एक जना दुर्मुख मित्रले एक बिहान फोनमा भने “सर, कलैया आउने होइन ?”

कलैयाको नाम सुन्नासाथ एक्कासि जीउमा काँडा उम्रन थाल्दछन्, मुटु कुड्किन थाल्दछ, मनस्थिति अनायास ऐंठन परेर बटारिन/हुँडलिन थाल्दछ र अगाडिबाट कुनै हिंस्रक पशु उभिएर सातो लिन थालेझैँ लाग्छ ।

कुनै जमाना थियो- कलैयाको नाम सुन्नासाथ जीउमा अचानक हर्ष र खुसीका लहरहरू दौडन थाल्थे । मनभित्रका कुण्ठा, काई र क्लेशलाई पाखा लगाएर आनन्द एकटङ्कार ओठका डिलडिलमा कुल्चेर दौड्न थाल्यो र नाम सुन्न अथवा सम्झनासाथ खुट्टा उचाल्दै गन्तव्यतर्फ दृष्टि दौडाउन पुग्दथेँ ।

बारा जिल्लाको सदरमुकाम हो कलैया तर यो एउटा ठाउँको नाम मात्र नभएर, एउटा जिल्लाको सदरमुकाम मात्र नभएर, औद्योगिक नगरीमा रूपान्तरित हुने सपना बोकेर ब्यूँझिन थालेको नगर मात्र नभएर मेरालागि मक्का मन्दिरसरहको पवित्र तीर्थस्थल बनिरहेको थियो, पावनभूमि बन्न थालिरहेको थियो, सिर्जना साधना बौद्धिक चेतना विकासको उर्वर तपोभूमि बन्न थालिरहेको थियो ।

किनभने कलैयालाई अन्तरहृदयबाट स्पर्श गर्दै, अगाध माया, स्नेह र सदाचारले छपक्क छोपेर सदैव माथि उठाउन उद्यत हुनु हुने स्रष्टा डा. केशव उपाध्याय, निर्मोही व्यासको वासस्थल, उहाँहरूको उत्साह, आँट र अठोटमा विनाशर्त, विनापूर्वाग्रह होस्टे र हैंसे गर्न अग्रसर हुने स्रष्टा रामकृष्ण काफ्ले, अमर त्यागी र जुनु क्षेत्रीले कर्मभूमि बनाएको थलो अनि आदरणीय अग्रज ताना शर्माले टेकेको धर्ती, मदनमणि दीक्षित घुमेको सेरोफेरो, राजेन्द्र सुवेदी, वासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, चूडामणि बन्धु, घटराज भटराई, शरदचन्द्र शर्मा, पारिजात, सुधा त्रिपाठी, राजेन्द्र विमल, तुलसी भट्टराई, गोविन्दराज भट्टराई आदि सहस्र साधकहरूको कोमल चरणले स्पर्श गरेको निर्मल भूमि । मेचीदेखी महाकालीसम्मका प्रभुद्ध बौधिक व्यक्तित्वहरूलाई एकै ठाउँमा जोडेर मैतृत्व र आत्मीयताको न्यानो सन्देश फिजाउन क्रियाशील संस्था देवकोटा स्मृति सभा गठन भएको ठाउँ ।

देवकोटा स्मृति सभाको स्थापना र महाकवि देवकोटाको प्रतिमा अनावरण समारोहमा कथुरे कारणवश उपस्थिति हुन सकिन । त्यसको दम्को र पछुतो अहिले पनि मनमा पिल्लिएर बसेको छ ।

अन्य साधकहरूसँग पछि पनि भेट भयो तर त्यस कार्यक्रममा प्रमुख अतिथि भएर आउनुहुने तत्कालीन राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. ईश्वर बरालसँग भेट गर्न नसकेकोमा भने धेरै खुट्को लाग्यो, थकथकी लाग्यो पछिसम्म पनि ।

