जेठको मध्यरात । बाहिर मेघ गर्जन साथ झ्याम झ्याम पानी परिरहेको छ । बिजुली चम्केको छ । गृष्मको गर्मी भए पनि दर्के पानी परेकोले वातावरण शितलो छ । वातावरण जति नै शितलो भए पनि मन भित्र औडाहा भए पछि कसलाई शितलो हुन्छ र ? कुमुदिनीको मनमा सामाजिक, घरेलु, लाञ्छना र तिरस्कारको औडाहा बलेकोले निदाउन भर मग्दुर प्रयास गर्दा पनिसकेकी छैन । कुमुद भने कोल्टो फर्केर फ्वाँ फ्वाँ यौन सन्तुष्टिको निद्रा सुतिरहेको छ । पाँच वर्ष अघि कुमुदसँग प्रेम विवाह गरेकी कुमुदिनीको अँझै काख रित्तो छ ।
“छोरो भएको बजिया उस्तै, बजियाले कुल र जातकी स्वास्नी त भित्र्याएन रे लौ ठिकै छ, कुजातनी त बाँझी पनि रहिछे । नाति खेलाउने मेरो रहर त्यतिकै तुहिने भो, हे दैव ! ”
सासूको यस्तै यस्तै खप्पी नसक्नु कटाक्ष वचन बाणले कुमुदिनीको मुटुमा आगो बलेको छ । जातभातको मामिलामा उनले सासूको टोकसोलाई नजर अन्दाज गरी दिए पनि बाँझीको आरोप भने सहन हम्मे हम्मे परेको छ उनलाई ।
“के मेरो कोख बाँझै हो त ?” उनले आफ़्नै कोख माथि शङ्का गरेर डाक्टर चेकअप गराएकी थिइन् । तर आफूमा कुनै कमी कमजोरी नरहेको बरु कोख मलिलो उर्वर भएको चाल पाएपछि सासू र सासू हुँदै जोरीपारीको मुखबाट झुठ्ठा लाञ्छनाले प्रताडित हुनु परेकोमा कुमुदिनीको मुटु छियाछिया परेको हो । सत्य तथ्य बुझ्दै नबुझी नारीले नारीकै अपमान गर्ने परम्परागत मानसिकतालाई मनमनै सरापिन् ।
पुरुषहरू भन्ने गर्छन्, “नारीको शत्रु नारीनै हुन्छन् ।” उनलाई पनि हो जस्तै लाग्न थाल्यो ।
“ए उठन भन्या, यहाँ आफूलाई कस्तो छटपटी भइराख्या छ, तिमी भने फ्वाँ फ्वाँ निदाउने ।” मनमा चलेको आँधी तुफानले पटक्कै निदाउन नसकेपछि उनले अन्तत कुमुदलाई झक्झक्याउँदै उठाइन् ।
शिक्षित र सुन्दर कुमुदिनीको प्रेमजालमा परेको कुमुदले आफ्ना बाआमा ईष्टमित्र कोही कसैको कुरै नसुनी अन्तरजातीय विवाह गरेको हुनाले आफ्नो जीवन संगिनी प्रति असीम माया गर्थ्यो । कुमुदिनीले झक्झक्याउँदै उठाई दिएकोले तर्सिदै ऊ उठ्यो र अतालिदै सोध्यो, “के भयो कुमु तिमीलाई ?”
कुमुदिनीले कुमुदको हात आफ्नो हातमा लिदै भनिन्, “कुमुद ! म आमाको दिनहुँको टोकसोबाट आजित भइसकेकी छु । मेरो मुटुमा यतिखेर ज्वालामुखी फुटेको छ र लाभाहरू यत्रतत्र छरिएका छन् । अरु केही दिन यस्तै अवस्था रहिरहने हो भने सायद यही लाभाले हामी दुवैलाई भष्म पार्न सक्छ ।”
“किन के भयो र त्यस्तो ?”
“के भएन भनेर सोध न ?”
“त्यही त सोध्दै छु !” कुमुद झर्किए झैं गर्यो ।
कुमुदिनी एक छिन् अन्कनाइन् र केही सोंचेर बोलिन्, “कुमुद ! तिमीले भनेका हैनौ यो दुनियाँमा नारी र पुरुष बाहेक अर्को जात र मानवताभन्दा अर्को धर्म छैन र हुनु हुँदैन भनेर !”
“हो भनेको थिएँ, त्यसैले त तिम्रो सिउँदोमा सिन्दूर हालेर सबैको बिरोधको वावजुद पनि तिमीलाई घर भित्र्याएँ । तिमीलाई घर परिवार समाजले पनि स्वीकार गरिसकेको छ । तिमी यति शिक्षित नारी भएर पनि के एउटी अनपढ गँवारले जस्तो कुरा गरेको ?” कुमुदले अलि तीखो स्वरमा जवाफ फर्कायो ।
“त्यो त ठिकै हो, कुमुद तर !”
“तर ! के तर, कुमुदिनी ? भन न, तिम्रो मनमा आज ठुलै भूकम्प गए जस्तो अनुभूति हुँदैछ ।” कुमुदले आफ्नो प्यारी जीवन संगीनीको भावभंगिमा देखेर आत्तिदै सोध्यो, “भन न कुमुदिनी ! के भयो तिमीलाई, कसैले केही भन्यो कि ?”
अलिकबेरको मौनता पछि अति नै ठण्डा र कठोर स्वरमा कुमुदिनीले भनिन्, “म आमा बन्न चाहन्छु ।”
कुमुदिनीको यो वाक्य कुमुदको मन मष्तिस्कमा मिलिक्क विजुली कड्कियो र चट्याङ्ग बज्रे झैं भान भयो । एक छिन त उसको बोली नै फुट्न सकेन । एउटा अद्भुत आश्चार्य देखे झैं कुमुदिनीको मुहार ट्वाँ परेर हेरिरह्यो । आखिर उसलाई जुन कुराको डर थियो आज त्यही कुरा उसको सामुन्ने सुरसाको जस्तो मुख बाएर बसिरहेको देख्यो । केही बेरको मौनतापछि उसले आफूलाई संयमित बनाउँदै र किञ्चित हाँस्दै भन्यो, “तिमीलाई यति छिट्टै आमा बन्ने रहर कसरी जाग्यो ? पर्ख न अरु दुई चार वर्ष कुरौं अनि भएन भने एउटा उपाय खोज्नु पर्ला । अहिले त फ्री लाइफ बिताउने हो । कुमु ! एउटा कुरा याद राख बच्चा बच्ची लोग्ने स्वास्नीको प्रणय बगैंचामा फुलेका प्रेमका फूल हुन् भन्न पनि सकिन्छ भन्ने कुरा तिमी उप-प्राध्यापक, म उप-प्राध्यापक हामी मध्ये कसैले कसैलाई लेक्चर दिइरहनु पर्दैन । बिचार आफ्नो आफ्नो हो । सृष्टिचक्र हामीले बच्चा नजन्माउँदैमा रोकिन्न, धैर्य गर।”
कुमुदको लेक्चर कुमुदिनीलाई मन परेन । उनले झर्किँदै जवाफ फर्काइन्, “भो भो लेक्चर छाँट्नु पर्दैन, लेक्चररज्यू ! तिमी लोग्ने मान्छेहरूलाई त के छ र? दुनियाँको ताना र टोकसो सुन्नु पर्छ हामी नारीले । अनि पति महोदयज्यू अर्को कुरा पनि सुन ! हामीले परिवार नियोजनका कुनै पनि साधन प्रयोग गरेकै छैनौं, पाँच पाँच वर्ष भइसक्यो तैपनि मेरो कोख रित्तो किन ? एक पटक डाक्टर चेकअप गरेर त केही बिग्रन्न होला नि ! बरु सप्रन्छ कि ? प्लिज कुमुद, जाउँ न है !”
स्त्री र बालहठको अगाडि कसले जित्न सक्ने । कुमुद पनि हार्यो र भन्यो, “हुन्छ कुमु ! भोलि शनिबार छ, पर्सी जाउँला बरु भोलि खाना खाएर शान्ति स्तुपा जाउँ न है रिल्याक्स गरौँ । मैले तिमीलाई केही कुरा भन्नु पनि छ, अहिले रात धेरै छिप्पियो अब सुतौं है !”
शनिवारको दिन भएर होला शान्ति स्तुपामा आन्तरिक पर्यटकको भीड थियो । शान्तिका अग्रदूत महामानव बुध्दको सुन्दर शान्त सौम्य मूर्ति र त्याहाँबाट दृष्टि गोचर हुने फेवातालमा माच्छापुच्छ्रेले पौडी खेलिरहेको रमणीय दृश्यले अरु जस्तै कुमुद पनि आनन्द बिभोर भइरहेको थियो ।तर कुमुदिनीको लागि त्यही दृश्य छेपारो नाचे जस्तो लागेछ कि कुन्नि उनले भनिन्, “जाऊँ कुमुद ! एउटा एकान्त खोजेर बसौं, प्लिज । यी मान्छेहरूका कोलाहलदेखि कतै टाढा गएर बसौं ।”
कुमुदिनीको यो रुखो व्यवहारले कुमुदलाई अस्थिर तुल्यायो । उसलाई कुमुको व्यवहार पटक्कै मन परेन र कुमुदिनीलाई बाइकको पछाडि बस्न लगाएर डेरा पुर्याई आफू साथीको घर गयो ।
“जति नै पढे-लेखेको भए पनि यी नारीहरू किन यति बिघ्न हठ गामिनी हुन्छन् हँ!” कुमुदले मनमनै भन्यो ।
कुमु देखेर उसलाई अचम्म पनि लाग्यो । आइतबार डाक्टर चेकअप गर्ने कुमुको अनूनय बिनय पनि उसले सुन्दै सुनेन । शुक्रबारको रात भने यौन तालिका अनुसार मिलनको रात भएकोले कुमुद डेरा फर्क्यो । कुमुले यही समय पर्खेर धैर्य गरेर बसिरहेकी थिइन् । तर कुमुदले कुनै रूची प्रकट नगरी चुपचाप कोल्टे फर्केको देखेर कुमुलाई अचम्म लाग्यो र सोधिन्, “होइन, सन्चो भएन कि क्याहो ?”
“मलाई केही भएको छैन,” कोल्टे फेर्दै कुमुदले आलटाल गर्यो ।
“तिमी जस्तो रसिक मान्छे चुपचाप कोल्टे फेरेको देखेर अचम्म र अपत्यारिलो लाग्दो रहेछ । के मबाट कुनै गल्ती भयो र हो कि ?” कुमुले अत्यन्तै सहज भावमा कुमुदलाई काउकुती लगाइदिइन् । “कुमुद ! म अरु सबै कुरा सहन सक्छु तर कसैले बाँझी भन्यो भने म सहन सक्दिन ।”
“कुमु ! म एउटा कुरा सोध्छु तिमी नरिसाऊ है ?”
“तिमीसँग म कहिले रिसाएको छु र, कुमुद !”
“नारीहरू दिमागभन्दा बढी भावावेश प्रयोग किन गर्छन् हँ ?”
“सम्भवत नारी कोमलाङ्ग हुने भएर होला भावुक हुने, अर्को कुरा प्रकृतिको नियमानुसार नारी पुरुषमा भिन्नता भएन भने यो संसार के यसरी चल्थ्यो होला त ! नारीहरू आफ्नो स्त्रीत्व र सन्तानको लागि सम्बेदनशील र भावुक बन्नै पर्छ, कुमुद !”
कुमुदिनीको भनाइ सुनेर कुमुद जुरुक्क उठ्यो र उनको चेहरा आफ्नो दुई हत्केलाबिच राखेर सजिलो गरी बस्दै भन्यो, “कुमु तिमीले महाभारत कथा पढेकी छ्यौ? हस्तिनापुरका राजा थिए सान्तनु, उनका तीन भाइ छोरा देवव्रत (भीष्म), बिचित्रविर्य र चित्राङ्गद । देवव्रतले आजीवन बिहे नगर्ने र राजा पनि नबन्ने भीष्मप्रतिज्ञा गरेका हुनाले सन्तान हुने कुरै भएन । बाँकी दुई छोरामध्ये युद्धमा र अर्को क्षयरोगले परमधाम भए पछि हस्तिनापुर उत्तराधिकारी बिहीन हुने भयो अब के गर्ने भन्ने राज परिवारमा छलफल हुँदा वेद्ब्यासलाई बोलाएर बिचित्रविर्य र चित्राङ्गदका बिधवा रानीहरूलाई बीर्य दान गर्न लगाउने निर्णय भयो । वेद्ब्यास तिनीहरूका जेठाजु नाता पर्थे । बिधवा रानीहरू अम्बा र अम्बिका बीर्यदानको अवसरमा डराएका हुनाले स्वस्थ सन्तान नजन्मने भबिष्य बाणी गर्दै वेद्ब्यासले दासीलाई पनि बीर्य दान गरे । महाभारतका अन्धा राजा धृतराष्ट्र र पाण्डु रोगी पाण्डु तथा बिदुर बीर्य दान पाएर जन्मेका उनै वेदब्यासका शुक्रकिट हुन् । पाण्डु नपुंसक थिए त्यसैले कुन्तिले धर्मराज, वायु र इन्द्रबाट क्रमश युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीले अश्विनी कुमारबाट बीर्य दान लिएर सहदेव र नकुल जन्माए । यी पाँच भाइ पाण्डुका क्षेत्रज सन्तान कहलिए ।”
भनाइ पुरा हुन नपाउँदै हातले कुमुदको मुख छोप्दै भनिन्, “होइन, कुमुद ! तिमी यो कस्तो बहकीयको कुरा गर्दैछौ आज ? के तिमी पाण्डु जस्तै नपुंसक हौ र ?”
कुमुदले कुमुको हात पन्छाउँदै भन्यो, “हेर कुमु ! हाम्रो समाजको परम्परा रीतिरिवाज र नियम पुरुष प्रधान छ र स्वार्थी पनि । आफू सन्तान जन्माउन असक्षम भए पनि दोष नारीमाथि थुपार्दै बहुविवाह गर्ने जमाना गयो अब । दश वर्षसम्म सन्तान नभए पुरुषलाई अर्को विवाह गर्ने छुट दिने कानून खारेज हुनुपर्छ । नारी बाँझी भए पुरुषले अर्को विवाह गर्न पाउँछ भने पुरुष बाँझो भए नारीले चाहे सन्तान जन्माउने अधिकार पनि पाउनु पर्छ, यसरी मात्र कानून बराबर हुन सक्छ । हाम्रो बिहे भएको छ महिनापछि गाउँबाट म सहर आउने क्रममा कमिसनको जालोले अन्धो सडक र पद्धतिका मलामी ड्राइभरको कुचक्रमा परेर गाडी दुर्घटना हुँदा हात खुट्टामा अलि अलि चोट लागे पनि म बाँचें । तर मेरो वावु बन्ने क्षमता मैले गुमाएँ र नपुंसक बने । अब म तिमीलाई सन्तान जन्माउने शुक्रकिट दान गर्न सक्दिन कुमु । मलाई माफ गर ।”
कुमुदको यो वाक्य कुमुदिनीको मस्तिष्कमा गड्याङ्ग र गुडुङ्ग गर्दै चट्याङ्ग बज्र्यो । आफूलाईभन्दा बढी विश्वास गरेको आफ्नो प्रेमी, आफ्नो जीवन साथीले जीवनको यस्तो अहम सवाल आफ्नो जीवन संगिनीलाई नभनेर आफैमा सीमित राखेकोमा अवाक भएर कुमुदको अनुहार हेरिरहीन् र बर्रर आँसु झारिन् । कुमुदले डाक्टर चेकअप गर्न आलटाल गर्नुको रहस्य अनि महाभारतको सन्तान जन्माउने मिथक सुनाउनुको अर्थ बल्ल छर्लङ्ग बुझिन् । किंकर्तव्यबिमूढ़ उनी धेरै बेरसम्म केही बोल्नै सकिनन् ।
प्राणभन्दा प्यारो जीवन साथीको आँखाबाट बगेको आँसुले कुमुदलाई द्रविभूत तुल्यायो र रुग्ध कण्ठले फेरि बोल्यो, “कुमु प्लिज मलाई माफ गर, यो दुर्भाग्यको कहानी समयभन्दा पहिले नै सुनाएर म तिमीलाई दुखी देख्न चाहन्नथें । तर मान्छेले चाहे जस्तो त नहुँदो रहेछ । परिबन्दले मान्छेले सोचेकोभन्दा नसोचेको, नचाहेको बढी भोग्नु पर्दो रहेछ । मान्छेको जिन्दगी पनि एउटा मिथकभन्दा बढी होइन रहेछ, कुमु !”
कुमुदको यो भनाइले कुमुलाई अलिक राहत महशुस भए पछि भनिन्, “कुमुद ! एउटा हिन्दू नारीले परपुरुषसँग समागम गरेर सन्तान जन्माउने कुरा मिथकमा मात्र सम्भव होला । तर वास्तविक जीवनमा सम्भव हुदैन, म त्यो गर्न सक्दिन । समस्या यो हो भने कुनै अनाथालयबाट वा कहीं कतैबाट एउटा शिशु ल्याएर धर्म सन्तान बनाउँला नि हुन्न ?”
“हुन त नहुने होइन तर केही कुरा यस्ता हुन्छन् जसले गर्दा म धर्म सन्तान पाल्न चाहन्न, कुमु !”
“जस्तो ?” कुमुले जिज्ञासा तेर्स्याइन् ।
“जस्तो कि तिमी बाँझी भएको वा म नपुङ्सक भएको पोल खुल्न सक्छ । अङ्गिकार गरिएको शिशु गलत हुन सक्छ । आफ्नै सन्तान जस्तो अङ्गिकार गरिएको सन्तानले स्नेह नपाउने हुनसक्छ । तिमी बाँझी होइनौ र एउटी लेक्चरर हौ । कुरा बुझ, महाभारत मिथक भए पनि हाम्रो पुर्खाको ईतिहाँसको झलक त्याहाँ पाउन सकिन्छ । एउटा विद्वान वा बैज्ञानिकबाट तिमीले क्षेत्रज सन्तान जन्माऊ, कुमु ! तिमी मेरो पत्नी मात्र होइनौ प्रेमिका पनि हौ । तिमीले माधवी उपन्यास पढेकी छ्यौ नपढेको भए पढ, त्यो उपन्यास ऐतिहासिक हो । त्यसमा उल्लेख छ, माधवीले आफ्नो प्रेमी गालवको अनुरोध स्वीकार गरेर चार वटा श्यामकर्ण घोडाको लागि भिन्न भिन्न राज पुरुषलाई चार वटा क्षेत्रज सन्तान जन्माई दिएकी थिइन् । मान्छेले अँझै खास गरी नारीले अत्यावस्यक अवस्थामा परपुरुषको किड्नी, रगत, नेत्र, मुटु दान स्वीकार गर्न सक्छ भने बीर्य दान स्वीकार गर्न किन सक्दैन । किड्नी, रगत, नेत्र, मुटुभन्दा बीर्य के कुराले फरक छ यिनीहरूको वीचमा ? यी सबै मानवीय अङ्ग त हुन् ।”
कुमुले कुमुदको तर्कको प्रतिवाद गर्दै भनिन्, “तिमी पनि कस्तो पागल जस्तो कुरा गर्छौ ? आजको साइबर युगमा शिशुहरू आइफोनसँगै जन्मने युगमा । टेस्ट ट्युब बेबी युगमा र बीर्य बैंक युगमा यस्ता परम्परागत कुरा गर्ने तिमी जस्तो लेक्चररले! अर्को कुरा बैज्ञानिकको बीर्यबाट जन्मेको सन्तान बैज्ञानिक नै हुन्छन् भन्ने कुनै ग्यारेन्टी छ ? बैज्ञानिकका पुर्खा बैज्ञानिक थिएनन्, अनुकुल वातावरण थियो । स्वतन्त्र वातावरण अनुकुल वातावरण हुने हुनाले हामी हाम्रा अङ्गिकृत सन्तानलाई स्वतन्त्र वातावरणमा हुर्काउँला, त्यही किसिमको संस्कार दिउँला ।”
कुमुको तर्कसंगत तर्कले कुमुद प्रभावित भए र भने, “जस्तो तिम्रो इच्छा । यसरी हामी दुवैको हार हुँदैन ।”
——————-
डेढ वर्षपछि
कुमुको काखमा रहेकी पूर्णिमाकी जून जस्ती पाँच महिने छोरी क्युरी नेपालीलाई पास्नी भोजमा थुप्रै पाहुनाहरूले उत्तरोत्तर प्रगतिको आशीर्वाद तथा कुमु दम्पतिलाई बधाइ दिइरहेका थिए । पार्टी जवान थियो ।
