पाँच मुक्तक (दशैं र आमा)


कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला
लगनको तिथि पर्व गनी गनी, कति औंला भाँच्यौ होला
तिमीलाई केही थाहा छैन आमा ! कुन सङ्कटमा परेको छु
दशैंमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला ।

बन्धकीको बेंसीखेत, साहुले आफ्नै नाममा सार्यो होला
गरिबको को हुन्छ र आफन्त, बिचल्लीमा पार्यो होला
माफ गर है मेरी आमा ! अप्ठ्यारोमा परें यो अभागी
परदेशी छोरालाई सम्झी सम्झी, कति आँसु झार्यौ होला ।

सधैं हुलाकीको बाटो छेकी, चिठी पत्र सोध्छ्यौ होला
हरेक रात भित्ताभरि, अङ्गारले ठाडो धर्सो कोर्छ्यौ होला
उज्यालो भविष्यको खोजीमा बिदेशिएको छोरो न चिठ्ठी न फोन
बाडुली लाग्दा मुटुसँगै मजेत्रोमा, गाँठै गाँठो पार्छ्यौ होला ।

बेंसीखेतमा धानको बाला, लहलह झुल्यो होला
पाखाभरि मखमली, मग्मगाउँदै फुल्यो होला
दशैं आयो गाउँ भरि, म त आउन पाइन आमा !
जमरा र अक्षताले, यो परदेशीलाई भुल्यो होला ।

वर्षे झरी थामिएर, आकास छ्याङ्गै खुल्यो होला
शारदीय हिमचुचुराहरू, सेताम्य हिउँले चुल्यो होला
यो अभागीको जिन्दगीमा, कालो बादल मडारियो
आमा! तिम्रो मनैभरि शङ्का उपशङ्का डुल्यो होला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *