Skip to content

रामविक्रम थापा

कविता कवि र कविता

हिमाल हाँस्यो कविको कलाले
मुनाल नाच्यो कविकै गलाले
नदी र खोला पहरा रसायो
रचेर राम्रो दिल यो बसायो

पुगेछ टाढा कवि कल्पनामा
रमेर आफ्नै नव सिर्जनामा
छ फूल राम्रो अनि यो सुवास
छ घाम जस्तै प्रखरै प्रकाश

शीतयुद्ध (लघुकथा)

जे नहुनु पर्थ्यो आखिर त्यही भयो । आखिर पनि के भन्ने अन्त्यमा हुनु पर्ने कुरा प्रारम्भमै भई दियो । जसरी हुनु पर्थ्यो त्यसरी भएन । जसरी नहुनु पर्थ्यो त्यसरी नै हुन गयो । स्वाभाविक भएन अस्वाभाविक भयो । अर्थात् प्राकृतिक प्रकृयाबाट गएन, अप्राकृतिक प्रकृयाको अवलम्बन गरियो । कखरामा सीमित हुने पढाइ ज्ञबाट सुरुआत भएपछि अब बाँकी के रह्यो ? आधारशिविरबाट सुरु हुने हिमालारोहण शिखरबाट थालिएपछि यात्राको अब के औचित्य ?

खै त जीवनोपयोगी र व्यवहारिक शिक्षा ?

शिक्षार्जन भनेको सिकाइ हो र सिकाइ भनेको व्यवहारिक परिवर्तन हो । तर व्यवहारिक परिवर्तनको मापदण्ड र सीमा के अनि कति ? यही अनुत्तरित प्रश्नले म रन्थनिएको धेरै भयो । शिक्षार्जन गर्नु भनेको १००मा ३२, ३५ अथवा ४० अंक (त्यो भन्दामाथि पनि) ल्याएर उत्तीर्ण भै प्रमाणपत्र लिनु मात्र हो ? कि रुपैयाँमा रुपान्तरण गर्नु हो ? भौतिक शास्त्रमा स्नातकपछि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेर माध्यमिक शिक्षक (द्धितीय श्रेणी) को जागिर खाँदाको यो साँढे चारदशके उमेरमा पनि बुझ्न सकिन मैले – शिक्षाको परिभाषा र उपयोगिता ।

घर बनाउने साइत

“भोलि मेरो गृहप्रवेशको घरपैँचो कार्यक्रम छ । सपरिवार पाल्नुहोला है, उपसचिवज्यू !”

“घर बनाउन कति खर्च लाग्दो रहेछ खर्दारसाव् ?”

“मेरो तीनतले घर बनाउन बीस लाख लाग्यो । एकतले घर बनाउन उपसचिवज्यूलाई त्यही दशलाख जति मात्र लाग्छ ।”

शिक्षापदकः पुरस्कार कि विकृति ?

कुनै पनि क्षेत्रमा राम्रो काम गरेर उल्लेख्य योगदान दिने व्यक्तित्वलाई कदरस्वरूप पुरस्कार दिइन्छ । पुरस्कार, पदक अथवा सम्मानले कर्मयोगीलाई थप ऊर्जा प्रदान गरेर कर्मक्षेत्रमा प्रोत्साहित तुल्याउँछ । पुरस्कारले पुरस्कृत व्यक्तिलाई मात्र जागृत, उत्तरदायी र सशक्त बनाउदैन । त्यो क्षेत्रका अन्य अभियन्ताहरूलाई पनि कर्मक्षेत्रमा उत्प्रेरणा जगाउँछ । पुरस्कार एकप्रकारको ‘रिचार्ज’ र ‘क्याटालिष्ट’ पनि हो । मान्छे जगाउने र ब्यूँझाउने एउटा सञ्जीवनी बुटी र रामवाण औषधी पनि हो पुरस्कार । पुरस्कार एउटा न्यायिक मूल्याङ्कन र प्रमाणिकरणका अतिरिक्त सामाजिक मान्यता प्रदान पनि हो । यस्तो अमूल्य र अपार महिमाको पुरस्कारको इज्जत जोगाउनु दातृ संस्थाको कर्म र धर्म पनि हो ।

RamBikramThapa-04

यात्रामा

ऊ,तिमी, उनी र म
अर्थात् सहयात्री हामी
बिन्दुहरूको एउटा सरलरेखा
त्यही सरलरेखाका
हाम्रा प्रारम्भिक पाइताहरू
मात्र एकदिनको सहयात्रा
मात्र एकदिनको सहबास
त्यसपछिको विभाजित यात्रा

नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू

२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ ।

हाम्रो नेपाल र हामी नेपाली

अग्लो भन्नु सगरमाथा अझ अग्लो देश
मुटुभन्दा अझ प्यारो आफ्नो भाषा, भेष
जात हाम्रो नेपाली हो, नेपाल यो घर
स्वर्ग भन्नु नेपालै हो, अर्को कुन् पो छ र !

पसिना र औँला रोप्दै गरौँ देश सेवा
सिस्नु अनि सागै मिठो भन्दा पराई मेवा
प्रकृतिले दिएकै छ, के छैन र हाम्रो
रङ्गीचङ्गी फूलबारी देश कति राम्रो !

मतदाता शिक्षा गीत

सुन्नुहोस् है ! मतदाता ताजा खबर छ यो
मङ्सिर चार गते हुने संविधान सभाको
सात बजे शुरु हुन्छ भोट दिने बेला
परिचय– पत्र बोकी सबै हुनु भेला

महिला,पुरुष छुट्टा छुट्टै लाइन बस्नु पर्छ
संविधान बनेपछि देशको सङ्कट टर्छ
हल्का नीलो मतपत्रमा पहिलो मत दिने
त्यसपछि हल्का रातो मतपत्र लिने

साथी

घरबाट निस्केपछि भरोसा हो साथी
आमा, बाबा भन्दा पनि साथी अझ माथि
साथी लौरो, साथी पाङ्ग्रो, साथी ठूलो भर
बिना साथी गन्तव्यमा पुग्ने को पो छ र ?

कालो, मैलो राख्नु हुन्न साथी-साथी बीच
धनी होस् कि गरिब होस् हुन्न उच-नीच
भाका मिल्ने, रुचि मिल्ने अनि मिल्ने लय
साथीसित यात्रा गर्दा हुन्न केही भय

क्याम्पस पढ्ने छोरो

  • by

छोरो क्याम्पस गाको छ
मुन्द्रे फेसन लाको छ
घरमा बस्दा एलर्जी
डिस्को, साइवर धाको छ

क्यान्टीनमा खाको छ
हिन्दी गाना गाको छ
मोवाइल छँदैछ
माया कति लाको छ !

चार आश्चर्यको रहस्योद्घाटन

  • by

‘उनको कविता कसरी त्यत्रो पत्रिकामा एकाएक छापियो? त्यो पत्रिकाको स्तर धान्ने त होइन त्यो कविता !’ महिला भएर होला – कसैले तर्क तेर्स्यायो । महिला त अरु पनि छन् नि– अर्कोले मुख फोर्यो । स्थानीय साहित्यकर्मीहरू आश्चर्यचकित हुँदै रहस्यको गर्तभित्र हराए । वर्षभरि प्रकाशित पत्रिकाका कविताहरूमध्ये उनको कविता सर्वोत्कृष्ट भएर पुरस्कार पाइन् । स्थानीय साहित्यकर्मीहरू दोस्रोपटक अझ ठूलो आश्चर्यमा परे । त्यो पुरस्कार र सम्मानप्रति नै अमिलो वितृष्णा जागेर आयो । एक वर्षपछि त्यही पत्रिका निकाल्ने प्रकाशन संस्थाले उनको कवितासङ्ग्रह छापेर बजारमा ल्यायो ।

अस्वीकृत पुरस्कार

  • by

‘बधाई छ – यो सालको … पुरस्कार तपाईको नाममा घोषणा गर्न पाउँदा हामीलाई सीमाहीन खुशी लागेको छ !’

‘‘आभारपूर्वक धन्यवाद” – आश्चर्यचकित मनस्थितिमा उसले दूरभाषयन्त्रबाटै प्रत्युत्तर दियो ।

‘‘यो छयासीवर्षे उमेरमा … फेरि यस्तो विकट पहाडी गाउँमा बस्दो सम्पर्कहीन म जस्तो बबुरोलाई ! कसले, कसरी सम्झिएर राजधानीको यस्तो पुरस्कार मेरो भागमा पर्यो ?”

ओझेलको साहित्य : ट्रकसाहित्य

  • by

न श्रीमतीको माया न सालीको प्यार ।
दसचक्के ड्राइभरको जिन्दगी बेकार छ यार ।
ना ३ ख ७०६०

गाडी हो दसचक्के हावा दिन्छ फाइबरको ।
दुनियाँका छोरी पोइल जान्छन् दोष किन ड्राइभरको ।
ना २ ख १६५१

मुसुक्क मस्की नहेर कान्छी हरनको तालैमा
अचेलको ड्राइभर उत्ताउलो हुन्छ–किस खाला गालैमा ।
ना २ ख ८२४८/ना २ ख ५००७

नगेन्द्रराज रेग्मीको स्रष्टा सम्वाद

  • by

दुई वा बढी व्यक्तिहरूबीचको वार्ता, संवाद, संवार्ता, कुराकानी, वातचित, सवाल–जवाफ प्रश्नोत्तर, छलफल, अन्तरक्रिया आदिलाई अन्तर्वार्ता भनिन्छ । कुनै पनि क्षेत्र वा विषयमा केन्द्रित रहेर कसैको अभिमत, दृष्टिकोण, मनोभावना र विचार (मनका कुरा) बुझ्नु नै अन्तर्वार्ताको अभीष्ट हुन्छ । प्रायोजित वा आकस्मिक अन्तर्वार्ता लिखित अथवा मौखिक दुई किसिमका हुन्छन् । कुनै उमेद्धारलाई जागिरको सिलसिलामा लिइने अन्तर्वार्ताका अतिरिक्त साहित्य, संगीत, कला, खेलकुद, राजनीति जस्ता विविध क्षेत्रका प्रभावशाली व्यक्तिहरूका अन्तर्वार्ता रेडियो, एफ.एम., पत्रपत्रिका जस्ता सञ्चारका माध्यमहरूले प्रशारण एवम् प्रकाशन गरिरहेको पाइन्छ ।

गुहार (लघुकथा)

  • by

प्रगतिवादी पथको यात्री ऊ अध्यात्मवादी हुदै होइन । मञ्चहरूमा भौतिकवादी दर्शनमा उभिएर भाषण गर्छ र पत्रपत्रिकाहरूमा यही दृष्टिकोणबाट लेखहरू लेख्छ । धामी, बोक्सी, देउता, परलोकादि कुनै कुरामा उसको विश्वास छैन । उसको चेतनाले अदृश्य ईश्वरलाई स्वीकार गर्दैन । अरुले देउता भनेका ढुङ्गालाई ऊ ढोग्दैन र फूलपाती चढाउँदैन । पण्डित, पुजारीबाट टीका थाप्न आफ्नो निधार अगाडि बढाउदैन ।

परारको साल उसले अधिकृत पदमा लोकसेवाको परीक्षा दिएर लिखितमा उत्तीर्ण भयो । अन्तर्वार्ताको दिन बिहानै उसले सबै देवी, देवताहरूलाई सम्झ्यो । पाठी, परेवा, बोका र भेटीपातीको भाकल गर्दै जानेका सबै देवी, देवता र तीर्थस्थललाई अनेक लोभ देखायो । आफूलार्इृ अधिकृतको अन्तर्वार्तामा पास गराइदिन आग्रह गर्दै यदि सफल भएमा ‘भाकल पूरा गर्नेछु’ भन्दै देवी, देवतालाई घूसको जाल फ्याँक्यो । अन्तर्वार्तामा पास भएर ऊ अधिकृत भयो । अब उसले आफ्नो पूर्व भाकल र बोलकबोल सबै बिस्र्यो । पूर्ववत् ऊ विशुद्ध भौतिकवादी भयो ।

रुपान्तरित चुहावट

  • by

गरिबी निवारणका लागि राज्यले गरिबहरूलाई राहत दिने निर्णय गर्यो । गाउँ, गाउँमा गरिबहरूको पहिचान गरियो ।

गरिबीको परिचय-पत्र शिक्षकहरूले पाए, पार्टीका कार्यकर्ताहरूले पाए, टाठाबाठा र बिल्डिङ घरवालाहरूले पाए । परिचय-पत्र सडक आसपासका हर्ताकर्ताहरूले पाए । पर, खोलाछेउमा बस्ने छाप्राका सुकुम्वासीहरू बेखबर भए ।

वसन्त आएन, बाटो नै पाएन (सवाल-जवाफ कविता)

  • by

सवाल कविता : वसन्त आएन
-रामविक्रम थापा

न्यानो आएन
उज्यालो आएन
नाङ्गालाई कपास आएन
भोकालाई भात आएन
रोगीलाई औषधि आएन
बैशाख एक्लै आयो
बसन्त आएन ।

जवाफ कविता : बाटो नै पाएन
-नन्दलाल आचार्य

आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।

संस्कार (लघुकथा)

  • by

ऊ र त्यो दुबै युग पुरुष हुन् । आ-आफ्ना क्षेत्रका यी दुबै महारथी हुन् । दुबैमा उच्च आदर्श र अक्षय महानता छ । निष्ठापूर्वकको आजीवन यात्राका दुबै अथक योद्धा हुन् । आ-आफ्ना क्षेत्रका अद्धितीय हस्ति हुन् । दुबैको आजन्म राष्ट्रिय योगदान अतुलनीय र अवर्णनीय रहेको कुरामा कसैको दुईमत छैन । यस्ता निस्वार्थी राष्ट्रसेवकलाई यो मुलुकले राष्ट्रिय विभूतिमा दर्ता गर्न सक्ने सम्भावना पनि नभएको होइन ।

मन-मस्तिष्क त सबैको केन्द्र नै हुन्छ । सोच-विचारबिना त कुनचाहिँ काम पो हुन्छ र ! उसको हतियार कलम हो भने त्यसको हतियार चाहिँ मुख । एउटा लिखित हो भने अर्को मौखिक । ठ्याक्कै भन्नुपर्दा- ऊ कलमवीर र त्यो मुखवीर अर्थात् कर्मवीर ।