Skip to content

गति केन्द्र र अस्तित्व

  • by


नीचोरेर त्रस्त चिसा पसीनाहरू
रातको रखवारी गर्दै
चिसो जून घुम्छ निरन्तर
पृथ्वीको केन्द्र समातेर नियमित बक्ररेखामा
पृथ्वी पनि घुम्छ सूर्यको केन्द्र समातेर
अनन्त अस्तित्वको लागि परिभाषित बक्ररेखामै
जलाएर करोडौं हेलियम कणहरू छातीमा
सूर्य पनि निरन्तर घुम्छ नियमित बक्ररेखामै
निश्चित केन्द्र विन्दु समात्दै विशाल जिम्मेवारी बोकेर
अस्तित्व-सूत्रहरूका लागि
आकास गंगा पनि घुम्छ निरन्तर
अस्तित्वकै लागि घुम्नुपर्छ सबैले
कुनै न कुनै केन्द्र विन्दूमा
सबैलाई चाहिन्छ एउटा ‘ग्यालेक्टिक सेन्टर’

अन्यथा,
टुक्रिएका प्रेमकथाको मिथक जस्तै
उल्कापिण्डहरू खसेर हराएको आकाशमा
हराउने गर्दछन अनियमित गतिहरू
केन्द्र विन्दुहिन घुमाइहरू

त्यसैले, सोध्न सक्छ पृथ्वीले
ए मान्छे ! खै तिम्रो केन्द्र विन्दू ?
खै नियमित यात्राको बक्ररेखा ?
खै तिम्रो सूत्रबद्ध गति ?

यदि छैन भने समुचित जवाफ यी, समय प्रश्नको
नानीहरूले तिम्रो पनि इतिहास पढ्नु पर्नेछ,
खस्दै गरेको उल्काको धरातलमा
एउटा निरर्थक उर्जाहीन फिलिङ्गोको कथा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *