Skip to content

मोतिको प्याला र जुठो मदिरा

  • by


साँझ,
नीलो मोतिको प्यालाका कम्मरमा
आवद्ध हुन्छन् सुनका सिक्रीहरू
छातिमा सजिएका हुन्छन हिराका कलात्मक टुक्राहरू
भरिएको हुन्छ त्यसैमा बेजोड स्वादिलो स्थानीय मदिरा
यसरी समुस्कान स्वागतमा उभिन्छे
एउटी छल्किन तयार प्याला
हरेक प्यासीसाँझका आवेगहरूनेर !

विहान,
तिर्थयात्रीको पदचापले ब्यूँझँदा झसमिसेमा
वरिपरि असरल्ल हुन्छन्
वेवारिस जुठा मोतिका प्यालाहरू
म स्वयं उठाउन सक्तिन
जुठा मोतिका प्यालाहरूमा बाँकी
सस्तो स्थानीय मदिराको स्वादिलो थेग्रो
हठात्, छोडेर ती अनमोल प्यालाहरू नै
पावन जलको नाममा
अलिकति कालो बागमती प्यूछु
पवित्र भनिएको सस्तो काँचको प्यालामा

बोकेर कलसमा पवित्र जल
फर्कदै गर्दा घाटहरूबाट
अलमलिएर रोकिन्छु दोबाटोमा
मदिराको मादक गन्धसँगै
पछ्याएर मुस्कानको इसारा
मैले हरेक पल्ट विराउँछु
मन्दिर जाने बाटो
अनि रोज्छु मद्शालाको नीलो गोरेटो

दिउँसो,
ज्यासलमा बसेर घोटिरहदाँ सधैं झैं कसीमा
कुनै लजालु प्रेमीको पानपाते स्वर्णहार
मलाई कदाचित याद हुन्छ
साँझको एकप्याला मुस्कान
एक अंगालो थकान
स्वादिलो मदिराको थेग्रो
नीलो मोतिका बेवारिस जुठा प्यालाहरू
(भाद्र १५, २०६१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *