सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछि छोरा क्षितिज, पाँच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट करिब डेढ महिनापछि धर्तीमा आउन ठिक्क परेकी नातिनीसँगैकी बुहारी अलोना मेरो स्वागतमा उभिएको देखें । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको लामो अन्तरालपछि तीन पुस्ता बीचको मिलनले न्यानोपन दिइरहेको थियो ।
फोटोमा देखे पनि आफ्नो तेस्रो पुस्तासंगको पहिलो साक्षात्कारलाई मेरो मनले थाम्न सकेन र नातिनीलाई काखमा लिन खोजें, मानिन । उसकी आमाले “अजी (हजुर आमा) हो नि ! तिम्रो ड्याडीको मम्मी, योर ग्रान्ड-मदर” भनेर परिचय दिएर फकाए पछि बल्लतल्ल मानी ।
ढोग भेटको औपचारिकता पछि हामी ग्रानभिलस्थित घरमा आयौं । जाडोको मौसम भएकोले रात परिसकेको थियो । घरमा पनि मैले नातिनीलाई छोडिन । साँवाकोभन्दा ब्याजको मायाँ कति हुँदोरहेछ यो मेरो तेस्रो अनुभव थियो । नारी वीचको सामिप्यता हो वा रगतको नाता मेरी नातिनी मसँग झ्यामिन थाली ।
“कति क्लासमा पढेकी छ्यौ, नानू ?” मैले गालामा म्वाई खाँदै सोधें ।
ऊ अलमलिई र वावुको मुखमा हेर्न थाली । उनको आशय बुझेर वावु चाहिंले अंग्रेजीमा उल्था गरिदियो । उसले “केजी वन” भनेर जवाफ दिई ।
मलाई ताज्जुप लाग्यो र छोरालाई सोधें “किन क्षितिज ? यहाँ नेपालीमा पढाइ हुन्न र ? तिमीहरू सोफियासँग नेपाली बोल्दैनौ ?”
“कहाँ मम्मी पनि ! यो नेपाल हो र ?” क्षितिजले उल्टै प्रति प्रश्न गर्यो ।
मैले भनेँ, “लौ ठिकै छ, स्कुलमा नेपाली पढाइ हुदैन । तर तिमीहरूले त पढाउन सक्छौ नि !”
“भ्याउन पनि त पर्यो नि मम्मी ! तपाईं भर्खरै आउनु भएको छ, भोलि पर्सी आफै देख्नु हुनेछ यहाँको ब्यस्त जीवन ।”
“मलाई तिमीले आजदेखि मम्मी नभन,” अनायासै मेरो मुखबाट बिरक्तिलो स्वर फुत्त निस्कियो ।
क्षितिज पनि अचम्म मानेर मलाई हेरिरहेको थियो । भात पकाउँदै गरेकी बुहारी पनि आइन् र मुकदर्शक बनेर हेरिरहिन् । केही बेरको असजिलो मौनतापछि हाँस्दै क्षितिजले भन्यो, “आमा, यो दोष त तपाईहरूकै हो । म त तपाईंको दोस्रो पुस्ता । तर तेस्रो पुस्तालाई रोक्न सक्नु हुने छैन । अन्तर्राष्ट्रिय बजारमा बिक्नको लागि अंग्रेजी भाषा अपरिहार्य भैसक्यो, आमा ।”
अनिदो लामो हवाई यात्राले थाकेको हुनाले खानपिन गरिसकेर म ओछ्यान तर्फ लागें । क्षितिजले मम्मीको सट्टा आमा भनेर सम्बोधन गर्दा भने जलेको मन शितलो भयो ।
ओछ्यानमा पल्टेर पनि धेरै बेर निद्रा लाग्न सकेन । क्षितिजको कुरा सही थियो । बाँच्नको लागि तीब्र प्रतिष्पर्धा गर्न नेपाली बजारले थेग्न सक्दैन । साम्राज्यवादी अंग्रेजी भाषा विश्व भाषा बनिसक्यो । स्तरीय जिन्दगी बाँच्न तीब्र प्रतिष्पर्धामा सफल हुनै पर्छ र प्रतिष्पर्धामा सफल हुन अंग्रेजी भाषा जान्नै पर्छ मात्र होइन पोख्त हुनु पर्छ । नेपालमा पनि बोर्डिंग पढ्नेहरू नेपालीमा कम्जोर छन् । कम्जोरै भए पनि जसोतसो नेपाली भाषा पढ्न लेख्न त सक्छन तर प्रवासी नेपालीहरूको तेस्रो पुस्ताले नेपालीको कपुरी “क” पनि नजान्ने हो भने पहिलो र तेस्रो पुस्ता वीच संवाद गर्न दोभाषेको व्यवस्था गर्नु पर्ने छ र बिस्तारै नेपाली भाषा र साहित्य लोप हुँदै जानेछ ।
“संस्कृति त जसो-तसो थाम्लान्, तर भाषाको भने बिजोग हुने भो ।” खुईय सुस्केरा हाल्दै छटपटीमा रात बिताएँ ।
