Skip to content


हो सताब्दीयौँ देखि निरन्तर
मौरीको घारमा रहन्छे रानी
तर पनि त्यहाँ हुदैन कुनै प्रकारको राजतन्त्र

आफ्नै सन्तानलाई दुध चुसाउन मौरीले
धाई राख्दैनन् घारमा
खानैले खाई मात्रै रहने
काम गर्नेले गरिमात्र रहने गरी
बोक्रे सम्झौतामा मेलमिलाप गर्दैनन् मौरीहरू
गुटगत नीलो स्वार्थले घारहरूमा कहिलै विभाजन हुदैन
घारमा नयाँ रानी विदेशी चलखेलबाट पनि बनाईदैन

साहू बाले हिजो मौरी पढाउँथे हामीलाई
सिकाउँथे विद्रोहहीन श्रमका कथा
सेरेमोनियल बाजेले आज पनि
अगाडि राखेर मौरीको रानी
निर्लज्ज सिकाउँदैछन् श्रीपेचसंग राष्ट्रियताका कुरा
अपूर्ण कथा हालेर कर्मीमौरीको
वकालत गर्छन मृत शान्तीको
ए बाजे, घरैमा मौरी पाल्ने किसानहरूका अगाडि
अब सम्भब छैन झूठ बोल्न

मौरीहरू स्वतन्त्र घुम्छन साझा फूलवारीहरूमा
मौरीहरूले डर मान्दैनन् जमिनदारका धनी पूर्जाहरूसंग
कुनै कानूनले रोक्न सक्दैन जङ्गलमा बस्ने आदिबासी जस्तै
स्वतन्त्र विचरण गर्न मौरीहरूलाई
भिन्न भिन्न जातका मौरीहरूमा पनि
जातीय पहिचानको द्वन्द्व छैन
सबै मौरीहरूले स्वछन्द गतिमान हुन गुनगुनाउँछन्
एउटै अन्तराष्ट्रिय गीत
सृजनाका अभियानमा सहजै प्राणआहुति गर्छन
दासताका अर्चना लेख्न सक्दैनन् मौरीहरू
हो सताब्दीयौँ देखि निरन्तर
मौरीको घारमा रहन्छे रानी
तर पनि त्यहाँ हुदैन कुनै प्रकारको राजतन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *