Skip to content

ज्यूँदा कविहरुको लाममा

  • by


आत्तिनु पर्दैन कविज्यू
त्यो आगोको लप्का तपाईको वस्तीमा लागेको
विनाशकारी डढेलो होइन
सदियौं देखि बाटोमा थुपारिएका
मैनकाँडाका झयाङ्गहरुमा
भरखर झोंसिएको अगुल्टो हो
संक्रमित रगत जलिरहँदा अस्पतालको इन्सिनेरेटरमा
अथवा झुप्राहरुका वस्तीमा उमंग-उर्त्र्सगमा उर्लिएका
आत्तिसवाजीहरु सँग केको डर मानिरहेको हजूर
आगो सधैं विध्वंशक हुँदैन कविज्यू
निर्माण पनि हुन्छ निषेधित फलामका वस्तीहरुमा
ए ! कविज्यू ! ढुक्क भएर आउनुहोस
हामीसँग लामबद्ध हुन !
●●●
तपाईकै आगाडि बाटैमा देखेर
छरपस्ट ढुङ्गा र भत्केका परखालहरु
डराउनु पर्दैन कविज्यू
त्यो तपाईको घर भत्केको खण्डहर होइन
कविहरुलाई थुन्ने गरेको जेल
भरखरै तोडिएको दृष्य हो
त्यो दरवार जस्तो जेल बनाउन
त्यो जेल जस्तो दरवार बनाउन
भत्काइसकिए पछि हाम्रो सानो झुप्रो
कस्तै ठूलो भुकम्पले पनि
क्षति पुर्‍याउन सक्दैन हामीलाई
खुल्ला सडकमा बस्ने बेधरहरुले
आत्तिनु पर्दैन कविज्यू
आउनुहोस ढुक्क भएर
हामीसँग लामबद्ध हुन
●●●
हामी मलामी हिडेको देखेर
अन्यथा सोच्नु पर्दैन कविज्यू
हामी अपमानित ढंगले
फाँसी हाल्दैनौ जुत्ताका तुनाहरुमा
तानाशाहको निश्प्राण शरीरलाई पनि
बदमास बादशाहका बदनाम चितालाई पनि
शालीन ढंगले आगो लगाउँछौं र फर्कन्छौं
ढाईसय वर्षको मलामीबाट
युद्ध जितेका शालिन सिपाईंहरु बनेर

युद्धसँग किन डराउने कविज्यू
कस्तै युद्धहरुमा पनि
कसैले हत्या गर्न सकेनन सपनाहरुको
कविज्यू ! आउनुहोस निर्धक्कसँग
हामीसँग लामवद्ध हुन ।
●●●
जस्तै परिणाम आएपनि
प्रयोगशालाको अनुसन्धानमा
हार वा जीत हुँदैन वैज्ञानिकको
नहिडेपछि निश्चित कही पुग्नका लागि
बाटो विराएको ठहरिन्न कविज्यू
त्यसैले छोडेर जीवनभर हिडेको बाटो
उभिदैमा हाम्रो लाममा
किन हिनताबोध गर्नुहुन्छ कविज्यू
हामी बन्दुक हौ अनन्त विस्फोटन बोकेका
हामी पड्किदा विथोलिन्न
आम झुप्रे बस्तीको अमन चयन
फलामे बन्दुकले जस्तो
हत्या गर्दैनौं कुनै श्रमजीविको
हामी निर्दयी पनि छैनौं
हामीलाई थुन्नु पर्दैन सेता कन्टेनरमा
त्यसैले,
सधैं सधैंका लागि नाघेर हिनताका
फुच्चे ढिस्काहरुलाई
निर्धक्क आउनुहोस कविज्यू
हामीसँग सगौरव लामबद्ध हुन !
●●●

Leave a Reply

Your email address will not be published. Required fields are marked *