पात सुसेल्दै तिमीले मैंले माया लाको अझै सम्झी राछु
दर्शनार्थ मन्दिरमा मात्र तिमी म गाको अझै सम्झी राछु।।१।।
बगर छेउ करमको टुप्पोसम्म रुख चढी घाँस झार्दा
राम्रोसँग तिम्ले घाँसको डाली बटुलेको अझै सम्झी राछु।।२।।
साज काट्थ्यौ हरियो टाँकी काट्थ्यौ कुम्मी त खोजी खोजी
मिलाएर घाँसको भारी तिमीले नै हाल्देको अझै सम्झी राछु।।३।।
कहिले जान्थ्यौ हकी गोठालो वनमा वस्तुभाउ चराउन
गफैगफमा भुल्दा सेतो बाख्रो हराएको अझै सम्झी राछु।।४।।
साह्रै डर लाग्थ्यो बाख्रो कही चितुवाले खायो कि भनेर
वनमा घुमि हाम्ले बाख्रो खोजी ल्याको अझै सम्झी राछु।।५।।
बेला बेलामा दश बीस रुपैंया उठाएर हामी सबैले
किनेर खिर्चीमिर्ची वनमा सँगै खाको अझै सम्झी राछु।।६।।
