Skip to content


सद्दाम!
हामी फाँसी दिदैनथ्यौं तिमीलाई
दर्जनौ मान्छेको हत्या गर्ने
नरभक्षी शासकलाई पनि हामी
ससम्मान दरवारमा बस्न दिएर पाल्छौं
उसैका सेवामा टक्र्याउँछौ
करोडौंमान्छेका रगत र पसीना
दुजेल नभए दोरम्बा-सुखानी छन् हामीसँग
तेलका कुवा नभए पानीका छहरा छन् हामीसँग
वाज उड्ने समुद्री किनारा नभए
वीर छाति माथीको टिङ्गकरमा
विदेशी सैनिकका बंकरहरु छन् हामीसँग

तिमीले सत्तामा टिक्न यहाँ
चुनावको नाटक सम्म पनि गर्नु पर्दैनथ्यो
मान्छे मार्नका लागि विदेशी हतियार बोकेर बाजहरु
आफै तिमी कहाँ आउँथे
उनीहरुनै तिमीहरुलाई
आम नरसंहारको तालिम दिन्थे
पशु जस्ता खैराहरु वदमासहरू
अधिकारवादका नाटक मञ्चन गर्न उतैबाट आउथे
उनीहरुले खाने हरियो घाँस पनि उतैबाट आउथ्यो
ती घाँस खाने खसीले
विरोध जस्तै देखिने गरी समर्थन गर्थे
तर,
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम!
●●●
हामीले एउटा आयोग बनाउथ्यौ
कार्यवाहीका गुड्डी हाक्थ्यौ क्रान्तिकारी भाषण गर्थ्यौ
अनि तिम्रो अग्लो दरवारका अगाडी
हाम्रो त्यो लिलिपुट आयोग
मुसाको आवाजमा वेस्सरी डुक्रन्थ्यो
तिमी मस्त निद्रामा घुरेको आवाज सुन्दा डराएर
हाम्रो आयोगले तिमीलाई सिफारिस गरेको सजायँको दफा
रातारात हटाउँथ्यो आफ्नै प्रतिवेदनबाट
तिमीलाई “डामेको साँढे” जस्तै सडकमा निस्पि्कक्री छोड्थ्यौ
अनि ‘साँढे छोड्नु हाम्रो संस्कृति हो’ भन्दै
हामी निर्लज्ज सडकमा वकालत गर्दथ्यौ
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम !
●●●
वाजहरुको आफ्नो राष्ट्र हुदैन
उनीहरूलाई मन पर्दैन राष्ट्रवाद
कुल्चेर कुनैपनि मानवताका सीमाहरू
वाजले जिउँदो मान्छेलाई
लाश घोषणा गर्छ र लूछ्छ
तिमीले जेसुकै अपराध गरे पनि
राष्ट्रवादी हुनु हुँदैनथ्यो वाजका अगाडि !
आफ्नै शरीरको मासु खान खोजे पनि
तीनै हिंस्रक फटाहा वाजले
तिमीले धपाउनु हुदैनथ्यो रे उसलाई
बरु सट्टामा तिमीले अरु सयौं शरिरको
मासु खान छुट पाउथ्यौ

सद्दाम!
अब तिमी कहिल्यै नेपालमा नजन्म
किनकी तिमीलाई हतियार दिने
नरसंहारको विभत्स योजना दिने
अखण्ड सहयोग दिने
तिम्रा अत्याचारलाई मान्यता दिने
तिम्रा तानाशाहीलाई सहारा दिने
नयाँ क्रान्तिका नाममा निहत्थाका हातखुट्टा भाँच्न दिने
अमानवताको सट्टामा
हामी लोकतान्त्रिक गणतन्त्र ल्याएकाछौं

त्यसपछि
न तिमी जन्मिनेछौ हाम्रो धर्तिमा
न तिमीलाई जन्माउनेहरू जन्मिनेछ हाम्रो धर्तिमा
मात्र नयाँ यूगीन बुद्धहरु जन्मिनेछन्
हाम्रो प्यारो धर्तिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *