Skip to content


पहिलोपल्ट कसले राख्यो होला इश्वरलाई
सजाएर वजारको शोकेसमा ?
पहिलो पल्ट कुन बजारबिदले गय्रो होला
इश्वर “ब्राण्ड”को नामाकरण ?
खगोल बिज्ञान वा ज्योतिषशाश्त्रले मोडेर
“फिनिसिङ्” गरिएको इश्वरलाई हाल्न
कसले प्याकेटको डिजाइन गरे होला?
अनि पहिलोपल्ट कसले तयार पारे होला?
कुरान, वाईवल, त्रिपिटक वा पुराण जस्ता
माधक प्रचार सामग्रीहरु
लामा, पुरोहित, पादरी, मौलाना वा त्यस्तै
आक्रमक “मार्केटि‹” एजेण्टहरु

पहिलोपल्ट
कुन उत्पादकले तयार पारे होला इश्वरको
बृहद उत्पादनको “कन्भेएर वेल्ट” ?
अनि पानीजहाजमा लादे होला बिश्व बजारकालागि
पहिलोपल्ट कुन वजारशाश्त्रीले बनाए होला
कुनै भन्सारले रोक्न नसक्ने
इश्वर वितरणको यो विशाल रणनीति
पहिलोपल्ट कसले खोले होला
इश्वरको विशाल “डिपार्टमेण्टल स्टोर”
अनि नामाकरण गरे होला त्यसैलाई
मन्दिर, मस्जिद, गूम्बा वा गिर्जाघर

अब चिन्न जरुरी भैसकेको छ
ती वितेका यूगका इश्वरका थोक बिक्रेता
अर्वपति मठाधीश ब्यापारीहरुलाई
अब चिन्न जरुरी भैसकेको छ
परिभाषाहरुकै यो अन्तरमहादेशीय ब्यापारलाई
अनि ल्याउनुछ श्रम-करको अन्तराष्ट्रिय दायरामा
जीवनको संविधान भन्दा माथि कोहि हुनेछैन
आइन्दा यो हाम्रो नयाँ संसारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *