Skip to content

पद्य कविता

देश हाम्रो

मुठी बाँधौं खाई कसम अनि यो गर्विलो भाव बोकौं
कुरौटे यो बानी परपर गरौं स्वार्थको भाव त्यागौं
कुनाकाप्चा सारा सुमधुर हुँदै चम्कियोस् देश हाम्रो
सबै मान्छे हाँसून् प्रगतिपथमा लम्कियोस् देश हाम्रो ।।

मेघस्फुर्जिता छन्द

नमस्कार छ

लाखौं लाखन छन्दका स्वरहरु ठम्याउने हौ तिमी
भाषा भित्र अनेकका लयहरु उभ्याउने हौ तिमी
नौलो सिर्जन कार्यनिम्ति जहिल्यै त्यो ग्रन्थ आधार छ
त्यस्ता पिङ्गल पूज्यका चरणमा हाम्रोे नमस्कार छ ।।

श्रमिक दिवसमा श्रमिकहरुमा मझेरीबाट नमन

वर्षाको जल वैरँदा जमिनमा फोकाहरू उठ्तछन्
तत्कालै जलमा उठेर किन हो फोकाहरू फुट्दछन्
हाम्रो जीवनको स्वभाव त्यही हो दृष्टान्त नै हो त्यही
के के गर्छु भनेर मानिसहरू हुन्छन् बडा निर्दयी ।।

हिंड्दा पारि पुगिन्छ हिंड्न सजिलै अल्छी हटायौं भने
बाटो नै अवरुद्ध हुन्छ मनमा अल्छी बसायौं भने
अल्छे त्यो गतिशील हुन्छ र कहाँ सक्ला कहाँ उक्लन
के सक्थ्यो कछुवा अगाडि नबढे सीमान्तलाई छुन ।।

यो पृथ्वी नघुमेर सुस्थिर हुँदा सन्सार चल्ने भए
आगोमा समिधा विनै सहजले तत्काल बल्ने भए
मान्छेले गतिहीनका क्रमहरु भेटेर भोग्ने थियो
मान्छे माथि पुजेर देवगणले तत्काल ढोग्ने थियो ।।

जीवन नै किताब

पुस्तक दिवसकाे सन्दर्भमा मझेरीकाे प्रस्तुती

वाचा परस्पर गरेर पछाडि रुन्छन्
झारेर आँसु कति मानव शोक धुन्छन्
हज्जार छन् नव कथा कविता विलाप
हो जिन्दगी मनुजको असली किताब ।।

दुर्भेद्य दृश्य र अदृश्य छ जिन्दगानी
पीडा व्यथा र व्यवधान मिठा कहानी
हुन्छन् यसैसँग तिता र मिठा स्वभाव
हो जिन्दगी मनुजको असली किताब ।।
होम सुवेदी

शाेकमा साथ छौं हामी

अमेरिकास्थित कवयित्री दुर्गा रिजालले पुत्रशोक बेहोरिरहेको अवस्थामा मझेरीको तर्फबाट हार्दिक शान्त्वना तथा समवेदना छ ।

पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।

नव वर्षको शुभकामना

सधैँ फूल झैँ देश याे मुस्कुराओस्
नयाँ रङ्ग बाेकी नयाँवर्ष अाओस्
कुनै पीर चिन्ता कुनै शाेक सुर्ता
सदाकाल याे देश भित्रै नअाअाेस् ।।

नयाँ वर्षमा स्नेह झर्ना सुसाऊन्
सबैमा नयाँ हर्ष उल्लास अाऊन्
नयाँ शान्तिसद्भावका आश जागून
व्यथा पीर चिन्ता सबै दूर भागून् ।।

यहाँ फुल्न छाडेछ लालीगुराँस

हटेको छ इच्छा घटेको छ आश
कतै छैन सन्तोष यो आसपास
सबै धुर्तले गर्न थाले विनास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।
होम सुवेदी

देशगान

उड्दा हौ अझ माथि माथि नभको उच्चाइको बिन्दुमा
डुब्दा हौ अझ भित्र भित्र गहिरो त्यो आन्ध्रको सिन्धुमा
तिम्रो त्यो पुरुषार्थ हो तर यता बेग्लै छ मेरो छवि
पुग्दैनन् रवि त्यो अनन्त भवमा पुग्दैछ हाम्रो कवि ।।

इच्छा

इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी
रम्छन शब्दहरू मनैमन भरी एकान्त हाँस्ने गरी ।।

इच्छा छ मनमा फूलै फुले सरी हजुरको हाँसो सरी
आज यो घडीमा हसाउँन सकुँ गुराँस रमे झैं गरी ।।

माटाेकाे महिमा

म यो धर्तीलाई मन वचनले पूजन गरूँ
र धर्ती मातामै जीवन सब यो अर्पण गरूँ
यसै धर्तीभित्रै श्रम र पसिना नित्य म छरूँ
म माटोमा बाचूँ अनि यही धराभित्र म मरूँ ।
होम सुवेदी

लेखक दिवस

स्रष्टाका यस क्षेत्रभित्र अरु झैं कर्तव्यका रास छन्
यिन्का सिर्जनशील हातभरि नै देवत्वका वास छन्
जैले सिर्जन गर्दछन् सृजनमा वाणी भई पस्तछिन्
बोलीभित्र लुकी लुकी सरस्वती आधार भै बस्तछिन् ।।

भाषामा मृदुरत्न उम्रन सकून् यो भाव छर्र्दैछु म
वाणी सागर हो तथापि त्यसमा छामेर तर्दैछु म
त्यो सारै गहिरो र दुस्तर बुझी आफैं बने आहत
वाणीभित्र बसेर साधन विना बन्दैछु हास्यास्पद ।।
होम सुवेदी

अामा

भोकै बस्न स्वयं तयार रहने खाना बनाएपछि
मात्रै खान तयार हुन्छ अरु को अर्काे अघाएपछि
पानीकै भरमा निरन्तर यहाँ को बस्छ सन्सारमा
भन्नोस् सज्जन हो अडिन्छ कसको सन्सार आधारमा ?

सोच्नोस् को हुन सक्छ यो भुवनामा आमा सरीको अरु
धर्तीमा सब मिल्न सक्छ तर के पाइन्छ आमाहरु
पैल्यै ध्वस्त हुने थियो यी नभए बाबा र आमाहरु
धेरै वर्णन गर्न सक्दिनँ यहाँ ऐले म खै के गरुँ ?

मुक्तिनाथम्

हेरी अघाइन्न भने भने झैं हुँदै थियो आफू कतै भुलेझैं
सौन्दर्यले मोहित नै गरायो बेनी पुगेको तब याद आयो ।।

लागें उकालो जब खाँचबाट आयो कताबाट मभित्र आँट
देखी हिमाच्छादित ठाँटबाँट, स्वर्गै पुगेको तब हुन्छ छाँट ।

आमा – १

अनेकौं सर्पले बेर्छन् अनेकौं व्याधीले घेर्छन्
यहाँ शान्ति विनै मान्छे अकालैमा परी मर्छन्
तिमी छाडी गयौ टाडा डराएको छु हे आमा
छ त्यो भारा कहाँ तिर्नु हराएको छु हे आमा ।।

सधैं पीडा सधैं टन्टा सहन्थ्यौ मेरी हे आमा
पीडाका तीब्र खोलामा बहन्थ्यौ मेरी हे आमा
कता पोखूँ कता छोपूँ अझै धेरै दुखेसा छन्
हजारौं दर्दको पीडा सहन्थ्यौ मेरी हे आमा ।।

राम्रो कर्म

जीवन सफल बनाउन रोज्नू बाटो राम्रो ।
सा“चो मात्र बोल्नू सधै“ त्यही धर्म हाम्रो ।।

आफूमा गर्व गरौ“ बनी सच्चा मान्छे ।
अधर्मको बाटो लागे विनाश हुन्छ मान्छे ।।

लोभ, क्रोध सबै त्यागी आफ्नो कर्म गरौ“ ।
परिश्रमको पाइला चाली सफलता चुमौ“ ।।

थिचोमिचो अन्यायलाई हुनुहुन्न माफी ।
हकअधिकारका लागि लड्नुपर्छ काफी ।।

कुनै काम सानो हुन्न सेवाधर्म गरौ“ ।
धोकादारी, पाप त्यागी राम्रो कर्म गरौ“ ।।

सरस्वती बन्दना

शार्दूलविक्रीडितः
मैले जीवनमा अनेक सपना देखेर के हुन्छ र
तिम्रो दृष्टि विना असङ्ख्य कविता लेखेर के हुन्छ र
वीणा पुस्तक धारिणी हजुरकै त्यो एक आधार छ
तिम्रा शुभ्र पवित्र ती चरणमा मेरो नमस्कार छ ।।

मन्दाक्रान्ताः
माता तिम्रो स्मरण नगरी फेरि के लेख्न सक्थें
तिम्रो छाया नजिक नभए पाउ के टेक्न सक्थें
आऊ आऊ हृदयबिचमा बास गर्दै रमाऊ
नौला नौला सृजन म गरुँ हात मेरा समाऊ ।।

शिखरिणीः
म भाषामा नौला सृजन अझ गर्थें कि कसिला
कृपा पाए माता सृजन हुन सक्थे कि रसिला
न छन् शैली मेरा चमक र कलायुक्त सुकिला
कृपा पाए माता सृजन हुन सक्थे गहकिला ।।
होम सुवेदी

आऊ सूर्य अब

कुनै बेला आगो रवि किन उगेल्थ्यौ पलपल
यहाँ मान्छे बन्थे अतुल पसिनाले खलखल
यता मानौं तिम्रा किरण पनि छन् शित लहर
कुनै बेला यस्तो किन नियम गर्छौ ढलपल ।।

कता भाग्यो न्यानो प्रतिपल हरायौ अब किन
यता हुस्सू देखी थरहर डरायौ अब किन
कुनै बेला आगो सरह तिमी लाग्थ्यौ छिन छिन
कडा हुस्सू देखी मलिन हुन लाग्यौ अब किन ।।

कता लाग्यौ अहिले भूवन सब गर्थ्यौ त दहन
कि भाग्यौ हुस्सूको कहर नसकी ठण्डी सहन
यसै बेला चाँडै अजब रुपमा आउनु प-यो
डसेको देखेनौ सितलहरले झन् अति ग-यो ।।