Skip to content


फुत्किएको मालिकका खुट्टाहरुबाट
मन पर्दैन पाउजुहरुलाई
आफ्नो मसिनो आवाज
सुम्पिन्छन् मालिकहरुका पाऊमा
बेरिइरहन्छन्, टासिइन्छन्, निशर्त कुल्चिइरहन्छन्
तर पनि कहिलै दुख्दैन
पाउजुहरुको स्वाभिमान !

कहिले नीलाखुट्टाहरुमा
कहिले पहेला खुट्टाहरुमा
कहिले राता खुट्टाहरुमा
पाउजुहरु हल्लाहरुको मन्द आभाष मात्रले
निशंकोच वा निशर्त फेरिईरहन्छन्
नयाँ समयहरुसँगै अपरचित खुट्टाहरुमा
जीवनहीन पाउजूहरुलाई के मतलव नवीनताको
तर पनि निरन्तर जारी छ पाउजुहरुको
कथित नवीनताको उत्तरआधुनिक खोज

निलो बर्तमानको एन्टी क्लक यात्रामा !
पाउजुहरले व्यापार गर्छन र सेवाको अभिनय गर्छन
पाउजुहरु वेश्यावृत्ति गर्छन र राजनीतिको अभिनय गर्छन
पाउजुहरु मृत्युको अभ्यास गर्छन र जीवनको अभिनय गर्छन
खुट्टाहरुको रङ्गले फरक पार्दैन पाउजुका आवाजहरुलाई
खुट्टाका गन्तब्यहरुले बद्ल्दैन पाउजुका मनोवृत्तिहरुलाई
पाउजुले गाएका सुमधुर दासताका संगीतहरुमा
विपनामै नाचेको देख्न सकिन्छ बजारमा
स्वाधिनताको सुदूर यात्रामा निस्केका
शालीन खुट्टाहरु पनि

खुट्टामा झूण्डिनू परेकोमा पाउजुहरुले गुनासो गर्छन्
झूण्डिन चाहान्छन् टाउकोमा, गलामा वा छातिमा
सुकसुकाउँदा सरीरहरुलाई थाहा हुदैन
टाउको भित्र झुण्डिएको हुन्छ वास्तविक पाउजू
नलगाउदैमा खुट्टाहरुमा सुनका कुनै पाउजुहरु
कहिलै मुक्त हुन सक्दैनन् सरीर
नफुकाले सम्म टाउको भित्र झुण्डिएका नीला पाउजु
गणतन्त्र ब्राण्डका नयाँ एसेम्बल्ड पाउजूहरु
रातो कपडामा पनि बेरिएका हुन्छन्
टाउकामा बाधिने ती पाउजुहरु
खुट्टा लगाइने सुनका पाउजुहरु भन्दा
धेरै डर लाग्दा छन्

साढे अठारसय वर्षभन्दा पनि पुरानो छ पाउजुको इतिहास
तिमीले पढ्न अस्वीकार गरेपछि
सुनौला श्रीपेचका काला इतिहासहरु
तयार पारिएको छ पढाउन अब
सुनका पाउजुहरुको इतिहासहरु
के हामी पढ्न तयार छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *