वर्ष दिनभरि चुल्हा चौका, घाँस दाउरा, मेला पात अर्म पर्म, पानी पँधेरोको बुहार्तन सहेर बस्नु पर्ने हिन्दू नारीहरूलाई तीजको तीन दिन आफ्ना सारा कुण्ठाहरू बिर्सेर नाच गाऊ खाऊ मनोरन्जन गर भनेर पुरुषहरूले दिएको स्वतन्त्रता हो, तीज ।
३६५ दिन नै काममा जोतिएको जोतिएइ हुनु पर्दा त्यसबाट उत्पन्न हुने कुण्ठाले देवी दुर्गा कालीको रुप धारण गरेर हिन्दू नारीहरूले पुरुषवर्गको अहित गर्छ कि भन्ने भयले पौराणिक कालमा (३००० देखि २५०० वर्ष पूर्व) वर्षमा तीन-चार दिन तीजको नाममा नारी स्वतन्त्रता दिएको हुनसक्छ ।
अहिले आएर समाज खुल्ला भैसकेको अवस्थामा यो स्वतन्त्रता पर्व तीजलाई नारी जागृतिको लागि चेतना मुलक गीत संगीत को माध्यमबाट पिछडिएका नारीहरूलाई जागरण गर्नुको सट्टा महिनौं अघिदेखि तडक भडकका साथ भड्किलो, उरन्ठेउलो, उत्ताउलो गीत संगीत पस्केर तीजको चरम दुरुपयोग गरिरहेको पाइएको छ । मनोरन्जनको नाममा छाडा संस्कृति भित्र्याइएको छ ।
अँझै पनि नेपाली समाजमा अधिकांश नारीहरूलाई आफ्नो आत्म निर्णयको अधिकार, घरेलु हिंशा, क्षमता अभिवृद्धि भनेको के हो थाहा छैन । छुवाछुत, देउकी, छाउपडी प्रथाबाट ग्रस्त छन् । छोरा र छोरीमा विभेद हुनाको कारण थाहा छैन ।
यी र यस्तै जागरण मुखी विषयहरूलाई गीत संगीतमा ढाल्न सक्यौं भने यसको प्रभाव गुणात्मक हुनसक्थ्यो होला । महादेव पार्वतीको भजन कीर्तन र आरतिभन्दा कैयौं गुणा बढी पुण्य कार्य हुन्थ्यो होला ।
नारीहरूलाई धेरै स्वतन्त्रता दियो भने मात्तिञ्छन पात्तिञ्छन भनेर हाम्रा पुर्खाहरूले दवाएर राख्नुको कारण कतै सत्य त होइन भन्ने भ्रम परिरहेको छ । यो भ्रम सदाकाल भ्रम नै रहोस् । तीजले नारीहरूलाई सदबुद्धि देऊन् ।
