Skip to content

आश हराएको जिन्दगी


ब्यस्त सृजना चोक, पीच सडकको बिचैमा उत्तानो पल्टेको अवस्थामा एउटा रगताम्य लास परेको छ, लास हेर्नेहरूको भीड छ । जिउँदोलाई लासमा परिणत गर्ने लासको छेऊमा ज्यानमारा माइक्रो बस पनि रोकिएको अवस्थामा छ । प्रहरी आफ्नो कर्तव्य पुरा गर्ने कार्यमा तल्लिन छ । अन्दाजी ४७/४८ वर्षको लाग्ने लासको अँझै पनि सनाखत हुन सकेको छैन ।

“कसैको जिन्दगीमा त परिस्थिति पनि आततायी भएर आउँदो रच । नालायक कुलाङ्घार जे भए पनि आमाको लागि छोराको माया अतुलनीय हुँदो रच । छोराको बिछोडमा यो मृतक महिला बहुलाही भएको हुनुपर्छ,” भीडमध्येबाट कसैले भन्यो ।

अर्कोले सही थाप्यो, “हो त नि । छोराछोरी पाइन भनेर भुतुक्कै हुनु पनि व्यर्थ रहेछ । यो बहुलाही आईमाई मोटर साइकल चढेको जो सुकै युवक भए पनि ‘ए मेरो बाबु आशबहादुर’ भन्दै मोटर साईकलको पछि पछि दगुर्ने गर्थी । एक दिन, झन् अस्ति हो क्यारे एउटा रोकी राखेको मोटर साइकलको ठिटोलाई समातेर रुँदै भन्दै थिई, ‘बाबु ! तँलाई त मैले मेरो छोरा भनेको थिएँ तर तँ त स्वास्नीको पोई पो रहेछस् । तँलाई आमाको माया लागेन?’ त्यो केटो बिचरा अक्क न बक्क भएर मोटर साइकल हाँकेर गयो । यस्तो ब्यस्त सडकमा कराउँदै, चिच्याउँदै मोटर साईकलको पछि-पछि दगुर्दा कुनै पनि बेला दुर्घटना हुन सक्छ भनेर प्रहरीले एक दुई दिन थुनेर पनि राखेको हो । तर कति दिन थुनी राख्न सम्भव हुन्छ र ? हिजो मात्र छोड दिएको, आज सबेरै यिनले आफ्नो सम्पूर्ण दुख पीडा आदिबाट मुक्ति पाइन् । आजै रहेछ यिनको लेखान्त ।”

त्यही भीडमा आशिष पनि ट्राफिक जाम भएको कारण बुझ्न मोटर साईकल अड्याएर बसिरहेको थियो आफ्नी सहचारी पछाडि राखेर । उसले आफ्नै जन्मदात्रीको बारेमा भइरहेको टीका टिप्पणी र भीडको गाईंगुईं सुन्यो । बिच सडकमा उत्तानो परेर मृत्यु आलिङ्गन गरिरहेकी आमाको लासलाई पनि चिन्यो र आमाले दान दिएको आँखाबाट दुई थोपा आँशु पनि तुरुक्क चुहायो । आफूलाई जन्म दिने आमा प्रति त्यही दुई थोपा आँशु श्रध्दान्जली दिएर पितृ ऋण चुक्ता गर्यो । अनि कोही परिचित भेटिएमा मृतकसँगको आफ्नो सम्बन्ध सहचारी सामुन्ने पोल खुल्ने भयले जुन बाटो आएको थियो, त्यही बाटो फर्क्यो ।

==========

आशिषले सहचारीलाई उनले काम गर्ने सपिङ्ग कम्प्लेक्समा छोडेर आफू काममा गयो । फर्ममा पनि उसलाई काम गर्ने जाँगर चलेन । काम गर्ने जाँगर पनि कसरी चलोस् । सुकुम्बासी गरिब, कानी, काली, कलुटी जे भए पनि जन्म दिने आमा हुन् र उनै आमाको मानसिक सन्तुलन खलबलिनु र दुर्दान्त मृत्युको जिम्मेवार ऊ जो आफै थियो । उसले आफ्नी आमालाई आफू बसेको डेरा देखाउनु त परै जाओस् सुनितालाई प्राप्त गर्न आफू आमा बाबु नभएको टुहुरो भनेर ढाँटेको पनि थियो । ढाँट्नु, कुनै पनि अर्थमा राम्रो त हुँदै होइन । त्यस माथि पनि उसले जीवित देवी जस्ती आमालाई मरेको भनेर आफ्नै आत्मालाई ढाँटेको परिणाम एक वर्ष नबित्दै कालो बादलको चट्याङ्ग बनेर उसको टाउकोमाथि मन्डराइरहेको थियो । बेलुका कामबाट छुटेर आलस टालस गर्दै डेरामा आइपुग्दा सुनिताले उसको प्रतीक्षा गरिरहेको पायो । सुनिताको आँखा बिस्फोटनको तयारीमा रहेको ज्वालामुखीबाट धुवाँ पुत्ताए जस्तो देखेर आशिष डरायो । मनमा चोर भएपछि झ्याउँकिरीको आवाजले पनि तर्साउँछ । तैपनि उसले सहज भएको देखाउँदै खाटमा गएर बस्यो ।

ऊ खाटमा बसेपछि सुनिताले भनिन्, “आशिष ! आज म तिमीलाई एउटा मार्मिक कथा सुनाउँछु, सुन्छौ ?”

आशिषले उत्तर दियो, “प्लिज सुनिता आज मेरो केही सुन्ने मूड छैन, भोलिपर्सी सुनौंला नि है !”

“अहँ हुदैन ! मलाई आजै सुनाउने मूड छ,” सुनिताले कथा भन्न सुरु गरिन् ।

==========

खगिसरा बि क जन्मेको त आँटीघर, मौजा गाउँमा हो । उनी गर्भमा छँदै पाखुरीको घाँस काट्न रुख चढेको वावु रुखबाट एक्कासि स्वर्ग पुगेको हुनाले आधा टुहुरी त छँदै थिई । गरिबीको सुमेरु चढ्दा चढ्दै आठ वर्षकी खगिसरालाई चटक्कै माया मारेर आमाले पनि स्वर्गको बाटो समातेपछि सहारा बिहीन उनी रुँदै माग्दै जिन्दगीका सरल र बक्र रेखाहरू पार गर्दै पोखरा आई पुगेकी थिइन् । एउटा होटलवालाले दया गरेर भाँडा धुने काम दिए पछि उनको जिन्दगीको गाडा अलिकति थोरै भए पनि सरल रेखामा चल्न थाल्यो । जथराग्नी शान्त पार्ने एउटा मेलो बन्यो । त्यो होटलमा काम गर्ने सोह्र वर्ष ननाघेका अरु पनि थिए । कोही तन्नेरी तरुनी पनि थिए । अन्नपानीको शरीरले अन्नपानी प्राप्त गरेपछि खगिसराको शरीर आकर्षक देखिन थाल्यो । उमेर पुगेपछि यौवनका कोपिला फुट्न थाले, कोपिला आकर्षक फूल बन्यो । फूलमा भंवरा आकर्षित हुनु स्वभाविक हो । भंवराले फूल कुन जातको भनेर सोध्दैन । फूलले पनि भंवराको जात सोध्दैन । खगिसराको त्यही होटलमा काम गर्ने भबेसँग माया पिरती बस्यो ।

धादिङ्गबाट दश वर्षको छँदा भागेर पोखरा आएको भबेको बोलाउने नाम भबे भए पनि उसको खास नाम भवसागर घर्ती हो । खगिसराको भबेसँग माया पिरती मात्र बसेन एक दिन लगन गाँठोमा पनि बाँधिए । अर्काको जुठो भाँडा माझेर बस्नुभन्दा रामघाटको ढुंगा बालुवा बोकेर सुकुम्बासी छाप्रोमा जीवन निर्वाह गर्नु श्रेयस्कर ठाने खगिसरा र भबे दम्पतीले । घडी पला हुँदै भित्ते पात्रोका पानाहरू पल्टिदै महिनाबाट वर्ष बितेपछि खगिसराले घुत्मुने छोरो जन्माइन् । छोरोको नाम आशबहादुर राखे । भविष्यको उज्यालो सपना छोरो जन्मदा भबेले आफ्ना छिमेकीहरूलाई मिठाई पनि बाँडे । साथीहरूसँग बसेर पहिलो पटक रक्सी पनि धोक्यो । खगिसराको थोरै तिनो खुशियाली जीवनमा त्यही रक्सी शनिश्चर ग्रह बनेर प्रवेश गर्यो ।

एक दिन रक्सी धोकेर ढुनमुनिदै भीरको बाटो आफ्नो छाप्रोमा जाँदै गर्दा भीरबाट गुल्टेर रामघाटको बगरमा बजारिन पुग्यो र ईह लिला समाप्त पार्यो, भबेले । गरिबको लागि दैव पनि अति क्रुर हुँदो रहेछ । खगिसराको जीवनमा दुखको सुमेरु झनै चुलियो । तैपनि उनले हिम्मत हारिनन् । दुध मुखे छोरोलाई काखीमा च्यापेर दुखको सुमेरु उक्लने ओर्लने गर्दा गर्दै छोरो छ वर्षको लागेपछि नजिकैको सामुदायिक स्कुलमा एक कक्षामा भर्ना गरी दिइन् । खगिसराको पहाड जस्तो जीवनमा फेरि अर्को पैर्हो झर्यो । आशबहादुर स्कुलमा खेल्दा खेल्दै आँखामा चुना मिसिएको माटो पसेर देब्रे आँखा दृष्टि बिहीन् तुल्याई दियो । भविष्यको सपना साँचेको छोराको एउटा आँखा कानो हुनु भनेको भबिष्य पनि लङ्गडो हुनु हो ।

खगिसराले आफ्नै आँखाको नानी छोरोलाई दान गर्ने निर्णय गरिन् र आँखा अस्पताल लिएर गइन् । आफू कानो भएर पनि छोरोलाई सध्दे बनाइन् । दिन महिना गर्दै एक दशक बित्यो । आशबहादुर सोह्र वर्षे लाठे भो तर खगिसराले कहिल्यै पनि छोरालाई ढुङ्गा बालुवा बोकाउने काममा लगाइनन् । स्कुलको फिस तिर्न नपरे पनि आफ्नो गाँस काटेर, गुन्यु चोलो सत्र ठाउँमा टालेर, जाडोमा बोरा ओढेर छोराको लागि कपि कलम किताब, स्कुलको ड्रेस आदि आवश्यकता पुरा गरिरहिन् । आशबहादुरले पनि कनिकुथी एस एल सी उतिर्ण गर्यो । छोरोले एस एल सी पास गरेको खुशीयालीमा खगिसराले गर्वले छाती फुलाउँदै मेरो आशबहादुरले एसएलसी पास गर्यो नि थाहा पायौ भन्दै सुकुम्बासी छिमेकीलाई मिठाई बाँडिन् ।

एसएलसी पास गरेपछि छोराले भन्यो, “तपाईंलाई गाह्रो भो हगि आमा ? अब म काम गरेर कमाउँदै क्याम्पस पढ्छु ।”

खगिसराले जवाफमा भनिन्, “भरखरै एस एल सी गरेको छस् के काम गर्छस् ? तँलाई कसले दिन्छ काम ? पर्दैन काम गर्न, बि ए, एम ए पढेपछि डाक्टर, वकिल वा ठुलो मास्टर बन्ने हो ।”

अशिक्षित र सोझी आमाको कुरा सुनेर छोरोले भन्यो, “होइन आमा ! तपाईंले कुरा बुझ्नु हुन्न क्या ! सरकारी क्याम्पसको न्यूनतम फिस र खर्च धान्न पनि अब तपाईं एक्लैले सक्नु हुन्न । निजि क्याम्पसको त झन् कुरै छोडौं त्यसैले सानो तिनु जे जस्तो काम गरेर भए पनि गर्छु र पृथ्वीनारायण क्याम्पसमा पढ्छु ।”

खगिसराले भनिन्, “तेरो पढाईमा कामले बाधा पर्छ नि बाबु !”

“पर्दैन आमा, बाधा पर्दैन,” छोरोले मान्दै मानेन ।

आजित हुँदै खगिसराले हार मानिन्, “लौ त नि बाबु, तेरो खुशी गर । तर तँ डाक्टर,वकिल अथवा ठुलो मास्टर बनेको हेर्ने मेरो ठुलो धोको छ ।”

छोरो जन्मेदेखि एसएलसी उतिर्ण गर्दासम्म खगिसराको जीवनको गति चरा उडे झैं उड्यो कि बस गुड्दा झैं गुड्यो पत्तै नपाए जस्तै भित्ते पात्रोका पानाहरू च्यातिदै अरु सात वर्ष बित्यो । छोरोले बिकम उतिर्ण गरेपछि एउटा प्राइभेट फर्ममा लेखापालको काम पायो र आमालाई सोध्दै नसोधी एउटी सहचारीसँग बिहे पनि गर्यो । सुकुम्बासी छाप्रोमा बस्न उसलाई एसएलसी पास गरेदेखि नै लाज लाग्न थालेको थियो ।

==========

“सुनिता ! यो कथा तिमीले कहाँबाट सुन्यौ?” आशिषले रुन्चे अनुहार लिएर सोध्यो ।

सुनिताले उत्तर दिइन्, “तिम्रो आमासँगै बालुवा बोक्ने एउटी आइमाई हाम्रो सपिङ्ग कम्प्लेक्समा क्लिनरको काम गर्छिन् । जिविसले सेती नदीबाट ढुङ्गा बालुवा झिक्न रोक लगाएदेखि ती बुढी आमैले त्यहाँ काम गर्न थालेकी हुन् । तिनै बुढी आमाबाट आज बिहानको त्यो दुर्घटना र यो कथाको सिलसिला जोडिन पुग्यो । त्यसपछि आएर मैले तिम्रो सर्टिफिकेट हेरें । साँच्चै नढाँटी भन त त्यो आमैले खोजेको आशबहादुर तिमी नै हो कि होइनौ ?”

“होइन, सुनिता आज तिमी यो कसको कुरा गर्दैछौ ?” आशबहादुरले अँझै पनि केही थाहा नपाए झैं गर्यो ।

“अँझै तिमी मलाई आँखामा छारो हाल्न खोज्दै छौ ?” सुनिताले आक्रोशित भइन् । “तिम्रो बारेमा मैले सबै कुरा थाहा पाइसकें मिस्टर आशबहादुर जिसी ! कसरी थाहा छ ? बिहान सृजनाचोकमा जहाँ दुर्घटना भएको थियो त्यहाँका रमितेहरूले पनि तिम्रो नाम लिइरहेका थिए । तिमीले अरु सबै कुरा ढाँटे पनि आफ्नो नाम चाहिं ढाँट्न सकेन छौ र सक्ने कुरा पनि भएन । किनभने नाम ढाँट्ने बितिक्कै जागिर खाने तिम्रो सर्टिफिकेटको हतियार भुत्ते हुन्थ्यो र ? तिमी पनि सेती गण्डकीकोतिर रामघाट वा कतै ढुङ्गा बालुवा बोक्ने मजदुर वा नगर पालिकाले फोहर मैला फाल्ने कन्टेनरको श्रमिकमा परिवर्तन हुने थियौ जो तिमी चाहँदैनौ । तिम्रो महत्वाकाँक्षा यति अपवित्र र घिन लाग्दो रहेछ कि सायद ढलको पानीले पनि लाज मान्दो हो । तिमी आफ्नो महत्वाकाँक्षा पुरा गर्न आफ्नै जन्म दिने आमालाई त धोका दिन सक्छौ भने म त तिम्रो श्रीमती मलाई धोका दिन के को आईतवार ! नाउ यु गेट लास्ट, मिस्टर आशबहादुर !?

===========

चार दिनपछि । रामघाटको बगरमा एउटा पुरुष लास घोप्टो अवस्थामा भेटियो । त्यो लास आशिष उर्फ आशबहादुरको थियो । उसले जसको आश गरेर आफ्नो जन्मदायिनीलाई धोका दिएको थियो उनैबाट तिरस्कार र अपमान भए पछि उसको अन्तरात्माले उसलाई धिक्कार्यो, सहन सकेन । जताततै अन्धकारै अन्धकार देख्यो र त्यही रात के आई सिंह पुलबाट हामफालेर स्वर्ग पुगेकी आफ्नी आमासँग क्षमा याचना गर्ने उसको चाहना थियो । तर आफ्नै जन्मदात्रीलाई धोका दिने पाप कर्म गरेको हुनाले ऊ नर्क पुग्यो । उसले मरेर पनि क्षमा पाउन सकेन ।

(के आइ सिंह पुलदेखि सेती नदीमा लास आइपुग्न चार पाँच दिन लाग्छ।)

2 thoughts on “आश हराएको जिन्दगी”

  1. आश हराएको जिन्दगी
    पहिलेको कथारुप यस्तो थियो ।

    आश हराएको जिन्दगी – अल्पबिराम

    कथाको पूर्वाङ्ग :-

    खगिसरा बि क जन्मेको त आँटीघर, मौजा गाउँमा हो । उनी गर्भमा छंदै पाखुरीको घाँस काट्न रुख चढेको बाबु रुखबाट एक्कासि स्वर्ग पुगेको हुनाले आधा टुहुरी त छँदै थिई । गरिबीको सुमेरु चढ्दा चढ्दै आठ वर्षकी खगिसरालाई चटक्कै माया मारेर आमाले पनि स्वर्गको बाटो समातेपछि सहारा बिहीन उनी रुँदै माग्दै जिन्दगीका सरल र बक्र रेखाहरू पार गर्दै पोखरा आई पुगेकी थिइन् ।

    एउटा होटलवालाले दया गरेर भाँडा धुने काम दिएपछि उनको जिन्दगीको गाडा अलिकति सरल रेखामा चल्न थाल्यो । जथराग्नी शान्त पार्ने एउटा मेलो बन्यो । त्यो होटलमा काम गर्ने सोह्र वर्ष ननाघेका अरु पनि थिए । कोही तन्नेरी तरुनी पनि थिए । अन्नपानीको शरीरले अन्नपानी प्राप्त गरेपछि खगिसराको शरीर आकर्षक देखिन थाल्यो । उमेर पुगेपछि यौवनका कोपिला फुट्न थाले, कोपिला फूल बन्यो ।

    फूलमा भँवरा आकर्षित हुनु स्वभाविक हो । भँवराले फूल कुन जातको भनेर सोध्दैन । फूलले पनि भँवराको जात सोध्दैन । खगिसराको त्यही होटलमा काम गर्ने भबेसँग माया पिरती बस्यो । धादिङ्गबाट दश वर्षको छँदा भागेर पोखरा आएको भबेको बोलाउने नाम भबे भए पनि उसको खास नाम भवसागर घर्ती हो । खगिसराको भबेसँग माया पिरती मात्र बसेन एक दिन लगन गांठोमा पनि बाँधिए ।

    अर्काको जुठो भाँडा माझेर बस्नुभन्दा रामघाटको ढुंगा बालुवा बोकेर सुकुम्बासी छाप्रोमा जीवन निर्वाह गर्नु श्रेयस्कर ठाने खगिसरा र भबे दम्पतीले । घडी पला हुँदै भित्ते पात्रोका पानाहरू पल्टिदै महिनाबाट वर्ष बितेपछि खगिसराले घुत्मुने छोरो जन्माइन् । छोरोको नाम आशबहादुर राखे । भविष्यको उज्यालो सपना छोरो जन्मदा भबेले आफ्ना छिमेकीहरूलाई मिठाई पनि बाँडे । साथीहरूसँग बसेर पहिलो पटक रक्सी पनि धोक्यो । खगिसराको थोरै तिनो खुशियाली जीवनमा त्यही रक्सी शनिश्चर ग्रह बनेर प्रवेश गर्यो ।

    एक दिन रक्सी धोकेर ढुनमुनिदै भीरको बाटो आफ्नो छाप्रोमा जाँदै गर्दा भीरबाट गुल्टेर रामघाटको बगरमा बजारिन पुग्यो र ईह लिला समाप्त पार्यो, भबेले ।

    गरिबको लागि दैव पनि अति क्रुर हुँदो रहेछ । खगिसराको जीवनमा दुखको सुमेरु झनै चुलियो । तैपनि उनले हिम्मत हारिनन् । दुध मुखे छोरोलाई काखीमा च्यापेर दुखको सुमेरु उक्लने ओर्लने गर्दा गर्दै छोरो छ वर्षको लागेपछि नजिकैको सामुदायिक स्कुलमा एक कक्षामा भर्ना गरी दिइन् ।

    खगिसराको पहाड जस्तो जीवनमा फेरि अर्को पैर्हो झर्यो । आशबहादुर स्कुलमा खेल्दा खेल्दै आँखामा चुना मिसिएको माटो पसेर देब्रे आँखा दृष्टिबिहीन् तुल्याइदियो । भविष्यको सपना साँचेको छोराको एउटा आँखा कानो हुनु भनेको भबिष्य पनि लङ्गडो हुनु हो …….खगिसराले आफ्नै आँखाको नानी छोरोलाई दान गर्ने निर्णय गरिन् र आँखा अस्पताल लिएर गइन् । आफू कानो भएर पनि छोरोलाई सध्दे बनाइन् ।

    दिन महिना गर्दै एक दशक बित्यो । आशबहादुर सोह्र वर्षे लाठे भो तर खगिसराले कहिल्यै पनि छोरालाई ढुङ्गा बालुवा बोकाउने काममा लगाइनन् । स्कुलको फिस तिर्न नपरे पनि आफ्नो गाँस काटेर, गुन्यु चोलो सत्र ठाउँमा टालेर, जाडोमा बोरा ओढेर छोराको लागि कपि कलम किताब, स्कुलको ड्रेस आदि आवश्यकता पुरा गरिरहिन् ।

    आशबहादुरले पनि कनिकुथी एसएलसी उतिर्ण गर्यो । छोरोले एसएलसी पास गरेको खुशीयालीमा खगिसराले गर्वले छाती फुलाउँदै मेरो आशबहादुरले एसएलसी पास गर्यो नि थाहा पायौ भन्दै सुकुम्बासी छिमेकीलाई मिठाई बाँडिन् ।

    एसएलसी पास गरेपछि छोराले भन्यो,”तपाईंलाई गाह्रो भो हगि आमा ? अब म काम गरेर कमाउँदै क्याम्पस पढ्छु । ”

    खगिसराले जवाफ दिइन्,”भरखरै एसएलसी गरेको छस्, के काम गर्छस् ? तँलाई कसले दिन्छ काम ? पर्दैन काम गर्न, बिए, एमए पढेपछि डाक्टर,वकिल वा प्रोफेसर बन्ने हो ।”

    अशिक्षित र सोझी आमाको कुरा सुनेर छोरोले भन्यो,”होइन आमा ! तपाईंले कुरा बुझ्नु हुन्न क्या ! सरकारी क्याम्पसको न्यूनतम फिस र खर्च धान्न पनि अब तपाईं एक्लैले सक्नु हुन्न । नीजि क्याम्पसको त झन् कुरै छोडौं त्यसैले सानो तिनु जे जस्तो काम गरेर भए पनि गर्छु र पृथ्वी नारायण क्याम्पसमा पढ्छु ।”

    खगिसराले भनिन्,”तेरो पढाईमा कामले बाधा पर्छ नि बाबु ।”

    “पर्दैन आमा ! बाधा पर्दैन,” छोरोले मान्दै मानेन ।

    खगिसराले भनिन्,”लौ त नि बाबु तेरो खुशी गर । तर तँ डाक्टर, वकिल अथवा प्रोफेसर बनेको हेर्ने मेरो ठुलो धोको छ ।”

    छोरो जन्मेदेखि एसएलसी उतिर्ण गर्दासम्म खगिसराको जीवनको गति चरा उडे झैं उड्यो कि बस गुड्दा झैं गुड्यो पत्तै नपाए जस्तै भित्ते पात्रोका पानाहरू च्यातिदै अरु सात वर्ष बित्यो । छोरोले बि कम उतिर्ण गरेपछि एउटा प्राइभेट फर्ममा लेखापालको काम पायो र आमालाई सोध्दै नसोधी एउटी सहचारीसँग बिहे पनि गर्यो । सुकुम्बासी छाप्रोमा बस्न उसलाई एसएलसी पास गरे देखि नै लाज लाग्न थालेको थियो ।

    ———————————

    ब्यस्त सृजना चोक पीच सडकको वीचैमा उत्तानो पल्टेको अवस्थामा एउटा रगताम्य लास परेको छ, लास हेर्नेहरूको भीड छ । जिउँदोलाई लासमा परिणत गर्ने लासको छेऊमा ज्यानमारा माइक्रो बस पनि रोकिएको अवस्थामा छ । प्रहरी आफ्नो कर्तव्य पुरा गर्ने कार्यमा तल्लिन छ । अन्दाजी ४७ । ४८ वर्षको लाग्ने जनाना लासको अँझै पनि सनाखत हुन सकेको छैन ।

    “कसैको जिन्दगीमा त परिस्थिति पनि आततायी भएर आउँदो रहेछ । नालायक कुलाङ्घार भए पनि आमाको लागि छोराको माया अतुलनीय हुँदो रहेछ । छोराको बिछोडमा यो मृतक महिला बहुलाही भएको हुनुपर्छ,” भीड मध्येबाट कसैले भन्यो ।

    अर्कोले सही थाप्दै भन्यो,”हो त नि, छोरा छोरी पाइन भनेर भुतुक्कै हुनु पनि व्यर्थ रहेछ । यो बहुलाही आईमाई मोटर साइकल चढेको जो सुकै युवक भए पनि । ए मेरो बाबु आशबहादुर भन्दै मोटर साईकलको पछि पछि दगुर्ने गर्थी । एक दिन, झन् अस्ति हो क्यारे एउटा रोकी राखेको मोटर साइकलको ठिटोलाई समातेर रुँदै भन्दै थिई – ‘बाबु ! तँलाई त मैले मेरो छोरा भनेको थिएँ तर तँ त स्वास्नीको पोई पो रहेछस् । तँलाई आमाको माया लागेन ?’ त्यो केटो बिचरा अक्क न बक्क भएर मोटर साइकल हाँकेर गयो । यस्तो ब्यस्त सडकमा कराउँदै,चिच्याउँदै मोटर साईकलको पछि पछि दगुर्दा कुनै पनि बेला दुर्घटना हुन सक्छ भनेर प्रहरीले एक दुई दिन थुनेर पनि राखेको हो । तर कति दिन थुनी राख्न सम्भव हुन्छ र ? हिजो मात्र छोड दिएको आज सबेरै यिनले आफ्नो सम्पूर्ण दुख पीडा आदिबाट मुक्ति पाइन् । आजै रहेछ यिनको लेखान्त ।”

    त्यही भीडमा आशबहादुर पनि ट्राफिक जाम भएको कारण बुझ्न मोटर साईकल अड्याएर बसिरहेको थियो आफ्नी सहचारी सुनितालाई पछाडि राखेर । उसले आफ्नै जन्मदात्रीको बारेमा भइरहेको टीका टिप्पणी र भीडको गाईंगुईं सुन्यो । बिच सडकमा उत्तानो परेर मृत्यु आलिङ्गन गरिरहेको लासलाई पनि चिन्यो र आमाले दान दिएको आँखाबाट दुई थोपा आँशु पनि तुरुक्क चुहायो । आफूलाई जन्म दिने आमा प्रति त्यही दुई थोपा आँशु श्रध्दान्जली दिएर पितृ ऋण चुक्ता गर्यो अनि कोही परिचित भेटिएमा मृतकसंगको आफ्नो सम्बन्ध सुनिता सामुन्ने पोल खुल्ने भयले जुन बाटो आएको थियो त्यही बाटो फर्क्यो ।

  2. परिवर्तित रुप निकै खारिएको
    परिवर्तित रुप निकै खारिएको लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *