बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू

भोकाहरूको पक्षमा टाँगिएका महँगा रङ्गनि तुलहरू
लेखिन्छन् पेट काटेर दर्जनौ भोकाहरूकै
शहरका तुलहरू
भोकका कुराहरू मात्र उठाउछन् माथिसम्म
भोक मेटाउनका लागि भोको मान्छेको
लेबि, कर वा रोयल्टी तिर्दैनन् तुलहरूले
यी सत्ताका तुलहरूको विरूद्ध
यी तुलका सत्ताहरूको विरूद्ध
किन बोल्न पनि पाईँदैन हाकाहाकी
गुनासो पनि छ वस्तीहरूको

द्रौपदीको पक्षमा लेखिएका अग्निवर्षी तुलहरू बनाउन
थाहा छैन कहिलेसम्म नाँगिरहनु पर्ने हो
थप कति पारिजातहरूले
लेखेर छात्तिमा नागरिक सर्वोच्चता
हरेक वस्तीका चोकहरूलाई
आफ्ना टाँगमुनि हाल्नुमा
गौरव गर्छन यी राता पहेँला तुलहरू
किन कसैले बोल्ने साहस गर्दैनन
यी तुलका कलाहीन नाटकको विरूद्धमा

क्यामेराका अगाडि पर्छन यी तुलका अक्षरहरू
छेकिन्छन् अक्षरभित्रका दृश्यहरू
झुण्डिएर प्रायोजित डोरीहरूमा
तुलका अक्षरहरूमाथि पर्छन
तल पर्छन अक्षरका भावनाहरू
तुलले जोड्छन् बाटोका दूई किनाराहरू
किन जोड्न सक्तैनन् फुटेका एउटै मन पनि

मैले सोध्न सक्तिन
शहरबाट तुलमा भिज्यो
अथवा तुलबाट शहरमा चुहियो
यो असंगतीको माधक झोल

मैले सोध्न सक्तिन
साँझ पार्न भट्टीमा पसेका घामहरूलाई
यी घामका तुलहरूबाट मात्र
सम्भव छैन
भोलिको विहान निर्माण गर्न ए राता तूलहरू !
फर्केनन् भने ती घामहरू
के जवाफ छ तिमीसंग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *