Skip to content


वियोगको असीम पीडा साँचेर छाती भरि
सदियौ देखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
वाफिएका आक्रोसका नीर विन्दु भित्र
निथु्रक्क रूझेका परेला मुन्तिर
अथाह कोलाहल हुनुपर्थ्यो वियोगको मध्यान्हमा
प्रतिशोध उम्लेर छातीका कडा भित्ताहरूबाट
शक्तिशाली विष्फोट उठ्नुपर्थ्यो रातका आघातहरूमा
क्षितिजको पल्लोछेउसम्म लामबद्ध उभिएका छन्
युद्धका सिपाहीहरू आफैलाई अड्याएर बन्दुकको मुखनेर
सदियौदेखि मान्छेहरू मौनधारण गर्ने गरेका छन् ।

मौनताको अनन्त साम्राज्यमा
मान्छेका मौनतावाट थाकेका पहाडहरू
बल गरेर चिच्याउँछन्
तर, आवाजहरू मान्छेका
नाङ्गा पाइतलामुनि किचिन्छ पल―पल
र मौनताको साम्राज्य अझ विस्तृत बन्छ।

आज केही मौनताहरू
मित्रताको हत्केलाहरूमा छन्
स्वागतका आँखाहरूमा छन्
केही मौनताहरू रगतका बगाइहरूमा छन्
विद्रोहका ढुकढुकीहरूमा छन्।
किनकि सदियौदेखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
असीम पीडाका अनुभूतिहरूमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *