्यो उम्किनै नसक्ने गरी ।
‘ए !’ भन्ने झिनो आवाजसँगै शारदाजी सडकमा पछारिइसक्नुभएछ, लगतै मोटरसाइकल र म पनि सँगसँगै ढल्न पुगेछाँैं । के कसो भएको हो मैले ठम्माउनै सकिनँ । मोटरसाइकलले च्यापेको मेरो गोडा बल्लतल्ल झिक्दै हत्तनपत्त उठेँ र मोटरसाइकल उठाउने कोसिस गर्नथालँे । एक्लैले उठाउन नसक्दा केही बटुवाहरूले सहयोग गरिदिए । शारदाजी सडकमा लम्पसार परेको देखेर म आत्तिएँ र मोटरसाइकल छोडेर शारदाजीलाई उठाउन पुगेँ तर उहाँ बेहोस भइसक्नुभएको रहेछ । निधारबाट रगत बगेको देखेपछि त झन् आत्तिएँ म ! अनि हारगुहार गर्न थालेँ । पहिले बटुवाहरू सहयोगको हात बढाउन हिच्किचाइरहेका थिए किन हो कुन्नि ! पछि जम्जमाए । तुरून्तै एउटा खाली ट्याक्सी रोकेर बल्लतल्ल उहाँलाई उठाएर पछिल्लो सिटमा सुतायौंँ ।
‘लौ लौ तुरून्तै मेडिकेयर लिएर जानोस्’ बटुवाको समूहबाट आवाज आयो । प्रहरीहरू पनि आइसकेका रहेछन् । मैले प्रहरीले डोर्याउँदै गरेको मेरो मोटरसाइकलको पाङ्ग्रामा रातो कपडा बेरिएको जस्तो स्वाटृ देखेँ तर ठम्याउन सकिनँ । मेरो ध्यान पूर्णतः शारदाजीमा थियो ।
‘मोटरसाइकल हामी राख्छौँ । तपाईं गइहाल्नोस्’ भन्ने आवाजसँगसँगै म ट्याक्सीको अघिल्लो सिटमा बस्न पुगें । ट्याक्सी गुडिहाल्यो ।
‘यहाँ उपचार हुनसक्दैन, अन्त लानोस् ।’ मेडिकेयर अस्पतालको ढोकामा पुग्नासाथ स्वास्थ्यकर्मीहरूले ट्याक्सी चालकलाई भनेको सुनें । ‘प्राथमिक उपचार त गरिदिनुहोस् त्यसपछि अन्त लानुपरे लगौँला’ भन्ने मेरो आग्रहले काम गर्यो । स्वाथ्यकर्मीहरूले स्ट्रेचरमा राखेर शारदाजीलाई भित्र लगेर उपचार गर्नथाले । म स्वास्थ्यकर्मीहरूले भनेअनुसार औषधि किन्दै दिनथालेँ । होसमा आएपछि त शारदाजीलाई निको भइहाल्छ, केही हुँदैन भन्ने लागेको थियो ।
तर मन स्थिर हुनसकेको थिएन । म एक्लो थिएँ । ककसलाई खबर गर्ने भन्ने हेक्का नै भएन । सुरक्षाकर्मीहरू पनि आइसकेका रहेछन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको जिज्ञासाको उत्तर दिन थालेँ ।
‘उनी मेरी बहिनी हुन् । हामी आरुबारी जाँदै थियौँ मोटरसाइकलमा । उनी पछाडिको सिटमा बसेकी थिइन् । चाबहिलमा उनी अचानक मोटरसाइकलबाट खसिन् ।’ आदि उनीहरूले सोधेका यावत सवालको जवाफ दिँदै रहेँ । नाम र ठेगाना दिएँ, उनीहरुले टिपे । त्यतिबेलासम्म कसैलाई पनि खबर गर्नसकेको थिइनँ ।
‘तपाईंहरूका आफन्त कोही आइपुगे ?’ भन्ने सवालले म झसङ्ग भएँ । कसलाई खबर गर्नुपर्ने हो हडबडमा ठम्याउनै सकिनँ । झटृ विश्वम्भर दाइलाई सम्झेँ । अनि विश्वम्भर दाइ र सौरभलाई फोन गरेर दुर्घटना भएको खबर दिएँ । शारदाजीको छोरी सुयशालाई पनि फोन गर्न खोजँे तर उनको मोबाइल नम्बर मसँग थिएन । उनी बिहानै क्याम्पस गएकीले घरमा कोही पनि थिएनन् । अधीर मन थाम्न सकेको थिइनँ । चिकित्सकहरूको बेलाबेलामा ‘हामी प्रयास गर्दैछौँ त्यति प्रगति हुनसकेको छैन ।’ भन्ने भनाइले मलाई झन् शिथिल तुल्याउँदै थियो । सहाराको लागि साथीभाइ र आफन्त पनि आइपुगेका थिएनन् । झट्ट ज्योति बहिनी (ज्योति अधिकारी) लाई सम्झेँ जो शारदाजीकी देवरानी हुन् र छिमेकी पनि । संयोगवश उहाँको फोन नम्बर मसँग रहेछ । फोन गरेँ । तुरून्तै आइपुग्ने आश्वासन पाएपछि लामो सास फेरेँ ।
मलाई लागेको थियो यो सामान्य घटना हो । शारदाजीलाई पनि केही हुने छैन । उपचारपछि ठीक भइहाल्नेछ तर शारदाजीको अवस्था चिन्ताजनक हुँदै गएछ । होस आउनै सकिरहेको रहेनछ । चिकित्सकहरू उपचारमा दिलोज्यानले लागेकै थिए । म किम्कर्तव्यविमूढ हुँदै अस्पतालको करिडोरमा ओहोरदोहोर गरिरहँदा शारदाजी छिटृै तङ्गि्रउन् भन्ने मेरो आन्तरिक अभीष्ट पुराइदिन अन्ाायास म ईश्वरलाई स्मरण गर्न पुगेँछु । यस्तै आपत्-विपत्मा त होला ईश्वरलाई सम्झने मान्छेहरूले । हुन त शारदाजी आस्थावान हुनुहुन्थ्यो ईश्वरप्रति । ईश्वरकै न्यासध्यानमा उहाँको विश्वास थियो । ओशो धर्ममा आस्थावान् शारदाजीले छोटै समयमा आचार्यसम्मको दीक्षा पूरा गरिसक्नुभएको थियो । ध्यानबाट नै मुक्तिको कामना गरिरहने उहाँले मलाई पनि यस मार्गमा लाग्न पे्ररणा दिने गर्नु हुन्थ्यो ।
एक पटक उहाँले केही साहित्यकार साथीहरुका लागि विशालनगरस्थिति ओशो आश्रममा एक दिने ध्यान शिविरको पनि व्यवस्था गर्नुभएको थियो उहाँकै सक्रियतामा । म र अरू केही साहित्यिक बन्धुहरु पनि त्यस शिविरमा सहभागी हुनपुगेका थियौँ । तैपनि म त्यसमार्गमा लाग्न आफूलाई योग्य ठानिरहेको थिइनँ । हुनसक्छ यस्तै प्रेरणाले त्यतिबेला झटृ ईश्वरलाई सम्झन पुगेको ? अथवा सानैदेखिको ममा व्याप्त भएको हिन्दू संस्कारले हो ? जे होस् मैले शारदाजीको सुस्वास्थ्यको कामनाका लागि ईश्वरको स्मरण गरिरहेँ । मसँग अर्को विकल्प पनि त थिएन, कामना गर्नु सिवाय !
केही बेरपछि साथीभाइ, इष्टमित्र, आफ्न्तहरू एकएक गरेर आउन थाले । ज्योतिबहिनी श्रीमान्का साथ आइपुग्नुभयो । उहाँहरूले सुयशा, शारदाजीका बुबामुमा र आफन्तलाई पनि खबर गर्नुभयो । शारदाजीको अवस्था प्रतिक्षण क्षीण हुँदै गएकोमा चिकित्सकहरू पनि चिन्तित हुनथाले । बिरामीको लागि आवश्यक पर्ने चिकित्सा उपकरणको अभावले त्यहाँ बढी उपचार गर्न सम्भव नभएकोले अन्यत्र लानुपर्ने कुरामा जोड दिनथाले । उपकरण सुलभ भएको अस्पतालको खोजी हुनथाल्यो । विश्वम्भरदाइ, भान्जा राजु (सुनिल बानियाँ), भाइ रामहरि, शारदाजीका आफन्तहरू आदिको प्रयासबाट बाँसबारीको न्युरो अस्पताल लाने व्यवस्था मिल्यो । अनि स्वास्थ्यकर्मीको सहभागितामा अक्सिजनसहित शारदाजीलाई न्युरो अस्पतालमा लगियो ।
औपचारिकता निर्वाह गर्ने क्रममा म भने गौशाला प्रहरी विटमा पुर्याइएँ । त्यहाँ भवितव्य दुर्घटनाको औपचारिक जाहेरी गरेर म अस्पताल पुगेँ । बाँसबारी अस्पतालमा पुग्दा आफन्त र साथीभाइको जमघट ठूलै भइसकेको थियो । शारदाजीको उपचार चल्दै थियो । केही समयपछि चिकित्सकहरूले मलाई र शारदाजीका आफन्तलाई बोलाएर शारदाजीको चिन्ताजनक अवस्था र गर्धनमा ठूलै चोट लागेको टाटोसमेतको एक्सरे देखाएर सल बेरिएका कारण गर्धनको नसा चुँडिएकोले स्वस्थ हुने सम्भावना ज्यादै न्यून भएको जानकारीसमेत दिए । म झन् विहृवल हुनपुगेँ । सुयशालाई पनि जानकारी दिइएछ ।
अन्ततः त्यो अलच्छिना क्षणले जित्यो । अझ भनौँ त्यो निष्ठुरी कालले जित्यो । शारदाजी अनन्तमा विलिन हुनुभएको औपचारिक घोषणा भयो । मृत्युसँगको सङ्घर्ष उहाँले व्यहोर्नुभयो तर अभिव्यक्त गर्ने अवसर नै पाउनुभएन । उहाँ सदाका लागि ब्रहृमलीन हुनुभयो । सम्भवतः उहाँले मुक्ति प्राप्त गर्नुभयो तर उहाँ टुहुरी सुयशालाई झन् टुहुरी तुल्याएर अचेत अवस्थामै जानुभयो । हामीलाई छलेर जानुभयो । झुक्याएर जानुभयो । पत्तो नै नदिएर जानुभयो । हुन त उहाँको झुक्याउने बानी पटक्कै थिएन । उहाँ स्पष्ट वक्ता हुनुहुन्थ्यो । लप्पन-छप्पनविनाको व्यवहारकी धनी हुनुहुन्थ्यो । हामीलाई विश्वास नै थिएन यसरी उहाँले हामीलाई झुक्याएर चटक्कै छोडेर जानुहुन्छ भनेर तर के गर्नु ? जानुभयो हामीलाई झुक्याएरै ।
म छम्किएँ, म झुक्किएँ नराम्ररी ! सहयात्राको क्रममा मलाई कुनै सङ्केत नै नगरी कसरी झुक्याउन सकेकी ? म अझैसम्म बुझ्न सकिरहेको छैन । उहाँ मोटरसाइकलबाट कसरी लड्नुभयो ? लेगगार्डसमेत भएको मोटरसाइकलको पाङ्ग्रामा आफूले ओडेको सल अड्किँदासम्म पनि उहाँले कसरी चाल पाउनु भएन ? सायद उहाँ ध्यानमग्न त हुनुभएको थिएन ? अथवा विसन्चोको कारण ध्यान पुर्याउन सक्नुभएन कि ? खै, म यस्सै भन्नसक्ने अवस्थामा छैन । न मेरै असावधानी पो थियो कि ? यस्तो दुर्दशा र अकल्पनीय भवितव्य सिर्जना हुनुमा मआफैँ निमित्त बन्नुको नियति बुझ्नसकेको छैन । सायद मेरै नियति खराब थियो ? र त, सबैको सद्भाव र सहानुभूति रहँदारहँदै पनि चार रात प्रहरी हिरासतमा कुच्चिएर नारकीय जीवन भोग्न बाध्यसमेत हुनुपरेको थियो ।
त्यो अलच्छिना क्षण नआइदिएको भए एउटी स्नेही बहिनी, नेपाली साहित्यकी चम्किलो तारा, छात्रछात्रकी प्यारी शिक्षिका, धार्मिक आस्थाकी कर्मठ उपासिका, नेपाली बालसाहित्यकी गतिशील स्रष्टा एवं सुयशाकी ममतामयी जननी शारदा अधिकारी (ढकाल)लाई हामीले असमयमै गुमाउनुपर्ने त थिएन ।
धिक्कार छ त्यो अलच्छिना क्षण !
धिक्कार छ त्यो अलच्छिना भवितव्य !
र धिक्कार छ त्यो नियति !
२०६५ पुस १
शोणितपुर, चुनिखेल
