Skip to content


डम्म फैलिएका छन् सदियौं देखि
फूलबारीमा थरिथरिका झारहरू
तुलसी उखेलिने डरले
हिन्दुहरू झार नउखेल्न भन्छन्
जीवहत्याको डरले
वौद्धहरू झार नउखेलौ भन्छन्
कुरान साक्षी राखेर
मुस्लिम मरूभूमिमा झार बचाऔं भन्छन्
चिहानमा रोपेका विरूवा उखेलिने डरले
इसाई झार नउखेल्न भन्छन्
यसरी नउखेलिदा झारहरू बर्षौसम्म
अचेल झारहरू जुलुस गरी रहेछन्
फूलहरू विस्थापित फूलबारीमा

कहिलै माली बन्न नसकेका बन्दुकहरूले
फुल जसरी फूलेका झारहरू देखाएर
फूलबारीमा आरक्षण मागेका छन्
पेशेवर खैरा सिकारीहरू
देखाएर वातावरणका कुरा
झार जोगाउन उपदेश दिइरहेकाछन्
एक हुल छद्म खेलाडीहरू
खेलका लागि मैदानमा झार हुनैपर्छ भन्छन्
अर्को कुनाबाट चर्न निस्केका एकहुल ध्वंसक पशुहरू
उठाउँदै गाँसको गम्भीर प्रश्न
मैदानमा झार रहनै पर्छ भन्छन्
झार उखेल्ने वर्कत हराएको
एउटा बृद्ध आलंकारिक किसान
भोका सन्ततीको अग्रपङ्तीमा
झारै झारले ढाकेका बाँझो खेतनेर
पुर्ख्यौली मौजाबाट लखेटिएको जमिनदार जस्तै
अलमल्ल उभिएको छ

झारका व्यवसायीहरू हडपेर किसानका मञ्चहरू
देखाउँदै फूलजस्तै देखिने झारहरू
आँखा थुनेर चर्को स्वरले भनिरहेछन्
कहिले अन्त हँदैन झारहरूको
– खेतमा बारीमा वा बाटोमा
– मन्दिरमा घरमा वा अफिसमा
– टावरमा पुलमा वा बाँधमा

के हामी चुपचाप हेरिरहन सक्छौं?
हाम्रै शरीरमा उम्रेका
ऐंजेरू जस्ता यी विशालु
थरिथरिका झारहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *