Skip to content


धोएर जल खानका लागि त
महाराजहरूकै खुट्टा प्रसस्तै थिए
मलाई किन चाहियो अब
नयाँ हजूरका नयाँ खुट्टाहरू
बिहानै चाकडीमा लाईन लाग्न त
ठुला ठुला दरबारहरू छदैथिए
मलाई किन चाहियो हरेक दिन हातमल्दै घुम्नकै लागि
नयाँ हजूरको भरखरै बनाएको राजधानीको अग्लो घर

मेरा मुखमा कोच्नका लागि त प्रयाप्तै थिए
पुराना मालिकहरूले तयार पारेका
थोत्रा कानुनका एकथुप्रो पुस्तकहरू
ए, नयाँ हजूर मलाई किन चाहियो
नानीहरूको आलो रगत कट्कटीएको
तिम्रो प्राइभेट अदालतको फैसलाको मिसिल

मैले तानेर थाकेको छु
महाराजका दूर्गन्धित बग्गीहरू
ओ, नयाँ हजूर मलाई किमार्थ रहर छैन
फेरि तिम्रो डोले बन्न
भजन गाउनका लागि त
पुराना महाराजहरूले प्रसस्तै
स्वतन्त्रता निगाहा बक्सिएकै थियो
गाउनकै लागि त मलाई किन चाहियो
नयाँ हजूरको नाममा
रिमिक्स गरिएका पुराना भजनहरू

निहत्था करङ् भाँच्नकै लागि त
पुराना हजूरहरूले संगठित गरेकै थिए
निर्मम कठबाँस र अमानवीय बर्दीहरू
ए, नयाँ हजूर मलाई थप किन चाहियो
शालीन इतिहासबाट आयातित
नयाँ हजूरका अभद्र भाटा र अन्धा बन्दुकहरू
बन्धक बनाउन त हाम्रा कुमारीसपनाहरू
पुराना मालिकहरूका बिदेशी खाताहरू प्रसस्तै थिए
ए नयाँ हजूर मलाई चाहिएन
जबरजस्ति लुटेका कलिला सपनाहरू
मलाई साच्चीकै मुक्ति चाहियो
सम्पूर्ण मुक्ति चाहियो
नयाँ हजूरको नयाँ नङ्ग्रा र पन्जाहरूबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *