Skip to content

विविध-विधा

अरुको बगैंचाको सुन्दर रैछ फूल मन पर्यो

अरुको बगैंचाको सुन्दर रैछ फूल मन पर्यो
वसन्ती रुप हाँसझैं हिडाइले मेरो मन हर्यो।।१।।

उडेर आइ बस्यो चरी मेरो दिलको आँगनीमा
भरिएका भाव पोख्दै खोजी गर्दै उन्को मन चर्यो।।२।।

हुर्काएको अरुले नै गर्दै गाह्रो साह्रो दुःखसाथ
टिप्न खोज्दै भेलबाढी ठुलो कोशी नदी मन तर्यो।।३।।

छेक्न ठुलो पर्खाल बनोस् समाज पक्कै नाग्नेछु
सुस्तरी उनलाई भेछ्न महल तिर यो मन सर्यो।।४।।

उनको दिलको पाखामा रोहित फूल्नुपर्छ भन्दै
मलिलो तिम्रो दिलमा ‘रोहित’ले फूल्न मन पर्यो।।५।।

दिलका याद तृष्णाहरु मेटाउनलाई के गरुँ म

दिलका याद तृष्णाहरु मेटाउनलाई के गरुँ म
स्वार्थी रैछ्यौ छाडेर गयौ तिमी अब आँखा के तरुँ म।।१।।

हाँस्दै सँगै रम्दै मज्जा गरेर मायालूले छाडेपछि
निष्ठुरीको पछि पछि अब लागेर बामे के सरुँ म।।२।।

सानोमा त दुलाहा दुलही सँगै हामीले खेलेकै हो
बगेको खोला फर्केर आउला भनि भर के परुँ म।।३।।

रित्तो देख्छु दिल यो खाली भर्न मन लागेर मायाले
असल चाला स्वभाव भाका कुन फूलले के भरुँ म।।४।।

भिन्न पात्र अनौठो छाँटले नदी एक्लै तर्नलाई गाह्रो
नाना बाहना गरी भित्रभित्रै पलपल के मरुँ म।।५।।

दुई वर्षमा नै उनले माया अन्तै जोडी गइन्

दुई वर्षमा नै उनले माया अन्तै जोडी गइन्
सरुवाको बाहानामा उनले वाचा तोडी गइन्।।१।।

साँच्चै छाडेर गइन् भौगोलिक सिमा पार गरी
जिवनका अप्ठारा सबै घुम्तीहरु मोडी गइन्।।२।।

आत्मा एकै धड्कन हाम्रो भन्दै सपना देखाइ
एक्लै पारेर बिच बाटोमा झुक्याई छोडी गइन्।।३।।

उन्कै लागि भरिएको हृदयको घैंटोभरी माया
सुखले पट्टी बाँधी आँखा त्यही घैंटो फोडी गइन्।।४।।

जति हेरे नि हेरौ हेरौ लाग्ने मोरी कस्ती काली

जति हेरे नि हेरौ हेरौ लाग्ने मोरी कस्ती काली
तानी बाहूमा बेरौ बेरौ लाग्ने मोरी कस्ती काली।।१।।

नशा कस्तो रुपको उन्को भुतुक्कै भए नि म त
सितालाईझैं हरौ हरौ लाग्ने मोरी कस्ती काली।।२।।

हृदयमा राखे उन्लाई मन पराई सके मैले
उन्कै भरमा परौं परौं लाग्ने मोरी कस्ती काली।।३।।

मिनाक्षी नयन उनका मन्ध मुस्कान अझै राम्रो
उनकै निम्ती मरौं मरौं लाग्ने मोरी कस्ती काली।।४।।

बगैंचामा कस्तोसँग फूल लोभाएर फक्रिएको
बोटै मनमा सार्यौ सार्यौ लाग्ने मोरी कस्ती काली।।५।।

बिहानीको लाली किरण उज्यालो छरी तिमी आयौ

बिहानीको लाली किरण उज्यालो छरी तिमी आयौ
बसन्ती रुपमा चाह मेट्न नशा छरी तिमी आयौ।।१।।

बैंशालू यौवनले मत्त रुपले झनै राँकिएर
कस्तुरीझैं बिना लुमाइ सुगन्ध छरी तिमी आयौ।।२।।

भन्न गाह्रो भाको रैछ मैंले ति आँखाका भाव बुझें
उमेरमै भेट्न कस्तो सानू जादू छरी तिमी आयौ।।३।।

त्यति टाढादेखी तिमी आयौ मृग तृष्णा सबै मेट
कस्तो बैंशालू त्यो रुपमा चमक छरी तिमी आयौ।।४।।

आयौ तिमी र पो त मेरो यो मन नि प्रफूल्लित छ
चरा सम्झी मेरो चारैतिर चारो छरी तिमी आयौ।।५।।

एक्लै बस्न मन लाग्छ आज के भाको हो खै

एक्लै बस्न मन लाग्छ आज के भाको हो खै
डिस्को जादा शून्य लाग्छ आज के भाको हो खै।।१।।

तिम्रै लागि मर्छु भन्ने मान्छे आज गएपछि
सबै धोकेबाज लाग्छ आज के भाको हो खै।।२।।

आशा अनेक देखाएर जाने स्वार्थीहरु देखी
जून पनि कालो लाग्छ आज के भाको हो खै।।३।।

एक्लै जिउछु एकान्तमा भनि म बस्दाखेरी
कसैको त आशा लाग्छ आज के भाको हो खै।।४।।

झरी बादलमा ओत लाग्ने तिम्रो साथ छाहारी भो

झरी बादलमा ओत लाग्ने तिम्रो साथ छाहारी भो
अनेक स्वाद चाट्ने खाने सबै ऊ त मांसाहारी भो।।१।।
अनेक देखी चारैतिर मिठा कुरा ति खान मिल्ने
टपक्क टिप्दै खादै हिड्ने कस्तो हो खै सर्वहारी भो।।२।।
जंगलको झारपात भन्छन् मिठो हुन्न गाँठे त्यो त
उस्का लागि झाडी न्यूउरो अति मिठो तरकारी भो।।३।।
बेरोजगारी थियो त्यो त भौंतारिएर हिड्थ्यो अति
भाग्य रैछ उस्को आज हेर जागिर सरकारी भो ।।४।।
रम जीन ब्राण्डी हुस्की छुदै छुन्न रे उसले कुनै
शुद्ध खाने सागसब्जी मात्र खै किन शाकाहारी भो।।५।

टालाटुली हामीले खेलेको बिर्सौ की

टालाटुली हामीले खेलेको बिर्सौ की
लुकामारी हामीले खेलेको बिर्सौ की।।१।

दिन बिते आज टाढा पुगेकी छ्यौ
भाँडाकुँडी हामीले खेलेको बिर्सौ की।।२।।

सँगै बसेर सानुमा एकनासले रमाइ
चि मुसी चि हामीले खेलेको बिर्सौ की।।३।।

आज जवान भयौ देश विदेश घुम्यौ छ
राजारानी हामीले खेलेको बिर्सौ की।।४।।

सम्झन्छु बालपन थियो कस्तो मिठास
अन्ताछिरी हामीले खेलेको बिर्सौ की।।५।।

तिर्खा मेट्ने पानीले

तिर्खा मेट्ने पानीले
तृष्णा मेट्ने नानीले।।१।।

के साह्रो हो कुन्नी
लाज मान्ने सानीले।।२।।

नजिक हुन्न म त
आँखा ताने बानीले।।३।।

कस्तो उनी लजालू
टाढा जाने तानीले।।४।।

भिक्षा माग्दा भोकमा
भिक्षा दिने दानीले।।४।।

माग्नै पर्छ हात त्यो
आए हुने जानीले।।५।।

पात सुसेल्दै तिमीले मैंले माया लाको अझै सम्झी राछु

पात सुसेल्दै तिमीले मैंले माया लाको अझै सम्झी राछु
दर्शनार्थ मन्दिरमा मात्र तिमी म गाको अझै सम्झी राछु।।१।।

बगर छेउ करमको टुप्पोसम्म रुख चढी घाँस झार्दा
राम्रोसँग तिम्ले घाँसको डाली बटुलेको अझै सम्झी राछु।।२।।

साज काट्थ्यौ हरियो टाँकी काट्थ्यौ कुम्मी त खोजी खोजी
मिलाएर घाँसको भारी तिमीले नै हाल्देको अझै सम्झी राछु।।३।।

कहिले जान्थ्यौ हकी गोठालो वनमा वस्तुभाउ चराउन
गफैगफमा भुल्दा सेतो बाख्रो हराएको अझै सम्झी राछु।।४।।

साह्रै डर लाग्थ्यो बाख्रो कही चितुवाले खायो कि भनेर
वनमा घुमि हाम्ले बाख्रो खोजी ल्याको अझै सम्झी राछु।।५।।

बेला बेलामा दश बीस रुपैंया उठाएर हामी सबैले

कल्पनाको सुखी जिवन वाचाहरु सबै टुट्यो

कल्पनाको सुखी जिवन वाचाहरु सबै टुट्यो
बिछोडको असिनाले हृदयमा कुट्नु कुट्यो।।१।।

न त हाँस्न मन लाग्छ न त खेल्न रमाउन
एकान्तमा रमाउने हाँसो खुसी सबै टुट्यो।।२।।

कस्तो प्रेम गरेछु मैंले बिेर्सन कत्ति गाह्रो भयो
विरह र बेदनाका मात्र आज आँशु फुट्यो।।३।।

जाली रुमाल फाटे कत्ति आँखाबाट आँशु पुछ्दा
तर्कना आउछ कस्तो तिर्सनाले मन चुट्यो।।४।।

आशा ठुलो राखे मैंले यात्रा पुरा हुन्छ भनि
हाँसी रमाइ यात्रा गर्ने सारथी बिचमैं छुट्यो।।५।।

कस्तो कस्तो भाछ गाह्रो मन बुझाउन आज
वेदनाले मन पोल्दा उठ्नु सम्म रिस उठ्यो।।६।।

तिमीबिना मेरो जिवन शून्य अनि मधुरो छ

तिमीबिना मेरो जिवन शून्य अनि मधुरो छ
तिमी छैनौ बत्ति बाल्ने मेरो जिवन मधुरो छ।।१।।

आउछौ नि काली म लिन आउँदा डोली सजाइ
सम्हाल मेरो घर बारी सबै छेउमा धतुरो छ।।२।।

बुझ है चाँडो मनका कुरा समयले पर्खदैन
म खोज्दैछु जाँचेर कस्को मन अति चतुरो छ।।३।।

चलाख स्त्री बनाउनु भन्छन् जिवनको सारथी
टन्न गाँठ भाको खोज्दैछु म त काँहा ससुरो छ।।४।।

तिम्ले बुझ्नु है त काली मेरो मनका इच्छाहरु
तिमी आउँदा भान्छामा पकाउने दाल मसुरो छ।।५।।

न्याउलीको विरहमा आज साथ दिइ बाँचेको छु

न्याउलीको विरहमा आज साथ दिइ बाँचेको छु
अन्तै रम्न गएनि फर्कने आश लिइ बाँचेको छु।।१।।

मुस्कान छर्न सकिन मैंले दुःख पिएर घटघट
विरहले छाती मिच्दा श्वास अल्झाई बाँचेको छु।।२।।

हाँस्न सक्दैन मेरो मन रमाउन तिमी बिना कति
सम्झना आउँदा खस्ने आँशु प्याला पिई बाँचेको छु।।३।।

सम्झना छ अझै मलाई राती बिताएका पलहरु
प्रेमको कस्तो बल्छी लाग्यो घाइते बनी बाँचेको छु।।४।।

न त हाँस्नै सकेको छु आज न त मर्नै सकेको छु
धड्के पनि धड्कन जिउँदो लास भई बाचेको छु।।५।।

क्षणिक सुख देखी जाने बैगुनी त्यो फूललाई

क्षणिक सुख देखी जाने बैगुनी त्यो फूललाई
सम्झनु हुन्न भन्छन् बैंसको मात भूललाई।।१।।

म तिम्रै हुँ भनी आत्मीय सामिप्यता गाँसेर नि
चटक्क मुटु चुडाली जाँदा भुल्यौ र गुनलाई।।२।।

सोचिन मिलन पछि विछोड हुन्छ होला भनी
अतित सम्झी उठ्ने यो रोकौं कसरी सूललाई।।३।।

एक्लै छु म चौतारीमा उन्को काखमा निदाएको
बै‌रागी पागल प्रेमी भन्छन् के सम्झाउ हुललाई।।४।।

माया लाग्छ उन्को कति गुमाएको वस्तु प्यारो
तर्कना छाँउदा फुट्ने रोक्न गाह्रो यो मूललाई।।५।।

विछोडले गाल्नु गाल्यो कति रोउँ म मर्ने गरी

विछोडले गाल्नु गाल्यो कति रोउँ म मर्ने गरी
झरे कस्तो मेरा आँशु असारे भेल बगे सरी।।१।।

हरायो आज रमाइलो हाँस्न पनि गाह्रो भयो
मलाई छैन भोक तिर्खा रुनु छ मैंले बेसरी।।२।।

अझै पनि उनी मेरै साथमा हाँसी रहेझै लाग्छ
तर्कना आउँछ याद पनि बिर्सौ मैंले कसरी।।३।।

हाँसी दिनु है त तिमी म रुँदा पागल बनेर
सिकाउनु गूरुमन्त्र डाहा मार्ने मलमसरी।।४।।

मनमा छ व्यथै व्यथा तर देखिन्न है ठुलो घाउ
सकिदैन निको पार्न मन जलेको ओखती गरी ।।५।।

निला तिम्रा नयनको गहिराईमा डुब्न मन लाछ

निला तिम्रा नयनको गहिराईमा डुब्न मन लाछ
मिठा तिम्रा परेलीको बात रमाइ बुझ्न मन लाछ।।१।।

साँच्चै चञ्चलेपन राम्रो रुप त्यो स्वभाव लजावती
प्रिया तिम्रा पाखुरीको बाहुबलमा घुल्न मन लाछ।।२।।

तिम्रो रुपै लोभलाग्दो छ चुम्बकलेझैं तानिए है
समिपमा मायालू भावले बोल्न खुल्न मन लाछ।।३।।

साँचो गरेर प्रेम ढुकढुक धड्कने मुटुमा राखी
तिम्रो हृदयमा बास बसी सगैं भुल्न मन लाछ।।४।।

पछ्यौरीले छोपेर राख नौडोरीले बाँधी राखे है सानु
राता तिम्रा स्याउजस्ता गालामा चप्प चुम्न मन लाछ।।५।।

एक कल पनि नगर्नेले सम्झेका छन् भन्न गाह्रो

एक कल पनि नगर्नेले सम्झेका छन् भन्न गाह्रो
मिसकल नि नगर्नेले सम्झेका छन् भन्न गाह्रो।।१।।

प्रविधीको दुनिँया यो हेनुस् मोबाइल हात हातमा
एमएमएस नि नगर्नेले सम्झेका छन् भन्न गाह्रो।।२।।

न राग छ न तृष्णा याद पनि केही छैन कि गाँठे
एसएमएस नि नगर्नेले सम्झेका छन् भन्न गाह्रो।।३।।

के पोखौं आक्रोस खै यो दुनिँया आफैं स्वार्थी छ रे
ब्यङ्क च्याट नि नगर्नेले सम्झेका छन् भन्न गाह्रो।।४।।

ए मित्र भन न लौ स्मृति लुकेको छ कि हृदयमा
एक मेल पनि नगर्नेले सम्झेका छन् भन्न गाह्रो।।५।।

नरिसाउ भो छैन मैले बिगारेको केही कुरा

नरिसाउ भो छैन मैले बिगारेको केही कुरा
नसताउ भो छैन मैले बिगारेको केही कुरा।।१।।

किन हो कुन्नी भेट बोलचाल न’भा धेरै भयो
नतर्साउ भो छैन मैले बिगारेको केही कुरा।।२।।

आशा लाछ आइ हास्छौ बोल्छौ भनेर समिपमा
नथर्काउ भो छैन मैले बिगारेको केही कुरा।।३।।

राम्रै लाग्छ भने आउ है तिमी बोल दिलबाट
नअत्याउ भो छैन मैले बिगारेको केही कुरा ।।४।।

सहर बसें म त गाउँ धेरै पछि आए आज

सहर बसें म त गाउँ धेरै पछि आए आज
फूर्सद अनि खुसी मैंले धेरैपछि पाए आज।।१।।

खेत सरैया उस्तै कस्तो हुर्किएको ठाउँ प्यारो
आमाले पकाएको खाना धेरैपछि खाए आज।।२।।

माया उस्तै प्यारी मेरी काली उन्को मिठो बोली
हात समाइ चोखो माया धेरैपछि लाए आज।।३।।

बहाना भो उनलाई भेट्न धेरैपछि गाउँ आको
रिस गर्नेका आँखा छली अंगालोमा लाए आज।।४।।

मिलन भाको धेरै पछि मैंले मेरा खुसी साटे
उफ्रेर कस्तो मिठो गित धेरै पछि गाए आज।।५।।

देख्दाखेरी पो माया लाग्छ

देख्दाखेरी पो माया लाग्छ खै नदेखें नि यो कस्तो भाको
काली मोरी धेरै टाढा बस्छिन् उनको माया कस्तो लाको।।१।।

चिनजान छैन बोलचाल मुस्कुराउछिन् तस्विरमा
पर्दामाझैं आँखाभरी सपनीमा झझल्को कस्तो आको।।२।।

रुपै राम्रो लोभ लाग्दो छ झलझल कस्तो चाँदनीझैं
मुस्कुराई मनमा बस्छु भनि सपनीमा कस्तो धाको।।३।।

ठाउँ ठेगाना सोधेर म उनलाई भेट्न जाउ कि साथी
नभेट्दा नि मन तान्ने उन्ले वसन्ती रुप कस्तो पाको।।४।।