साहित्य कुसुम
तुलहरूको देशमा
बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू
सावधान प्रिन्टरहरू
प्रिन्टरले संकेतका भरमा
निर्देशन र सुचनाहरू चुपचाप छापिरहन्छ
प्रिन्टरले अक्षरहरू पढ्दैन अथवा वुझदैन
मात्र निर्देशन फटाफट छाप्छ
किनकि शव्दहरू सँग
उसको कुनै सम्वन्ध हुँदैन
उसका आफ्ना शब्दहरू पनि हुँदैनन्
त्यसैले प्रिन्टरको
शब्द प्रति कुनै मोह हुदैन
प्रिन्टर सँग छाप्न हुने वा नहुनेको
कुनै विवेक विन्दु हुदैन
इलाम र काठमाडौं
एकगासकै लागिमात्र त्यागेर स्वाभिमान
काठमाडौंसँग दयाको हात पसार्दैन इलाम
निसास्सीदो कन्यामको कुहिरोले
जबरजस्ती मुख छपक्क छोप्दा पनि कहिलै
अत्यासले काठमाडौंको उपनिवेश स्विकार गर्दैन इलाम
हरेक मिरमिरेमा आँखाभरी रातो घाम सजाउने बेला
आतंकको नयाँ समाचार सुन्न त्रस्त काठमाडौं मिच्दै हुन्छ
अश्रुग्यासले पोलेका आतंकित आँखाहरू !
मौनधारण
वियोगको असीम पीडा साँचेर छाती भरि
सदियौ देखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
वाफिएका आक्रोसका नीर विन्दु भित्र
निथु्रक्क रूझेका परेला मुन्तिर
अथाह कोलाहल हुनुपर्थ्यो वियोगको मध्यान्हमा
प्रतिशोध उम्लेर छातीका कडा भित्ताहरूबाट
शक्तिशाली विष्फोट उठ्नुपर्थ्यो रातका आघातहरूमा
क्षितिजको पल्लोछेउसम्म लामबद्ध उभिएका छन्
युद्धका सिपाहीहरू आफैलाई अड्याएर बन्दुकको मुखनेर
सदियौदेखि मान्छेहरू मौनधारण गर्ने गरेका छन् ।
शौचालय – २
लुछेर वस्तीका हजारौं
कुमारी युवतिका कोमल अंगहरू
बटुलेपछि धार्नीका धार्नी अवैध सून
बनाउँछन् बादशाहहरूले सुनैसुनका शौचालय
अनि पार्टी कार्यालय जस्ता घरका मालिकहरू
निस्कन्छन् हरेक दिन पूजा गर्न त्यो शौचालय
सकेपछि त्यो प्राचीन शौचालयको नवीन पूजा
हठात फोहोर गर्न छिर्छन मान्छेहरू
स्कुल वा सार्वजनिक इनार तिर
सद्दाम र हामीहरू
सद्दाम!
हामी फाँसी दिदैनथ्यौं तिमीलाई
दर्जनौ मान्छेको हत्या गर्ने
नरभक्षी शासकलाई पनि हामी
ससम्मान दरवारमा बस्न दिएर पाल्छौं
उसैका सेवामा टक्र्याउँछौ
करोडौंमान्छेका रगत र पसीना
दुजेल नभए दोरम्बा-सुखानी छन् हामीसँग
तेलका कुवा नभए पानीका छहरा छन् हामीसँग
वाज उड्ने समुद्री किनारा नभए
वीर छाति माथीको टिङ्गकरमा
विदेशी सैनिकका बंकरहरु छन् हामीसँग
