भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
नेपाली कविता साहित्यका क्षेत्रमा भरतराज पन्तलाई एउटा अद्वितीय प्रतिभासम्पन्न व्यक्तित्वको रूपमा लिइन्छ । धैर्य, सहिष्णुता, आत्मबल, आत्मविश्वास र अठोट आदि विभिन्न किसिमका सद्गुणहरू उनीभित्र खचाखच भरिएका कारणले नै विभिन्न किसिमका कठिन परिस्थितिका बीच पनि उनले नेपाली साहित्यको क्षेत्रमा आफ्नो कीर्तिमान कायम गर्नसकेको देखिन्छ । आफ्नो जन्म भएको तीन वर्ष पनि पुग्दा नपुग्दै आफ्नी आमाको निधनको पीडा भोग्नु परेको यिनले १९९० साल माघ २ गते गएको महाभुकम्पको प्रकोप पनि सहनु परेको थियो । यस अवस्थामा करिब दुई वर्षसम्म भत्केको घरको छिँडीमा नै जसोतसो जीवन गुजारा चलाएपछि वि.स. १९९२ मा त्यो क्षतिग्रस्त घर छाडेर उनको परिवार काठमाडौंको कुश्लेचौरमा बस्न पुगेको थियो ।
