एकगासकै लागिमात्र त्यागेर स्वाभिमान
काठमाडौंसँग दयाको हात पसार्दैन इलाम
निसास्सीदो कन्यामको कुहिरोले
जबरजस्ती मुख छपक्क छोप्दा पनि कहिलै
अत्यासले काठमाडौंको उपनिवेश स्विकार गर्दैन इलाम
हरेक मिरमिरेमा आँखाभरी रातो घाम सजाउने बेला
आतंकको नयाँ समाचार सुन्न त्रस्त काठमाडौं मिच्दै हुन्छ
अश्रुग्यासले पोलेका आतंकित आँखाहरू !
ढाकेर रामनामीको पहेंलो पछ्यौराले फोहरका घिनलाग्दा
संक्रामणका थुप्राहरूलाई चढाएर टेलिभिजनका
तरंग टावरहरूमा काठमाडौं
इलामको विरूद्धमा चिच्याइरहेको वेला
अम्रिसोघारीमा इलाम कूचो बनाउने तयारीमा निमग्न हुन्छ
कूचोमा बारूद हँदैन गोली र अपमान हँदैन
हँदैनन् डरलाग्दा निर्मम बुटहरू
तर फोहोरहरूलाई पर्याप्त आतंक हुन्छ
काठमाडौं बिष्णुमतीको घिनलाग्दो पानीलाई
पुराणको थोत्रो अवतारी कथाको आधारमा
अपूर्व जल भनेर शान्ति स्वस्ती गरिरहेको बेला
त्यही दुर्गन्धित पानीले
मान्छेका शरीरमा निस्केका एलर्जिका फोकाहरूलाई
माईखोलाको कञ्चन पानीले सफा गर्ने तयारी गर्छ इलाम !
समयले गाडेका इतिहासका चिहानवाट
झकेर दूर्गन्धित लासहरू
सडेका अरूचीपूर्ण ती अनुहारलाई
जब पूजा गर्न आदेश दिन्छ, काठमाडौं!
त्यतिबेला इलाम फिक्कलमा अर्को लिगलिगे
दौडको तयारीमा जुटिरहेको हुन्छ
अर्को नव यूगनायक चुन्ने तयारीमा हुन्छ
मध्यरातमा
कुनै विक्षिप्त चालकले हाँकेको बिशिष्ट बाहनले
कुल्चीरहँदा मदल, डम्फु र सारङ्गीहरू
गबुवा भरी दूध बोकेर मोफसलबाट
शालैज्यूको भाकामा वियोगान्त गीतहरू
गाइरहेको हुन्छ इलाम
सदरमा आफ्नै प्रियतम हराएको
ती वेदनाका आवाजहरूबाट
अताल्लीएर काठमाडौं उभ्याउँछ इलामको छातिमा
हेलिकोप्टरबाट ओसारेर आतंकको निरीह छायाँ
त्यतिवेला इलाम टिप्दै बटुली रहेको हुन्छ
कलिला चियाका मुनाहरूसँग
जनजाती आस्थाको अनाम इतिहास
रोपिरहेको हुन्छ ईलाम चियावगानको पवित्र माटोमा
रत्नकुमार वान्तवाको सहादतको महान कथा
गोलाखर्क इलाम, २०६२ भाद्र २६

its good keep it up guys
its good keep it up guys