ऊ,तिमी, उनी र म
अर्थात् सहयात्री हामी
बिन्दुहरूको एउटा सरलरेखा
त्यही सरलरेखाका
हाम्रा प्रारम्भिक पाइताहरू
मात्र एकदिनको सहयात्रा
मात्र एकदिनको सहबास
त्यसपछिको विभाजित यात्रा
घामसितको एक्लो यात्रा
जूनसितको एकल बास
घामले नापेका यत्तिका वर्ष
पानीले पार गरेका नदीका लम्बाइहरू
जीवनको यो ठाडो उकालो
समयको यो कुइनेटोमा
परस्पर अदृष्य हामी सहयात्री
आजैको अखबारमा पढेँ –
ऊ चन्द्रमामा हाँसिरहेको
तिमी उत्तरी ध्रुवमा नाचिरहेको
उनी सगरमाथामा उभिइरहेकी
देश र अञ्चलको के कुरा
जिल्लाको सीमाना पनि निकै पर
ओल्लो गाउँदेखि पल्लो गाउँ पुगेर
थाकेर बिसाइरहेको बिचरो म !
इन्टर्नेट युगको पर्दा पछाडि
बेखबर थिएँ म निरुपाय
कसैले गरिदियो रहस्योद्घाटन –
ऊ रकेटमा सवार भएछ चन्द्रमा
तिम्रो हवाईजहाजको ध्रुवीय यात्रा
उनको हेलिकेप्टरको उडान
र मेरो यात्राका सारथि दुई पैताला ।
रामविक्रम थापा
फाक्टाङ–२,कृष्णगर्त, खोटाङ