देवकोटा स्मृति सभाको माध्यमबाट धेरै कुरा सिक्ने, बुझ्ने र पढ्ने मात्रै होइन धेरै जीवित स्रष्टाहरूसँग सम्पर्क, चिनाजान र श्रद्धा अर्पण गर्ने मौका पाएँ । उहाँको निश्चल माया र आशीर्वादले गर्दा कुहिरोको काग बनेर दिशाहीन हुँदै टेढोमेढो बनेको आफ्नो लेखनशैलीलाई, खार्दै, अर्जाप्दै लाइनमा डिक बसाएर लेख्न सिकेँ, अध्ययन र अभ्यासको महìव बुझे, कुनै पनि विषय-कथन वा घटनालाई वस्तुवादी ढङ्गले पर्गेल्दै उतार्ने आधार सिकेँ, साहित्यिक यात्रामा अविश्रान्त लाग्ने उत्साह, हौसला र प्रेरणा पनि पाएँ, जसले गर्दा दुर्भेद्य र कठिन लागेर कचल्टिन पुगेको मनको अँध्यारो पाटोलाई निर्वाध, निशङ्कोच र निरपेक्ष पाराले उघार्दै सतहमा टेक्न सकेँ ।

कलैयासँगको साइनो बहुआयामिक रहे पनि साहित्यिक यात्रामा उडन्ते पाराले बाँकटे हान्दै आफ्नै मुढेबल र लिँडेतर्कको बलमा अगाडि बढ्न उत्प्रेरित मजस्तो अल्लारे भनौं पुङमाङे भावुकता भएको आलो काँचो ठेट्नाले डा. केशव उपाध्याय र निर्मोही व्यासजस्ता प्रभावशाली सरस्वतीका उपासकहरूको स्नेह र सानिध्य पाउनु नै मेरोलागि स्तर सुधारेर अगाडि बढ्ने वरदान हुन पुग्यो ।

कलैयासँग मेरो घनिष्ट आत्मीय सम्बन्ध राम्रोसँग फक्रन नपाउँदै केशव सर काम्लो-कुटुरो बोकेर नयाँ बासको खोजीमा उकालो लाग्नु भए पनि उहाँको मन, कर्म र कलैयामा चलाउनुभएको साहित्यिक जागरण अभियानलाई तीव्र पार्ने अठोट र अभिलाषा कलैयाकै माटोमा छोड्नु भएको हुँदा कलैयाप्रति झन् मोह बढेर गयो । त्यसमा पनि उहाँले कलैया छोड्नु भएको तुष मनमा अलिकति पनि पस्न नदिई मनभरि वाशन्ती माधुर्य छचल्काएर हृदयस्पर्शी स्नेह र वात्सल्यले छपक्क छोप्दै दाजु निर्मोही व्यासले सद्भाव, सदासयता, शालीनताको पौल उरालेर माया गर्नुभएको हुँदा कलैया कलैया मात्र नभएर श्रद्धाको पर्याय बन्न थालिरहेको थियो, अन्तरचेतनामा ।

साहित्यिक कार्यक्रममा मात्र नभएर फुर्सद मिलेको कुनै पनि क्षण टपक्क झोला टिपेर निर्मोही व्यासको ढोका ढकढक्याउन टुप्लुक्क पुग्दथेँ । व्यास दाजुको मुस्कान र वाणीमा आकर्षणको खै कस्तो कालो जादु थियो, उहाँ हाँस्दा पनि, रिसाउँदा पनि, झोक्किँदा पनि, उफ्रिंदा पनि मन खुम्च्याउनुको साटो मुग्ध हुन पुग्थे । उहाँ खुसी हुनुभन्दा पनि रिसाउनु भए हुन्थ्योझैँ लाग्दथ्यो । उहाँ रिसाउँदा आफ्ना कमी-कमजोरीहरू छर्लङ्ग देख्न पाइने हुँदा त्यो लोभ सधैँ मनमा रहिरहन्थ्यो । घण्टा-पहर मात्र होइन उहाँको निश्चल भावनाको तातो स्पर्शले छोप्तै लगेपछि कैयौँ दिन र रातहरू उत्सुकता, जिज्ञाशा र साहित्यिक संवादसँग साटेर गद्गदिन पुगेको पनि छु । विलक्षण प्रतिभा भएको वेदाग साधक उहाँ । अभ्यासिक प्रतिभाको छिपछिपे तरङ्गमा आहाल बसेको मान्छे, म । आदिम साहित्यदेखि वर्तमान साहित्यसम्मका विभिन्न वाद, सिद्धान्त, प्रयोग, शैली, मोड र विवेचनाको सप्तगण्डकीमा डुब्दै-उत्रँदै गर्दा घाम डुबेको, रात बितेको पत्तै पाउदिनथँें । कहिलेकाहीँ उहाँको वेगवान् वाचाल गतिलाई पछ्याउन नसकी मीमांसाका जटिलतम पहेलीहरू सर्केर निस्सासिन पुग्दथेँ । उहाँ फरक्क फकर्ंदै डुबेर निस्सासिन पुगेको ठाउँमा आइपुग्दै सातोलाई साविकमा नल्याउन्जेल थुम्थुम्याउन थाल्नुहुन्थ्यो । वागदेवीको वरद हस्त शिरमाथि भएर नै त होला आफ्ना सिर्जनाहरूलाई सर्वव्यापी बनाउने सन्दर्भमा पाठकको मन र मुटुलाई लठ्याउन सजिलै सक्नुभएको । शैली र प्रस्तुतिको आकर्षक प्रवाहले मेरो मनलाई सधैँ उडाइदिनुभएको छ । लेखनको क्षेत्रमा मात्र हैन अध्ययन पनि लोभ लागेको छ मलाई । मुर्धन्य साधकहरूका उत्तमोत्तम धेरै कण्ठस्थ कविताहरू सुनेको छु उहाँबाट । यसले गर्दा पनि साहित्यिक प्रसङ्ग उठ्नासाथ म आफ्ना लुरे प्रयासहरूलाई तानतुन पार्दै सही थप्न पुग्दथेँ ।

यी त आन्तरिक कुराहरू भए । उहाँसँग गाँसिएका अनगिन्ती जिउँदा प्रसङ्गहरू छन् मेरो स्मृतिमा ताजै बसेका अझै पनि । त्यसलाई यति सानो आलेखमा समेट्ता बेइमानी गरेको जस्तो लाग्ने हुनाले म मूल प्रसङ्गतर्फ सोझिन्छु ।

दुई कुरा कलैयाको मणिको रूपमा स्थापित भएका थिए । भवानीपुरको चोकमा महाकवि देवकोटाको सालिक स्थापना र देवकोटा स्मृति सभा एउटा हो भने अर्को प्रतिभा सम्मान देवकोटा व्याख्यानमाला ।

अस्तित्व साहित्य परिवार नामक एउटा लिखे संस्था हामीले पनि स्थापना गरेका थियौँ रौतहटमा । र्याल-सिंगान काढेर दुई चारवटा साहित्यिक कार्यक्रम गरी पनि टोपल्यौँ । भाषा र साहित्य संस्मरण-सम्बर्द्धन र विकासका निम्ति कटिबद्ध हुन खोजे पनि परिवारमा आबद्ध केही व्यक्तिले मात्र गाँस काटेर चासो देखाएका हुँदा थिगिरिएर उठ्न सकेनौं । सरकारी संयन्त्रका स्वामीहरू बाप बैरी बनेका र सङ्घ-संस्थानका मठाधीसहरूको सौतेनी व्यवहारले हामी टिक्न सकेनौं । सर्वसाधारणसँग याचना गर्दा साहित्यको नाम सुन्नासाथ झुसिलो अनुहार लगाएर पोल्ठामा नै उल्टी गरेझैँको व्यवहार र मुन्टो बटार्दै उपहास गरेर खिल्ली उडाउने प्रवृत्तिदेखि आहत हुँदै थाक्यौँ । निरन्तरता दिन सकेनौं । बीचैमा छेपारी खुस्किएर घ्याच्च बस्न पुग्यो संस्था । केही दिन रन्को नमरुन्जेल छेउछाउ बसेर पाहाझैँ फिटफिटायौँ । मनमा धङधङी खुट्टीमा मासी घट्न थालेपछि पाखा लाग्यौँ । बस सकियो ।

न त हामीले कसैलाई प्रभाव पार्न नै सक्यौँ । न त कसैले हामीलाई पत्याए ।

साहित्य पनि त्यति दरो प्रतिनिधिरूपमा रौतहटबाट उठ्न सकिरहेको थिएन । आफ्नै छिमेकी, आफ्नै सहकर्मी, आफ्नै छिमलका गाउँलेहरूको पनि मन जित्न सकेनौं, विश्वास दिलाउन सकेनौं, भरोसा र उत्साह जगाउन सकेनौं, बित्ता दुएक पर पाइला सार्न नपाउँदै सुकेनासले समातेर थलापर्यौँ । त्यसकारण पनि हाम्रो प्रयास पानीमा चोवलेको अगुल्टोजस्तै हुन पुग्यो ।

पछि निर्मोही व्यासको साहित्यप्रतिको निष्ठा, समर्पण र जागरुकता देखेपछि लाग्यो-केवल चाहना, जिज्ञासा र चासो भएर मात्र साहित्यको विकास हुँदोरहेनछ । साहित्य उत्थानका निमित्त त जीवन नै उत्सर्ग गर्न सक्नुपर्ने आँट र अठोट हुनुपर्दोरहेछ ।

बगरमै भए पनि खान पुग्ने फगटाहरू उर्वर थिए, मेरा वस्तुभाउले सानोतिनो गर्जो पनि टारी दिन्थे बेलाबेलामा । व्यास दाजुको त त्यो पनि देखिन । घरभरि खाने मान्छे, कमाउने उहाँ मात्रै । बढेका छोराछोरी घर खर्च, स्वास्थ्य खर्च यी सबै त्यही एउटा जागिरमा निर्भर थियो । त्यस्तो संवेदनशील घडीमा पनि देवकोटा स्मृति सभाबाट गरिने विविध र बृहत् कार्यक्रमका निमित्त दिन नभनी, रात नभनी घरी मकवानपुर, घरी भरतपुर, घरी रौतहट, पर्सा त उहाँको पानी पधेरो नै भयो, कुद्दै र कठाङ्गि्रदै ओहोरदोहोर गरी भोक प्यासलाई थाती राखेर कार्य सम्पादन, त्यो पनि सफलतापूर्वक गर्नुभएको सहभागीहरूले देखेका पनि छन्, भोगेका पनि होलान् ।

देवकोटा स्मृति सभा कलैया मोफसलको प्रभावशाली र प्रेरणादायी दरो संस्थाको रूपाकृति लिएर उकाली लागिरहेको थियो । अस्तित्व परिवार कुपोषणले अपाहिज बनिसकेको थियो, अलिना खबटे सपनाहरूको तुइन चढेर देवकोटा स्मृति सभासम्म पुग्ने सोच लुकाएर राखेको थिएँ ।

राजनीतिलाई सैहृय भएनछ । भाषा, कला, संस्कृति र साहित्य राष्ट्र पहिचानका उज्याला गहना नभएर व्यक्ति अथवा जाति विकासका बलिया आधार ठानिन थालेपछि टोपी, रगत र कहालीले एक्कासि लफक्क भिज्न पुग्यो कलैया । मान्छेको व्यक्तित्व, प्रतिभा, योगदान, ज्ञान, क्षमता, सीप सिर्जना, चरित्र हेरिएन, फगत जाति हेरियो, छाला हेरियो, सम्प्रदाय हेरियो ।

कालाहरूको माझमा ठिङ्ग उभ्याइएका देवकोटाको पाषाण मूर्ति अचानो बन्न पुग्यो । बीच बाटोमा देवकोटा गजधम्म बसिदिएका हुनाले भाषाको, जातको, साहित्यको अवमूल्यन भएको, हेपिएको, थिचिएको, अवरोधको तगारो बनी तेर्सिएको ठानी पैशाचिक कर्ममा निर्लिप्त केही निशाचरहरूले बञ्चराको पासोले हानीहानी ढुङ्गाको ढाड भाँच्ने दुश्चर कर्म पारायण गरे ।

कत्रो हर्ष, कत्रो जोश र उमङ्गका साथ हजारौँ ठाउँमा हात पसारेर, पोल्टो थापेर, झोला बोकेर स्थापना गरिएको अमर स्रष्टाको सालिक टुक्रा-टुक्रा पारी टाउको भाँचेर फ्याकेको नालामा देखेपछि सिर्जनशील लेखक, त्यसमा पनि निर्मोही व्यासजस्ता तपस्वीहरूमा कति ठूलो बज्रपात पर्यो होला, मुटु कति टुक्रियो होला, मन कति धाँजा-धाँचा परेर फाट्यो होला । यो त अनुभूत गर्ने कुरा हो, अनुमान गर्ने विषय होइन ।

दाजु निर्मोही व्यासलाई धेरै नजिकबाट चिनेको हुँदा त्यस संवेदनशील घडीपश्चात् उहाँको छातीमा कहिले नमेटिने खालका वेदना, पिर र उकुस-मुकुस अनि अवशापका अनगन्ती आला खतहरू देख्ता गहभरि आँसु आए ।

त्यो विषाद, त्यो छटपटी, त्यो अपमान सहन नसकी एकदिन पाईपाई र थोपाथोपा गरेर आर्जन गरेको जीवनभरिको कमाईको बसोबास चटक्क छोडेर आवश्यक कुम्लो-कुटुरो काखीच्याप्तै व्यास दाई उकालो लाग्नु भएपछि कलैयाको ज्योति झ्याप्प निभ्यो । चारैतिर अन्धकार छायो । आस्था उरालेर अभ्यर्थना गरेको ठाउँमा छट्टुस्यालहरूको हुइँया मात्र सुन्न थालियो ।

यी तिनै दुःशासन थिए जो दिनभरि भवानीपुरमा गएर चेपारो घस्ने गर्थे र रातभरि मोर्चाको तलुवा चाट्तै टोपीहरूको टाउको गन्न पुग्दथे, दिनभरि मानवाधिकारको कुरा गर्थे र रातभरि नजिकको गोरा छालाको गर्धन हेर्दै खुँडा अर्जाप्न थाल्दथे, दिनभरि मैतृत्वको र मातृत्वको राग अलाप्थे र रात परेपछि अदना चेलीहरूको हरण गर्न तम्सिन्थे, दिनभरि साहित्यको वकालत गर्दथे र रातपरेपछि वागदेवीका उपासकहरूलाई लखेट्ने तानावाना बुन्न पुग्दथे । यस्ता दुराचारी, पाखण्डी नरपशुहरूको चिन्तन, चरित्र र कार्य छर्लङ्ग देखेपछि मान्छे देख्ता, नाम सुन्दा मात्र होइन छाला सम्झँदा पनि दिङमिङ लाग्न थाल्दछ, पेट हुँडलिन पुग्दछ र उल्टी आउन थाल्दछ ।

धेरैबेरसम्म फोन संवाद बन्द भएपछि उनले अनुनको स्वरमा भने- “किन नबोल्नुभएको, के भयो सर !”

हुने हुनामी त भइसकेकै थियो । अब बाँकी बसेको नै पो के थियो र ? ऊ व्यभिचारी भयो भनेर आफू हुने कुरा पनि भएन । औपचारिकता निर्वाह गर्नको लागि निर्मोही व्यासको गजलका दुई पङ्क्ति सम्झदै भनें- ‘हाँसू हाँस्न सकिएन, रोऊँ रुन सकिएन टुक्रा-टुक्रा भयो मन टाल्न सिउन सकिएन ।

-निर्मोहीनगर, चन्द्रनिगाहापुर-१
रौतहट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “……रोऊँ रुन सकिएन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *