१) आमा र नेताहरू
कति बाठी छिन् हाम्री आमा मोतीसँग रुद्राक्ष साट्नुहुन्छ
परत्र सपार्न वरत्रमा आफैलाई ढाँट्नुहुन्छ
हाम्रा त्रिकालदर्शी नेताहरूको त झन् कुरै नगरौं
बिपक्षीले उछिन्लान् भनेर आफ्नो कुरा आफै काट्नुहुन्छ ।
२) मृत्यु दान
समस्या ग्रस्तहरूलाई समाधान जीवन साकार बन्ने थियो
अबोध दोषीहरूलाई क्षमा दान दिए सदाचार बन्ने थियो
नर्क तुल्य पीडा बोकेर मुर्दा जीवन बाँचिरहेकाहरूलाई
कुनै अर्थ छैन तुला दान बरु मृत्युदान उपकार बन्ने थियो ।
३) स्वार्थमेध यज्ञ
आकास गङ्गा दूषित पार्ने ताराहरू झर्नु पर्छ
आमूल परिवर्तनको लागि स्वार्थमेध यज्ञ गर्नु पर्छ
विकास होइन बिखण्डनको डर छ महोदय
अब मधेस पहाड आपसमा बसाई सर्नु पर्छ ।
