जे नहुनु पर्थ्यो आखिर त्यही भयो । आखिर पनि के भन्ने अन्त्यमा हुनु पर्ने कुरा प्रारम्भमै भई दियो । जसरी हुनु पर्थ्यो त्यसरी भएन । जसरी नहुनु पर्थ्यो त्यसरी नै हुन गयो । स्वाभाविक भएन अस्वाभाविक भयो । अर्थात् प्राकृतिक प्रकृयाबाट गएन, अप्राकृतिक प्रकृयाको अवलम्बन गरियो । कखरामा सीमित हुने पढाइ ज्ञबाट सुरुआत भएपछि अब बाँकी के रह्यो ? आधारशिविरबाट सुरु हुने हिमालारोहण शिखरबाट थालिएपछि यात्राको अब के औचित्य ? बिमारबाट क्रमशः सुरु भएको मृत्यु त कति भयङ्कर हुन्छ । यो त एउटा आकस्मिक मृत्यु र एउटा अनायास्को दुर्घटना !फेरि दुर्घटना भनेर यो कुनै गाडी दुर्घटना होइन, हवाईजहाज दुर्घटना होइन र होइन कुनै रेल दुर्घटना पनि । जीवन दुर्घटना भन्ने कि के भन्ने यसलाई?जीवन दुर्घटना भनेर यो कुनै भौतिक शरीरको अवसान पनि होइन । आत्माको दुर्घटना भन्नु पर्ला कि यसलाई?
अचानक मन फाट्यो र सिउँनै नसकिने भयो । मन फाट्यो भनेर बोलचाल नै बन्द भएको पनि होइन फेरि । अहम्को छुरा चलेर अकारण यस्तो भयो । त्यस्तो उल्लेख्य कारण पनि होइन केही । कारण त छ तर सामान्य । त्यस्तो भुसुनो कारक तत्वलाई पनि के कारण भन्ने? भएको के हो सकारण छिटो बता पनि भन्न सक्नुहुन्छ उसलाई तपाईहरू । बताउनै पर्ने त्यस्तो आकर्षक कारण नै छैन ऊसित । यो त झिल्कोले वन डढाएको र भुसुनोले हाती लडाएको जस्तै सामान्य कारणको कुरा हो । कारण सामान्य भए पनि कार्यचाहिँ भयङ्कर लाग्छ ।
एक मन त नलागेको होइन कि घोषणा गरेरै गृहत्याग गरुँ । तर घोषित कार्य त अँझ प्रलयकारी र बाध्यकारी हुन्छ । के हो-के हो, भोलिको कुरा कसले जान्दछ ? मनमनै दृढ अठोट गर्यो र अघोषित रुपमै उसले गृहत्याग गर्यो । गृहत्याग भनेर साधु, सन्त र जोगी भएर सदाका लागि हिँडेको पनि होइन ऊ । कुनै जङ्गल, कुटी र तीर्थस्थलमा साधना र योग गर्न पनि छाडेको होइन उसले घर । आफ्नो कार्यस्थलतिर नियमित कार्यमा बढीमा एकमहिनालाई निस्केको हो ऊ घरबाट । सदाझैँ झोला बोक्यो र लौरो टेक्यो तर सदाझैँ कसैसित बिदा मागेन । एक शब्द नबोली चुपचाप घरबाट निस्केर हिँड्यो ऊ, दह्रो आत्मविश्वास र एउटा दृढ सङ्कल्प बोकेर ।
मन अमिलिएपछि सम्बन्ध धमिलिन के बेर? अनुमानको क्षितिजबाहिर (पर) छ भविष्य! “आधी बाटोमै छुट्न लाग्या हो त हाम्रो बीसवर्षे सहयात्रा”—झोला बिसाएर चौतारीमा सोचमग्न ऊ । दोबाटोको सङ्घारमा दिग्भ्रमित यात्री ऊ ।
के होला, एक महिनापछिको उसको गृहप्रवेश?अहम्को छुराले लोग्ने—स्वास्नीको सम्बन्ध भन्छ कि भन्दैन?उत्तराधुनिक आजको वैज्ञानिक जमानामा खिया परेको उखानले काम गर्छ कि गर्दैन?बाजेको पालाको “लोग्ने—स्वास्नीको झगडा परालको आगो” आज नातिका पालामा सार्थक कि निरर्थक? प्रश्नै, प्रश्न छन् उसका टाउकाभरि । मात्र अनुत्तरित प्रश्नहरू । यस्ता द्धन्द्ध र अन्तरद्धन्द्धहरू हिउँझैँ पग्लिएर सानन्द र हर्षको नदी बगे त दुःख एव म पीडा त सफाचट हुने थिए यो सारा संसारबाटै ।
एकमनले सोच्छ ऊ—“गल्तीको प्रारम्भ त मबाटै भएको हो । छिमेकीको घरमा एकाध घण्टा स्वास्नी गफ गर्न जाँदैमा त्यसरी ढोकाको चुकुल लाएर सुत्न नहुने मैले!”फेरि अर्को मनले ऊभित्रको पुरुष—अह म बोल्यो—“हैन त्यसरात उनी अर्को कोठामा सुते पनि भोलिपल्टको रात त कोठामा आउनु पर्ने नि! ऊ मेरी स्वास्नी र म त्यसको लोग्ने पो हुँ त!”
कसलाई कसको आवश्यकता? लोग्नेलाई स्वास्नीको कि स्वास्नीलाई लोग्नेको?कहिलेसम्म हो यो शीतयुद्ध?को हुनेछ यो शीतयुद्धको विजेता? त्यो त भविष्यले बताउला ।
रामविक्रम थापा
फाक्टाङ २, कृष्णगर्त, खोटाङ
