‘बधाई छ – यो सालको … पुरस्कार तपाईको नाममा घोषणा गर्न पाउँदा हामीलाई सीमाहीन खुशी लागेको छ !’
‘‘आभारपूर्वक धन्यवाद” – आश्चर्यचकित मनस्थितिमा उसले दूरभाषयन्त्रबाटै प्रत्युत्तर दियो ।
‘‘यो छयासीवर्षे उमेरमा … फेरि यस्तो विकट पहाडी गाउँमा बस्दो सम्पर्कहीन म जस्तो बबुरोलाई ! कसले, कसरी सम्झिएर राजधानीको यस्तो पुरस्कार मेरो भागमा पर्यो ?”
‘‘कि यो सपना हो ?” उसले आफ्नो तिघ्रामा चिमोट्यो ।
चिमोट्दा दुखेकाले सपना नभएर विपनै भएको निष्कर्षमा पुग्यो । आत्माभित्रैदेखि उसको मुहारमा खुशीको सुनाखरी फुल्यो ।
‘‘विगत वर्षहरूमा यो पुरस्कारबाट को – को पुरस्कृत भएका थिए ?”
सोध्नासाथ उताबाट दूरभाषयन्त्रमा जवाफ आयो – ‘परारको चम्चाप्रसादलाई र पोहोरको भाटकुमारलाई प्रदान गरिएको थियो ।’
अनायास् उसको मन अमिलियो र मुहार धमिलियो । खुशीको बेलुन प्याट्टै फुट्यो । ऊ विगतमा पुग्यो र आफ्नो भूतपूर्व विद्यार्थी चम्चाप्रसादलाई सम्झियो । आगतमा फर्केर आफ्नो कान्छो छोराको छोरो, नाति भाटकुमारलाई सम्झियो ।
आफ्नो स्वाभिमानमा गहिरो चोट लागेको उसलाई अनुभूति भयो । आफ्नै भूतपूर्व विद्यार्थी (चेलो) र नातिले पाइसकेको पुरस्कार ग्रहण गरेर गुरू र हजुरबाको मानमर्दन गर्नु उसले उचित ठानेन ।
‘‘यो अविचल धैर्यतालाई भङ्ग गर्दै यस्तो पवित्र जिन्दगीलाई किन अन्तिममा कलङ्कित बनाउँ !”
उसले त्यो पुरस्कार ग्रहण नगर्ने निर्णय गर्यो र कोल्टे फर्केर आनन्दले निदायो ।
रामविक्रम थापा
खोटाङ
मो.नं. ९७५३००४३६०,